|
|
|
|
असमको समाजप्रति नेपालीहरूको देन --पद्म ढकाल आजको असमलाई मिनी-भारतवर्ष भन्न सकिन्छ। यहाँ सहस्र जाति-उपजाति छन्, त्यसरी नै कथित/लिखित भाषा अनि धर्म पनि अनेकौँ छन्। असमको समाज भन्दा यी सबै गाभिन्छन्। यो समाजको समन्वय र बोलचालको भाषा हो असमिया, यो राज्यिक र सरकारी भाषा पनि हो, यहाँ यसैको बोलबाला पनि छ। जब नेपालीहरूको अवदानको सवाल आउँछ, पहिले नै हामी भन्न सक्छौँ, नेपालीमा बोले जसरी नै असमियामा पनि बोल्न, लेख्न, पढ्न गरेर नेपालीहरूले असमिया भाषालाई द्वितीय मातृभाषाको मान्यता दिएको देखिन्छ। असमिया साहित्यको सेवा गरेर असमिया बोल्ने मानिसको सङ्ख्या बढाएर असम र असमिया समाजप्रति आनुगत्य प्रकाश गरेको देखिन्छ। साहित्यकारहरू यसलाई नेपालीको ठूलो देन हो भन्छन्। अब हामी असमको समाजप्रति नेपालीहरूको अरूअरू अवदान कस्तो छ, सो बहस गर्ने प्रयास गर्नेछौँ। यो अवदान हजारौँ वर्षदेखिको हो यानि नरकासुरका पालादेखि नै चलेर आएको, किनकि नरकासुरका समयदेखि नै नेपालीहरूको आवतजावत भएको प्रमाण इतिहासले दिँदै छ। त्यतिखेर कोही वैवाहिक नातामा असम आए भने कोही धार्मिक भावनामा बगेर असम आए। चर्यापदबाट हामी अन्दाज गर्न सक्छौँ, नेपाली बौद्ध भिक्षुहरू पनि असम आएका थिए। यो चर्यापदको आधारमा विद्वान्हरू भन्न थालेका छन् - असमिया, नेपाली, बङ्गाली आदि भाषाको प्रारम्भिक रूप हो चर्यापद। अरू कतिपय आएका थिए कामाक्षा, उमानन्द आदिको दर्शन गर्न, ब्रह्मपुत्र, परशुरामकुण्ड, गरमपानीमा स्नान गर्न। फेरि अरू कतिपय आएका थिए अङ्ग्रेज सेनामा भर्ना भएऱ। यसरी हाम्रा पुर्खाहरू असममा आए। तर फर्केर सबै माउथलो गएनन्। कतिपय असममै बसे। कोही पशुपालनतिर लागे भने कोही खेतीपाती गर्न थाले, कोही फौजमा पसे, कोहीचाहिँ रेल-कम्पनी, तेल-कम्पनी अनि कोइलाखानीमा नोकरी गर्न थाले। पशुपालन गर्नेहरूले एकातिर दूध र दूधबाट उत्पादित सामग्री दिएर रैथानेहरूको चाहना पूरा गरे भने अर्कातिर गाई-भैँसीको गोबरले असमको जमिन मलिलो पार्यो भनेर डा. अमलेन्दु गुहजस्ता विद्वान् पनि भन्नुहुन्छ। खेतीपाती गर्नेहरूले असमको अनाजको खाँचो पूर्ति गरे भने फौजमा नोकरी गर्नेहरूले देश सेवा गरे। रेल कम्पनी, तेल कम्पनी अनि कोइला खानीमा नेकरी गर्नेहरूले पनि देशसेवा नै गरे। यी सबै यो समाजको प्रति अवदान नै हुन्। तर सबै अलिखित छन्। यसरी नै धेरै दिन बित्यो। युग बित्यो। शताब्दीपछि शताब्दी बित्यो। तर नेपालीहरूको जीवनशैलीमा केही परिवर्तन आएको थिएन। समयको गतिमा कोही प्रभावित भएका थिएनन्। तर भारतीय जातीय काङ्ग्रेसको प्रवाहमा विहाली माझगाउँका बाबू छविलाल उपाध्यायसँगसँगै नेपालीहरू पनि बगे। छविलाल बाबू अघिअघि र अरू नेपालीहरू पछिपछि थिए। बाबू छविलाल उपाध्यायलाई डिब्रुगडका दलवीरसिं लोहार अनि डिगबोईका भक्तबहादुर प्रधानले हैँसे गर्नुभएको थियो। सन् 1921 मा जोरहाटमा बाबू छविलाल उपाध्यायको पौरोहित्यमा अनुष्ठित भएको एक जनसभामा आसाम प्रादेशिक काङ्ग्रेस कमिटी गठन भएको हो। उहाँ यस्तै जनप्रिय र प्रभावशाली राजनैतिक व्यक्ति हुनुहुन्थ्यो र 1921 लाई हामी Turning Point भन्न सक्छौँ किनकि यसपछि असमको समाजसँग नेपालीहरूको सामाजिक सम्पर्क स्थापन भयो। यसपछिको समयलाई हामी राजनैतिक, अर्थनैतिक, साहित्यिक, भाषिक, चाडबाड, उत्सव, पूजा-पार्वण, धार्मिक अनि वैवाहिक सम्पर्क र अवदान भनेर औँल्याउन सक्छौँ। राजनैतिक अवदानभन्दा अङ्ग्रेजहरूको विरोधमा भएको काङ्ग्रेसको अहिंस आन्दोलनमा नेपालीहरूको सहयोग र सक्रियता हो। असहयोग आन्दोलन (1921), पाण्डु काङ्ग्रेस (1926), विदेशी वस्तु वर्जन आन्दोलन, ऐन अमान्य आन्दोलन (1930), भारत त्याग आन्दोलन (1942) अनि ग्रुपिङ व्यवस्थाको विरोध आन्दोलनमा नेपालीहरू असमको समाजसँग काँधमा काँध मिलाएर हिँडेका थिए। आफ्नो जीवनलाई हत्केलामा राखेर नेपालीहरू यसरी स्वाधीनता आन्दोलनमा सक्रिय भएका थिए। प्रसादसिं सुब्बा र गोविन्दराम उपाध्यायको अगुवाइमा ग्रेजियर्स एसोसियन (1935), भक्तबहादुर प्रधान र दलवीरसिं लोहारको नेतृत्वमा डिगबोई अइल कम्पनीको श्रमिक मजदुर सत्याग्रह (1939) अनि जनगणना (1941) नेपालीहरूका लागि यो समयभित्रका उल्लेखनीय घटना हुन्। यी घटनाहरूमा नेपालीहरू यहाँको समाजसँग हातेमालो गरेर हिँडेका थिए। समाज र देशको लागि त्याग स्वीकारेका थिए। यी सबै अवदान नै हुन्। यी कामले गर्दा त्यस समयमा नेपालीहरूको जीवन खुबै प्रशंसनीय भएको थियो। 1941 को जनगणनामा नेपालीहरूले असमिया जाति र भाषाको पक्षमा आफ्नो जातिलाई समर्पण गरेर शान्ति-मैत्री-प्रगतिको गोरेटो बनाए भन्दा अत्युक्ति हुँदैन होला किनकि नेपालीहरूले असमिया भाषी भनी लेखेर असमिया भाषालाई सङ्कटमुक्त पारेका थिए र त्यही नै सबैभन्दा ठूलो अवदान हो। श्रमिक मजदूर, कृषकहरूको आन्दोलनमा प्रेमसिं सुवेदी(गुवाहाटी), के.सी.ठाकुर(लखिमपुर) र भीमबहादुर तिवारी(जामुगुरीहाट) को नेतृत्व र त्याग अनि अवदान उल्लेखनीय छ। 1949 देखि पञ्चायत र 1952 देखि आजसम्म हुँदै भएका चुनाउहरूमा नेपालीहरूको सहयोग, सक्रियता र वफादारीलाई मान्यता दिनैपर्छ। 1956 को रिफाइनरी आन्दोलन, 1960को भाषा आन्दोलन अनि 1972 को माध्यम आन्दोलन असमको समाजको लागि सङ्कटकाल हो। असम, असमिया समाज र असमिया भाषाको मानइज्जतको कुरा थियो। यसमा नेपालीहरूले कायमनोवाक्ये समर्थन गरेर असमिया समाजलाई बचाई अनमोल मित्रता र मायाको आदर्श सृष्टि गरे। यी सबै देन नै हुन् भन्नुपर्छ। अझै पनि असममा नेपालीहरूले पशुपालनको व्यवसाय छोडेको छैन। तर कसैले पुरानो पद्धति नै अपनाएको छ भने कसैले युग-जमानालाई अँगालेर वैज्ञानिक पद्धतिको व्यवस्था गरेर आमदानी बढाएको छ। जे भए पनि गोठ र दूध अनि दूधबाट उत्पादित खाद्यसामग्रीहरूको पेसा छोडेको छैन। त्यसउपरान्त खेतीपाती, व्यापार, नोकरी आदिबाट देश र समाजको सेवा गर्नु पनि अर्थनैतिक अवदान हो, किनभने आमदनी यो देशमा नै खर्च भैरहेको देखिन्छ। धेरै नेपाली साहित्यकारहरू असमिया र नेपाली दुवैमा लेख्छन्। असमिया भाषामा लेख्नेहरूमा अगुवा हुनुहुन्छ हरिप्रसाद गोर्खा राई अनि धनबहादुर सुनार। उहाँहरूको आदर्श लिएर हाम्रा धेरै साहित्यकारहरूले असमिया भाषामा आफ्नो लेखनी चलाएर असमिया समाजको प्रशंसा हासिल गरिरहेका छन्। एकदुईजना लेखकले बडो भाषामा पनि कलम चलाउन थालेका छन्। यसरी हामी एकातिर असमको समाजसँग हातेमालो गर्दै हिँड्दै छौँ भने, अर्कातिर असमको समाजको भाषा-साहित्य आत्मसात् पार्दै अवदानको सङ्ख्या पनि बढाउँदै छौँ। भाषिक र शैक्षिक क्षेत्रमा पनि हाम्रो अवदान उल्लेखनीय छ। असमका हरेक नेपाली गाउँमा स्थापना भएका असमिया माध्यमका विद्यालयहरूमा धेरजसो चाहिँ नेपालीकै धनले निर्माण गरेको देखिन्छ। यस्ता विद्यालयको सङ्ख्या पनि 250 भन्दा बढी नै होला। यसरी असमिया माध्यमका विद्यालय स्थापना गर्नेहरूमा नेपालीको स्थान अरूको भन्दा माथि नै छ। असम र असमको समाजको लागि यो सबभन्दा ठूलो अवदान हो। असमको चाडबाड, उत्सव, पूजा-पार्वण आदिमा पनि अरू जाति-उपजातिसहित हाम्रो भागिदारी पनि स्मरणीय छ, यसरी अहिले असममा पालन गर्ने चाडहरू समन्वयको प्रतीक भएका छन्। धार्मिक दिशामा बोल्नुपर्दा महापुरुष शङ्करदेवको कुरा भन्नुपर्छ। शङ्करदेवको वैष्णव धर्मले असम ढाकेको छ। यो धर्मको नाउँ लिँदा रतिकान्त उपाध्याय र मोहनलाल उपाध्यायको नाउँ मनमा आइहाल्छ। यहाँहरूले वैष्णव धर्म ग्रहण गरेर यो धर्मका लागि नै आ-आफ्नो जीवन समर्पण गर्नुभएको दृष्टान्त छ। यसलाई पनि अवदान नै मान्नुपर्छ। असमिया र नेपाली समाजमा अघि नै देखि वैवाहिक सम्पर्क भएको हो। तर अघि गन्धर्वविवाहको चलन थियो भने अहिले सामाजिक रीतिरिवाजअनुसार नै सम्पन्न भएको देखिन्छ। यसले पनि दुई समाजमा आन्तरिकता बढाएर असम र असमको समाजको प्रगतिमा श्रीवृद्धि ल्याएको देखिन्छ। यसरी आसामे नेपालीहरूको यो जीवनगाथालाई असमको समाजप्रति नेपालीहरूको देन भने पनि अथवा असमको शान्ति-मैत्री-प्रगतिमा हाम्रो सहभागिताको व्याख्यान, जे भने पनि हुन्छ। *****
|