|
|
|
|
असमिया कथा पराजय मूलः माइली महन्त अनुवादः रश्मिरेखा शर्मा सुनतारा वृद्धावासको आठ नम्बर कोठामा आज उनको पहिलो बिहान थियो । ओछ्यानमा पल्टिएरै कोठाका चारैतिरका चीजहरूमा आँखा डुलाउँछिन् उनी । ढोकाको ठीक विपरीतपट्टि एउटा झ्याल छ- त्यो झ्यालमा साना बुट्टा भएको पर्दा टाँगेको छ । झ्यालकै छेउमा लाइफ साइजको एउटा ड्रेसिङ ऐना र एउटा टी.भी. । छेउका रुमलाई छुट्याउने झ्यालविहीन वालको सेल्फमा ट्राङ्क, सूटकेस आदि सामग्रीहरू देखिन्छन् । ती सामग्रीहरू सिजिल गरिदिने केटीको नाम वन्दिता हो । मायालु केटीझैँ लाग्दथ्यो उसलाई देख्दा । उनलाई कोठाभित्र पसाइदिएर बुमन निस्केर गएपछि जब उ घोप्टो परेर सुतिन्, त्यतिबेला उनका पिठ्यौँमा हात राखेर वन्दिताले भनेकी थिई - "दुःख नमान्नू आमै, हामी छौँ नि ।" रातभरि उनलाई निन्द्रा लागेको थिएन । बिहानीपखतिर ऊ झपक्क निदाउन लाग्दा एउटा सपना देखेकी थिइन्- डुप्लेक्स टाइपको राम्ररी सजाएको आफ्नै घरका सिकुवामा ओछ्याएका चौकीमा उ र अरिन्दम बसेका रहेछन् । अघिल्तिरको हरियो चउरमा बुमन खेल्दै थियो । निवासको चौकुनाभित्रै रहेको दुईकोठे किरायाको घरमा बस्ने खगेश्वर चौकिदारका छोरा अजय र विजय पनि बुमनसँग खेल्दै थिए । मैला लुगा लगाएका च्याँसे केटाहरूभन्दा बुमन साह्रै धेर राम्रो देखिएको थियो । बुमन सानैदेखि राम्रो र स्वास्थ्यवान् छ । उसको उपयुक्त प्रतिपालनको लागि नै कलेजको नोकरी पनि छोडिदिइन् उनले, अरिन्दम पनि त्यस्तै चाहन्थे । राजनीतिविज्ञानकी प्रवक्ता अनुरूपा बरुवालाई उनले बिर्सिदिएकी थिइन् । अब उनी अनुरूपा बरुवा रहिनन्- उनी भइन् मिसेस अरिन्दम दुबरा, उनी भइन् बुमनकी आमा । अहिले अरिन्दममाथि उनलाई रिस उठेर आउँछ । किन उनले छोडेर गए यो भवसमुद्रमा अनुरूपालाई एक्लो पारेर - निर्भरशीलताको च्यादरभित्र गुन्ठुनिएकी अनुरूपा नामकी महिला कहिल्यै एक्लै उभिन सक्तिनन् भन्ने कुरा बुझ्नुपर्ने थिएन र ? आफ्नै छातीबाट निस्केको विषादको सुस्केरा उनको कानमा पर्यो । छिरोलिएको कपाल हातले समेल्दै उनी सिकुवामा निस्किन् । यस्तो एउटा दिनले उनको घाँटी च्याप्छ भनी कहिल्यै सोचेकी थिइनन् उनले । कल्पना नगरेका कतिपय वास्तव घटनाको समष्टि नै होला यो जीवन । अन्ततः यो बेलामा उनी यस्तै सोच्दछिन् । 'गुड मर्निङ आमै ।' सिकुवामा भएका कुर्सी दुईटाको एउटा तानेर बस्ताबस्तै वन्दिताले एक कप रातो चिया ल्याएर राखिदिई । 'राति निन्द्रा लागो कि कसो आमै ?' वन्दितातिर हेरेर यसो हाँसेजसो गरिन् उनले । त्यस केटीले उनको मन पढिसकेजस्तो लाग्यो उनलाई, छेवैको कुर्सी तानेर वन्दिता पनि बसी । प्रत्येक कोठाअघि दुई-दुईटा कुर्सी छन् । बिल्डिङमा दसओटा कोठा छन् । बिल्डिङका विपरीतपट्टि अरू पाँचोटा कटेज छन् । कटेजहरूमा एकजना गरी सहायकारी राख्ने र आफैँले पकाइ-बनाइ गरेर खान सक्ने व्यवस्था पनि छ । खर्च अलिक बढी चाहिन्छ त्यहाँ । 'कटेजमा एक्लै खानभन्दा डाइनिङ हलमा सबैसँग बसेर खाए धेर राम्रो लाग्छ' - भनेर बुमनले भनेको थियो । यी कुरा सोच्ने मानसिक प्रस्तुति अहिले उनको छैन । बिल्डिङ र कटेजका बीचमा एउटा ठूलो हरियो आँगन र फूलको बगैँचा छ । उनले देखिन् - एकजना बूढा मानिस फूलका फेद खोस्रिदै छन् । 'यो बिल्डिङमा थ्री स्टोरीको प्रभिजन छ । अहिले यति प्रयोजन पनि भएको छैन । दुइटा रुम यहाँ रित्तै छन्, कटेज पनि एउटा रित्तै छ ।' वन्दिता भन्दै जान्छे । त्यो छेउको कटेज देख्नुभयो नि ! त्यहाँ मालिक बस्छन् । उनकी आमा र स्वास्नी पनि सँगै छन् । तीनैजना आइरहन्छन् । बोर्डरहरूको खबर लिन । आज बेलुकी तपाईँलाई भेट गर्न आउन सक्छन् । राम्रो लाग्दछ तपाईँलाई, साह्रै राम्रा मान्छे हुन् उनी । हाम्रा फेमिली मेम्बरजस्तै । एक मिनेट आमै ...। वन्दिता गएपछि धेरै बेरसम्म उनी त्यै कुर्सीमा बसिरहिन् । बितेका दिनहरूका मधुर स्मृतिहरू एकएक गरी उनका मनमा आउँछन् । बिहेपछि गाउँका घरमा आमा-बाबुलाई छोडेर आएर अरिन्दमका घरमा पाइलो चाल्दा उनलाई एउटा अन्जान शङ्काले घेरेको थियो- यो नयाँ घरलाई कसरी सम्हाल्नु - असहाय भएर अरिन्दमका छातीमा टाँसिएर रुन थालेकी थिइन् उनी । कपाल सुम्सुम्याइदिएर साहस दिएका थिए अरिन्दमले । आज जिन्दगीको नयाँ मोडमा आएर अर्कै घरमा पाइलो हाल्नुपर्दा उनलाई रुन आएको थियो । 'हजुर भर्खरै आउनुभएको ?' मर्निङ-वाक गरेर फर्किएकी छेउ काठाकी आइमाई आएर नजिकै राखिएको कुर्सीमा बसिन् । 'हिजै थाहा पाएकी थिएँ हजुर यहाँ आएको कुरा । छोरो अमेरिकामा बस्छ अरे - वहीँकै केटी बिहे गर्यो अरे !' उनी टाउको हल्लाउँछिन् । 'हाम्रा त यहीँ बस्छन् । तर बसेर के गर्नु र ? घरमा बुहारीसँग लुछा-फहरी गरिरहनुभन्दा मैले आफैँले भनेँ- 'मलाई पुर्याएरै आइज ।' त्यस आइमाईले हाँस्तै कुराहरू भन्दै गई । स्वाभाविक होइन जस्ता लाग्ने कुराहरू । 'घर कहाँ हो तपाईँको ?' 'घर ..................?' आफैँआफ उसका मुखबाट यो शब्द निस्केर आयो । घर कहाँ भन्नु उसले ? आँगनमा भएका प्रत्येक ओटा धुलाका कण आफ्नू भनेर ठूली भएकी, बाँसको तगारोसम्म लामो आँगन भएको घर थियो उनका बाबुको घर । जु-रोडमा माटो डेढ कठ्ठाको खबर पाएर हेर्न गएका दिनदेखि आर्किटेकको कागज ओछ्यानमा फिँजाई सपना देख्तादेख्तै एक दिन साँच्चै नै पस्न पाएको त्यो कल्पनाको डुप्लेक्स टाइपको घर थियो अरिन्दमको । अरिन्दमको मृत्युपछि उनको आफ्नै नाउँमा त्यो घर ट्रान्स्फर हुने कुरा थियो । तर उनी आफैँले अरिन्दमको साथी एडभोकेट जाकिर हुसैनलाई भनेर बुमनको नाउँमा गराइदिइन् । बुमनबाहेक उनको छ पो को र ? 'तपाईँ बस्नुहोस् । म न्वाइध्वाइ गरी पूजा गर्नुपर्यो। - ती बोलैया आइमाईले उनीबाट विशेष मनोयोग नपाएर उठेर हिँडिन् । टाढाबाट अरू दुईचारोटीले पनि उनीतिर हेरेर केही बात मारेजस्तो लाग्यो उनलाई । बसेका ठाउँबाट उठेर उनी भित्र पसिन् । कोठाभित्र पसेपछि भक्कानो फुटेर आयो उनलाई । यो कोठामा अब उनले सारा जिन्दगी बिताउनुपर्नेछ । नुहाउनुपर्यो भनेर कपडाको बाकस ओछ्यानमा ल्याइन्। ओछ्यानमा बसेर बाकसबाट एउटा -एउटा गरी कपडाहरू निकालिन् । आउने अघिल्ला दिन बुहारी लिजाले कपडाहरू हालिदिएकी थिई । अमेरिकामा बुमनका घरमा बस्ता ती सलवार-कमेज लगाएकी थिइन् उनले । अब चाहिँदैनन् । कत्ति हो कति आशा गरेर गुवाहाटीमा भएको घरमा ताला लगाएर छोरा-बुहारीसँग सधैँभरि बस्दछु भनेर छोराका घर गएकी थिइन् उनी । बुमनलाई खेलाएझैँ नातिलाई पनि खेलाउँछु भनेर सोचेकी थिइन् । अरिन्दम नभएको दुःख र घर छोडेको दुःख बिर्सनेछु भनेर सोचेकी थिइन् । तर उनले सोच्नै सकेकी थिइनन्- लीजा उनलाई लिएर बिरक्त हुनेछे एक दिन । उनी बस्ता छोरा-बुहारीका 'प्राइभेसी'मा बाधा पर्नेछ । यो कुरो अनुभव गर्न सक्ता निकै ढिलो भैसकेको थियो । उनलाई नभनी बुमनले गुवाहाटीको घर-माटो बेचिसकेको थियो । जिन्दगीको समस्त आकाङ्क्षा लिएर र असीम कष्ट झेलेर अरिन्दमले बनाएको जु-रोडको त्यो डुप्लेक्स टाइपको घर उनले नजानीकनै अर्काका हातमा गयो । 'आमै, म भित्र आउन सक्छु ?' पर्दा ठेलेर वन्दिता भित्र पसी । "तपाईँ आमिष खानुहुन्छ ? मैले सोध्न बिर्सिइछु ।" कोठाबाट निस्केर जानुअघि ओछ्यानमा छरपस्ट भैरहेका लुगाहरू वन्दिताले मिलाएर गई । उनी नुहाउने घरमा पसिन् । नुहाउने घर निकै नै सानो रहेछ । एउटी मान्छेका लागि ठिक्क हुन्छ तैपनि उनी त्यति सानो नुहाउने घरमा अभ्यस्त छैनन् । खल्लो लाग्यो उनलाई । नुहाउने घर सफा गरेनन् भनेर अरिन्दम र बुमनलाई उनी कम्ती गाली गर्दिनथिन् र ? बुमन र अरिन्दमका राज्यमा उनी रानी थिइन् । उनको कुरामा सबैथोक चल्दथ्यो । पानीका ट्याप मुनि प्लास्टिकको बाल्टिन थापेर उनले ट्याप खोलिदिइन् । मझेरीमा बसेर घ्वाँकघ्वाँक गरेर रुन लागिन् अनुरूपा भन्ने सानी केटीझैँ। रुँदैरुँदै नुहाइधुवाइ गरेर बाथरुमबाट निस्केर आइन् । डाइनिङ हलमा जान नखोज्दा वन्दिताले उनकै रुममा भातको थाल ल्याइदिई । कोठाका कुनामा भएको सानो टेबुलमा भएको चीनामाटाको प्लेटतिर निकैबेर हेरिरहिन् उनले । हिजोदेखि केही नखाएको कुरो याद आयो उनलाई । एयरपोर्टबाट बाहिर-बाहिरै यहाँ ल्याइदियो बुमनले । अर्थोक गरोस् पो के र ? अमेरिकामा बुमनका घरमा बसेर अश्वस्ति लागेर गुवाहाटी फर्किन्छु भनेर बुमनलाई च्यापच्यापती पार्न थालेपछि गुवाहाटीको घरमाटो बेचेको कुरो गरो बुमनले । छाँगाबाट खसेझैँ भएकी थिइन् उनी । छक्क परिन् । आफ्नो कलेजाको टुक्रा बुमनले अरिन्दम-अनुरूपाको सपनाको घर, कत्ति स्मृतिहरूको स्थल गुवाहाटीको घर बेचिदिन सक्यो त ? बुमनलाई लिएर कत्ति अहङ्कारी हुन सिकेकी थिइन् उनी । बुमन पहिलापल्ट अमेरिका जाँदा क्याम्पसमा भाडा गरेर बस्ने खगेश्वरकी स्वास्नी लावण्यले भनेकी थिई- 'यस्तो छोरो पाउन त पुण्य गरेको हुनुपर्छ ।'- लावण्यको ठूलो छोरो अजयले बल्लबल्ल कलेज पास गरेर सानो ठेक्का गर्न थालेको थियो । 'तिम्रो पनि राम्रो हुन्छ होला नि त ।'- उनका कुरामा गौरवको साथ सहानुभूति थियो । सफल मातृत्वले प्रदान गरेको गौरव । कोठामा भएको एकमात्र झ्यालको पर्दा उठाएर गएकी थिई वन्दिता । एउटा रुप्पी आएर झ्यालमा बस्यो । उसका पिठ्यौँमा दिउँसोको घाम । रुप्पीका पखेटाका शब्दमा अतीतबाट फर्किन् उनी । सेलाएर चिसो भइसकेको भाततिर हात लगिन् बिस्तारो-बिस्तारो । भातको गाँससित आँखाबाट झरेका आँसुका थोप्ला पनि मुखभित्र पसे । अब सधैँ यसैगरी खानुपर्दछ । बाँचुन्जेल । अरिन्दमलाई- बुमनलाई पर्खेर बस्नुपर्दैन । कोही आउँदैनन् उनलाई साथ दिन । 'खाना खानुभयो ?' अधबैँसे आइमाई मीना आएर थालबटुका बटुल्न थाली । 'भर्खर आएकाले तपाईँलाई नराम्रो लागेको । अब बस्दै जाँदा चिन्हारी हुँदैजाँदा रमाइलो लाग्दछ यहाँ । फुर्ती गरिरहने दिदी दुई-चारोटी छन् - राम्रो लाग्नेछ आमै तपाईँलाई ।' 'नाम क्या हो तिम्रो ?' 'मीना।' भाँडाहरू लिएर मीना निस्केर गई । सारा कुना सुन्ने हुन्छ । बूढाखाडा भएर थकित भइसकेका सबैजसो मानिस नै एकछिन ढल्किन्छन् होला दिउँसो । कोठाबाट निस्केर सिकुवामा बसेर यताउति आँखा डुलाउँछिन् उनी । गेटपर्तिर युनिफर्म लगाएको चौकीदार एउटादेखि बाहेक कोही छैनन् । गेट पनि निकै टाढा छ । उनलाई नियालेर हेर्ने कोही नहुँदा उनी ढुक्क पर्दछिन् । कसैले उनीतिर हेरे भने उनलाई सहानुभूतिका नजरले हेरेजस्तो लाग्दछ । बिचरा अनुरूपा ! कति अहङ्कार गरेकी थिइन् छोरालाई लिएर ! छोराको उन्नति सम्झेर । उनी आफू पनि अस्वीकार गर्न सक्तिनन् त्यो कुरा । बुमनले चालेका प्रत्येक पाइलामा, बुमनका प्रत्येक कुरामा र बुमनको प्रत्येक सफलतामा । उसका लागि उनले धेरै कष्ट पनि गरेकी थिइन् । प्रत्येक परीक्षाका लागि पढ्दा बुमनसँग उनी पनि बस्दथिन् । रातभरि निन्द्रा त्याग गर्दथिन् । यसरी बुमनसँगसँगै लागेकाले अरिन्दमले उनलाई फलाक्थे । बुमनका लागि अरिन्दमलाई समय दिन नपाउँदा अभिमान गर्दथे अनुरूपासँग । बाबु र छोरालाई लिएर सानो संसारमा अल्झिँदा-अल्झिँदा अनुरूपा कसरी बूढी भइन् आफैँ जान्दिनन् । आफ्ना लागि अलग्गै समय निकाल्न पाउँदिनथिन् त्यतिबेर । बिहान सुरु हुन्थ्यो बुमन र अरिन्दमका मायामिश्रित कुराहरूमा । आमा आज टिफिनमा बार्गार हालिदिनू है । - अनु आज ब्रेकफास्टमा आलु-पराठा प्लिज ! दुवैजना निस्केर जानुअघि धमाधमको त्यो समय ! हतारहतार अरिन्दमका गोजीमा रुमाल, बुमनका जुत्ताका फित्ता अनि यस्ता दिनहरूमा दिउँसो ढल्किएर पत्रिकाका पाता पल्टाउँदा पनि उनीहरू आइपुग्ने चिन्ताले सताएको हुन्थ्यो । आफ्नो कुरा सोच्ने बेलै थिएन । दिउँसोको निर्जनतालाई खलबलाएर एउटा झ्याउँकीरी करायो । थुप्रो दिनपछि झ्याउँकीरीको आवाज उनले सुनिन् । "भान्सा भयो ?" बिहान साक्षात् भएकी ती बोलैया आइमाई । आफ्ना कोठातिर लाग्न आँटेर फेरि अनुरूपापट्टि फर्किइन्- 'बेलुका आउनुहोस् न, लुडो खेल्नुपर्दछ ।' उनका आँखातिर हेरेर आन्तरिकताले हाँस्ने चेष्टा गरिन् अनुरूपाले । 'आउनेबित्तिकै नराम्रो लाग्दछ । तर बिस्तारो-बिस्तारो राम्रो लाग्न थाल्छ ।' 'ठिकै भन्नुभयो ।' 'यो होममा राम्ररी हेरचाह गर्दछन् । विशेष गरी मालिक बहुत मजाका । केटा मान्छे । बिहे पनि भर्खरै भएको छ ।' ती आइमाई भित्र पसेपछि उनी फेरि बितेर गएका अतीतका कुराहरू सम्झिन्छिन् । अतीतका स्मृतिले उनलाई दुर्बल पारिदिन्छ । अघिल्तिरको हरियो आँगनले अतीतका दिनहरूको स्मरण गराइदिन्छ । बरन्डाको बेतका चौकीमा उनी र अरिन्दम बसेका हुन्छन् । आँगनमा यताउति कुदेको हुन्थ्यो बुमन । बुमनसँग खेल्न आउँथे खगेश्वरका छोरा दुइटा- अजय र विजय । उनीहरू छेउकै प्राथमिक विद्यालयमा पढ्थे । बुमनले पढ्ने कनभेन्ट स्कुलमा पढाउन सक्ने सामर्थ्य खगेश्वरको थिएन । खगेश्वरका कमनीले छोरा दुइटा, उसकी आइमाई लावण्य, गाउँबाट ल्याएर आफूसँग राखेकी आमा र बिमारी भाइ चल्दथे । घरको कामले भ्याइ-नभ्याइ पर्दा हजुरआमैले अजय र विजयलाई स्कुल लाने-ल्याउने गर्थिन् । बुमनले अजय र विजयसँग मेलजोल गरेको देख्ता उनी कहिलेकाहीँ चिन्तामा पर्थिन् । कुनै नसिक्नुपर्ने कुरा बुमनले सिक्यो भने ? बुमन जत्तिका बुद्धिमान् र सप्रतिभ थिएनन् ती दुइटा केटा । बुमनका रङ्गीचङ्गी र दामी खेलौनाहरू देख्ता उनीहरू साह्रै खुसी हुन्थे र खेल्दथे । बिहु, दसैँ-तिहार आदिमा कहिलेकाहीँ अजय र विजयलाई पनि यस्तो-उस्तो किनिदिन्थिन् । घुलमिल गरे पनि त्यो परिवारसँग एक प्रकारको दूरत्व बनाएर चल्थिन् । लावण्यले बीचबीचमा आएर उसलाई काम सघाउँथी । बुमनका प्रत्येक सफलताका कुरा लावण्यसँग गर्न पाउँदा उनी गौरव अनुभव गर्थिन् । उनका कुराहरू लावण्य मन लगाएर सुन्थिन्, बुमनलाई औधी माया गर्दथिन् लावण्य । बुमनजस्तो छोरो भाग्य हुँदा मात्रै भेटिन्छन् भन्थिन् । बुमन अमेरिका पढ्न गएकै वर्ष खगेश्वरले उनीहरूको चौकुनाको निवास छाडिदिएका थिए । दुई कोठाको घर उनीहरूका लागि सानो भैसकेको थियो । केही काममा लागेको थियो अजय र वशिष्टपट्टि एउटा घर भाडामा लियो भन्ने सुनेकी थिइन् उनले । कलेज पढ्दापढ्दै पढाइ छाडेर कमाउने मेलातिर लागेका थिए केटाहरू । त्यसबाहेक उनीहरूको अरू उपाय पनि थिएन । "आमै, दिउँसो यसो ढल्किने गरेको छैन ?" दुई कप चियाको एउटा कप उनका हातमा थमाइदिएर उनका छेउका कुर्सीमा वन्दिता पनि बसी । 'चिया अलिक बाक्लै पिउनुहुन्छ भनेर हजुरका छोराले भन्नुहुन्थ्यो ।' नीला रङका लुगा लगाएकी थिई वन्दिताले । कपाल पनि अलिक भिन्नै चालले बाँधेकी । "छिट्टै साँझ परिहाल्छ अचेल ।" "अँ रातचैँ' निकै लामा ।" उनले पहिलोपल्ट आफैँ भनेका कुराको उत्तर वन्दिताले आग्रहका साथ भनी । उनी पनि वन्दिताका छेउमा अलिक सजिली भइन् । "तिम्रो घरचैँ कहाँ हो ?" "तेजपुरमा । घरमा आमा र भाइ छन् । बाबु हुनुहुन्न हाम्रा ।" वन्दिता आफैँ भन्न थाली । बाबु खसेपछि उसले पढाइ छोड्नुपऱ्यो । त्यहाँपछि न्युजपेपरमा विज्ञापन पढेर यो 'ओल्ड होम'मा इन्टरभिउ दिएर नोकरी भेटी र त्यसैले घर चलाउँदै छे । भाइलाई पनि पढाउँदै छे । साहस र आत्मविश्वासले पूर्ण भएको वन्दिताको मुहारतिर हेरेर उनी सोच्छिन्- जिन्दगीको लामो सफरमा आफ्नै खुट्टामा उभिन सक्ने योग्यता आर्जन गर्नु पनि एक प्रकारको सफलता नै हो । जुन योग्यता उनले आर्जन गर्न सकिनन् र धुरुधुरु रुनुपरेको छ । "आउनू आमै, हामी एकछिन आँगनमा हिडौँ ।" उनका काँधमा हात राखी बन्दनाले । आ-आफ्ना कोठाबाट एउटी दुइटी गर्दै आइमाईहरू निस्कँदै छन् । बगैँचाभित्र बिहान देखेका ती वृद्धासँगसँगै अर्की एउटी आइमाई पनि छिन् । बिहानकै जसरी ती बूढा मानिस अहिले पनि मन लगाएर फूलका बिरुवा खोस्रिरहेका छन् । आइमाईचाहिँ लता गोलाप फूलको बिरुवा एउटा चाङमा चढाइदिँदै छिन् । फूलबारी बनाउने उनको पनि रहर थियो । अरिन्दमले पनि भिन्नाभिन्नै किसिमका बिरुवा ल्याइदिन्थे । वन्दितासँग आगनमा घुमिहिँड्दा पनि उनले अतीतका कुरा सोच्न बिर्सेकी छैनन् । आँगनमा खेल्दै गरेका केटा तीनोटा उसका मनमा नाचिरहन्छन् बुमन, अजय र विजय । लेखाइ-पढाइ राम्रा नभएका अजय र बिजयसँग बुमनले मिलजुल गरेको मन पर्न छोडिसकेको थियो उनलाई । अरिन्दम भन्दथे- 'केही हुँदैन, खेल्न देऊ ।उँधेरलाई पनि त साथी चाहिन्छ नि ।' "आमै, यी ममता बढीआमा !" आँगनका एकापट्टि ओछ्याइरहेको लामो आरामी-चौकीमा बसी ऊनी गुथिरहेकी महिला ऊतिर हेर्छिन्- "नमस्कार, बस्नुहोस् ।" उनलाई चौकीका अर्का छेउमा बसाइदिएर वन्दिता त्यहाँबाट जान्छे । ममता बढीआमाका हातमा आधा बनाइसकेको गुलाफी सुइटर । 'नाति केटाका लागि बनाएकी । नभेम्बरमा आउने कुरा छ । बर्सेनि ऊ आउँछ मलाई भेट्न ।' कसैलाई यी कुराहरू सुनाउन पाउँदा ती आइमाईको मन सजीव हुन्छ । एक वर्षछि एकपल्ट देख्न पाउँछिन् आफ्नो नातिलाई । त्यसैमा उनलाई कति सन्तुष्टि ! "यहाँ आएका कति दिन भए ?" "म यहाँकी पहिली बोर्डर हुँ। सुरुदेखि बसेकी । एक वर्षजति त भयो नि सुरु भएको । पहिला यहाँ आउँदा कत्ति हो कत्ति खबरकागज, पत्रिका आदिका सम्पादकहरू आएर साक्षात्कार लिएका थिए ।" "यहाँ बसेर कस्तो लागेको छ ?"- डराईडराई अनुरूपाले प्रश्न सोधिन् र उत्तरको आसमा पर्खिरहिन् । "घरमा यिनीहरू निस्केर गएपछि भूतझैँ धुम्धुम्ती बसिरहनुभन्दा यहाँ त मलाई धेरै राम्रो लाग्दछ । सबैजना प्राय दौंतरी । सँगै बस्छौँ सँगै खान्छौँ, फुर्ती-आनन्द गर्छौँ। यो होमका मालिकपरिवारको आफ्नो बीचको मेल-मिलाप देखेर सबैभन्दा राम्रो लाग्दछ मलाई । छोरा-बुहारी र आमाको बीचमा कत्ति हो कति मेलमिलाप ! सधैँ बेलुकी हाम्रो प्रेयर मिटिङमा आउँछन् उनीहरू । सबैभन्दा ठूलो कुरोचैँ के हो भने - यो ओल्ड होमबाट उनीहरूको केही फाइदा भएको छैन । मालिकले बूढी आमाको स्मृतिमा बनाएको हो यो वृद्धावास । आमैको साह्रै मायाको थियो अरे ऊ । योबाट धेरै फाइदा नभए पनि मालिककी आमाका हामी साथी भयौँ। उनको लाभचाहिँ त्यही नै हो अरे ।" "साँच्चै राम्रो लाग्यो सुनेर ।" लामो श्वास फेरिन् उनले । बिहान भेटिएकी बोलैया आइमाईभन्दा त यी आइमाईकै कुरा मन परे अनुरूपालाई । आशावादीजस्ती लागिन् यी आइमाई । "आज कतै जानुहुन्न ?"- दुइटी आवासी बजार गर्ने झोला बोकेर छेउबाट पार भएर गए । कमलो हावा लाग्न थाल्छ । फूलबारीमा भएको बूढो मान्छे आफ्नो कटेजतिर जान्छ । पल्लो छेउको एउटा कटेजबाट तीनजना मान्छे आएजस्तो लाग्यो उनलाई । तर अँध्यारो भएकाले चिन्न सकिनन् उनले । "उः उनीहरू आए । प्रेयरको समय भयो नि त ।" "को हुन् भन्नुभयो ?" "किन, यो होमका मालिकहरू ।" ती तीनजना मानिस अनुरूपाहरूका छेउमा आइपुगे । एउटी उमेर भएकी आइमाई, अर्की कम उमेर भएकी र एकजना प्रायः केटो मान्छे । बुहारीका कुरामा ती उमेर भएकी आइमाई हाँस्तै थिइन् । केटो मान्छे अनुरूपाका छेउमा आयो- "बडेमा, तपाईँ हिजो आउनुभयो नि ? मेरो नाम अजय डेका हो ।" "अजय ?" - साँझका अँध्यारामा पनि उनका आँखाले गल्ती गरेनन् । अजय- खगेश्वर र लावण्यको ठूलो छोरो । "अँ बडेमा, यता मेरी आमा ।" अनुरूपा ठिङ्ग उभिइरहिन् । केही निस्केन मुखबाट । आँखाअघि एउटै चित्र घुम्न लाग्यो- आँगनमा खेल्दै गरेका अति साधारण केटा दुइटा - अजय ....... "दिदी, तपाईँ?" अधीर भई लावण्य । उनलाई अँगालो हालेर उ सुँकसुँक गरेर रुन थालिन् । "तैँले चिनिनस् अनु बडेमालाई ?" अजयले उनका गोडा समातेर ढोगिदियो । साथ-साथै लावण्यकी बुहारीले पनि ढोगी ।
धेरनुधरा गाउँ, गहपुर असम ।
|