|
|
|
|
यात्राका पाइला --खडकराज गिरी
हिँड्दाहिँड्दै थाक्छन्, ठिङ्ग उभिएरै सुस्ताउँछन् र फेरि बिस्तारो हिँड्न थाल्छन् - दुई बूढी आइमाई, लोग्ने बितिसकेका - परिवारको सम्पूर्णतामा पनि एक्ला, सर्वथा एक्ला, घरपरिवार र समाजका लागि कामनलाग्ने भइसकेका। हिँडाइको क्रममा उनीहरूको यात्राका पाइला थाक्छन् बेस्सरी र गाउँको मूलबाटोछेउ पीपलको फेदतल आइपुगेर थचक्क बस्दछन्। केहीछिन सुस्ताएपछि उनीहरूको आफ्नै गन्थन थालिन्छः -- अब कति दिन पो हो ? -- तीर्थ गरे स्वर्ग गइन्छ भन्छन्। छोरा-बुहारी आफूमै व्यस्त छन् 'जा' पनि भन्दैनन्, खर्चको कुरा आइदिन्छ। -- यो मर्ने बेलामा व्यर्थैको खर्च किन बेसाउनु। बरू दुई-चारजना अरू हामीजस्तै बूढा-बूढी भए त 'स्वर्ग' यहीँ भेटिन्थ्यो। कुरा मिल्थ्यो, समय कट्थ्यो............. -- ..................... उनीहरूले बात मारिहेकै बेला त्यहीँ छेउबाट 'रामनाम सत्य हो.........।', 'रामनाम सत्य हो...........।' भन्दै आठ-दस मलामीले एउटा लास बोकेर मसानघाटतिर लान्छन्। छेउमा आइपुग्दा मलामीले बोलेको ती दुई बूढीले टक्क सुनेका हुन्छन्- --ऊ.............ती बूढीकै उमेरकी थिइन्, हालै सत्तरी नाघेकी। -- बिरामी पनि थिइन् कि ? -- केको हुँदो हो, चुल्हो-पोतेरो गर्दै थिइन्, धेरै आधार थियो, अब त्यही पनि मेटियो। -- च...च...च....च........ त्यस मलामीको मन उर्लेजस्तो लाग्थ्यो। दुई बूढीले हात जोडेर लासलाई टाढैबाट ढोगे-- -- सन्तेकी आमा बरा ! पल्लो पाखाकी..............मन खैँचिएको थियो, जेठो बितेपछिबाट.......... -- गएमहिनामै त हो सँगै बसेर कीर्तन गाएका......गजाधरकोमा। -- के भर भो' र जिन्दगीको !(खुई काढ्छिन्) -- .................................. मलामी टाढा पुगिसकेका थिए। उतैबाट उनीहरूको ठट्टा-हाँसोको स्वर पनि आइरहेको थियो। अघि-अघि त यस्तो बेला सबै मर्माहत हुन्थे। आज त्यो समवेदना छैन। मानौँ मृत्यु अवश्यम्भावी हो र दुःखप्रकट मात्र औपचारिकता। -- किन हो कुन्त आज आँखो फर्फराइरहेछ। सुनेर अर्कीचाहिँको आङ जिरिङ्ग हुन्छ। जीउभरि मसिना काँडा उम्रिन्छन्। दुवै एकअर्कालाई मुखामुख हुँदै हेर्छन्। जीवनको यस मोडमा कति लाचारी छ, भयग्रस्तता छ ! -- मासु खान मन थियो। धेरै दिन भयो नखाएका। अघिअघि त भित्रभित्र गाउँमा पसेर उनले खसी ल्याउँथे। भुटुवा खानेको ताँती लाग्दथ्यो।( केही रोकिएर, घोरिँदै)..........धेरै दिन भयो भुटुवा खान नपाएको। -- हिजोआज त हाम्रा पनि चालीस नाघेकाले मासु नखाने भन्न थालेका छन्, केके नामका बिरामी जन्मन्छन् रे। -- होला, बिरामी पनि केके हुन्, केके ............. यो खान भएन त्यो खान भएन। -- अघि हाम्राजस्तो मिहिनेत पनि नगर्ने भएकाले.........एय्या...........! मलाई पनि हालसालै कम्मर दुख्ने बेथाले छोएको छ। -- .................. साँझ पर्न थालेको थियो। टाढाको गाउँतिरबाट निस्केको मधुरो उज्यालो जुनकीरीझैँ बल्दै-बुत्दै गरिरहेजस्तो देखिन्थ्यो। कहीँ कसैका घरबाट आरतीको स्वर आइरहेको थियोः- 'ॐ जय जगदीश हरे....!' -- मालती ! -- है ! -- समय कसरी सिद्धिन्छ हुन्त.........हिजो-अस्तीजस्तो लाग्दछ ठट्यौली गर्दै हिँडेको............। -- ती त सुखका दिन थिए, स्वाट्टै अल्पिए। समय नकाटिने त बुढेसकाल र दुःखमा पो है..........(केही सोच्दै) रूपी ! म मरेँ भने त एक्लै हुन्छेस्। कसरी काट्लिस् दिन टुकुर-टुकुर बसेर.......गाउँमा त खै मिल्दा कोही छैनन् अरू..........! रूपीले मालतीतिर हेर्दै, मालतीको अनुहार चाउरिएको, फुस्रो परेको छ। -- मालती ! के ठेगान म पो अघि हिँडिदिने हुँ कि ..............? दुवै चुप्प हुन्छन्। मानौँ बतास थामिएको छ र चलाचल सबै स्तब्ध छ।
उभिन्छन् दुवै एकैचोटि..........र बिहान आएको बाटोतिर लाग्छन्। यतिबेला उनको यात्राका पाइलामा बिहानको जस्तो जाँगर छैन। बाध्यता छ, फर्कनैपर्ने .....डेरा पुग्नैपर्ने र त्यहाँ पुगेर फेरि उही लाटो र कहिल्यै नसिद्धिने समयको घेरामा बाँधिनु छ ! *** डिगबोई, असम।
|