|
|
|
|
भो, भो कविता अब लेखिँदैन --एकु घिमिरे
देखेर रोई जननी बसेकी फुल्याउँथेँ यै कविता म लेखी ऐले कतै शान्ति र चैन छैन भो, भो कविता अब लेखिँदैन !
नेता र हाकिम सबको फटाइँ लेखेर सारा उनको बिझाइँ पोख्ता पनि क्वै किन सप्रिएन भो, भो कविता अब लेखिँदैन !
लड्दा मरे दाजु र भाइ कत्ति बढ्दै छ दिनदिन किन हो विपत्ति आफैँ फुटे, घर अझ सप्रिएन भो, भो कविता अब लेखिँदैन !
बैराहरूको घरमा गएर पढ्दा कविता अब अर्थ के छ ? सुन्नेहरूको मन ठीक छैन भो, भो कविता अब लेखिँदैन !
कोही रुँदै छन् टुहुरा बनेर कोही रुँदै छन् विधवा बनेर त्यो आँसुमा झन् पीर थप्नु छैन भो, भो कविता अब लेखिँदैन !
यो काव्यले खै कति के लछार्ला ? थाम्दैन यसले न त क्यै पछार्ला लेखे पनि युद्ध त थामिँदैन भो, भो कविता अब लेखिँदैन !
स्वार्थी दुनियाँ अतिचार स्वार्थी बाबु र स्वास्नी, दिदी, भाइ स्वार्थी आफ्नो कति स्वार्थ छ देखिँदैन भो, भो कविता अब लेखिँदैन !
*****
|