|
|
|
|
फूलमतीको रातो सारी -- गोविन्द गिरी ‘प्रेरणा’ फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे। तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई। एउटा पत्रकारले सोध्यो- ‘विधवा भएर पनि सधवाको जस्तो पहिरनमा रहने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?’ फूलमतीले भनी- ‘यो मेरा स्वर्गवासी श्रीमान्कै प्रेरणा र इच्छा हो। मर्नुअघि उहाँले भन्नुभएको थियो- मर्नु त जीवनको एउटा अनिवार्यता हो। म मरेपछि तिमी नरुनू, चुरा नफुटाल्नू, विधवाको पहिरन नलगाउनू। तिमी सधवाझैँ सुन्दरी भएर बस्यौ भने मरो आत्मा खुसी हुनेछ।’ अर्को पत्रकारले सोध्यो- ‘यत्रो क्रान्तिकारी निर्णय कार्यान्वयन गर्न तपाईँलाई समाजको डर लागेन ?’ फूलमतीले हाँस्दै भनी- ‘समाज ? कुन समाज ? एउटी नारीलाई असहाय देख्ता खुसी हुने समाज पनि समाज हो ? म यो समाज परिवर्तन गर्न चाहन्छु। यस समाजको मानिसका मानसिकतामा परिवर्तन गर्न चाहन्छु। त्यसैले यति ठूलो निर्णयमा पुगेकी हुँ......।’ त्यति नै बेला टेलिफोनको घण्टी बज्यो। फूलमतीले टेलिफोन उठाई र धाराप्रवाह बोल्न थाली- ‘मलाई समवेदना होइन समर्थनको खाँचो छ। म यो समाजमा क्रान्ति गर्न चाहन्छु...............।’ फेरि अर्को फोन आयो। फूलमतीले त्यसै भनी। फेरि अर्को फोन आयो। फेरि फूलमती जोसका साथ जबाफ दिन जुटी। पत्रकारहरू क्रमशः आ-आफ्नो बाटो तताउन थाले। अचानक त्यति नै बेला एउटा पुरुष त्यस कोठामा प्रवेश गर्यो। उसले भन्यो- ‘फूलमती ! मलाई विश्वास थियो तिमी मप्रति अझै उत्तिकै लगाव राख्छ्यौ। तिमीलाई सधवा देख्दा मेरो दिलको त्यो विश्वास यथार्थमा बदलिएको महसुस गरेको छु। तिम्रो भावना अटल रहेकामा म विगतका सारा तीता घटनाहरू भुल्न तयार छु।’ यसो भन्ने व्यक्ति अरू कोही नभएर फूलमतीले वर्षौँ अघि छाडेर आएको गाउँको ब्याइते पहिलो लोग्ने थियो। *****
|