|
|
|
|
शब्दहरू शिवकुमार नेवार, दुलियाजान, असम
एक "आज राति ऊ फेरि सुतेन होइन ?" प्रश्न। "अहँ.........सुतेन...........अचम्म छ.............हिजो पनि सुतेन।" उत्तर। "यो बौलाहाको लक्षण त होइन ?" "खै....यसलाई कसरी परिभाषित गरूँ ?........रातभरि.........कहिले ओछ्यानमा छट्पटाउँछ, कहिले सिलिङतिर हेरिरहन्छ, टोलाइरहन्छ......................यार ! यी कविहरू यस्तै हुन्छन्।" दुई ऊ(कवि) कल्पना गर्दै छ...... एउटा प्रदर्शनी। प्रदर्शनीमा टाँगिएको एउटा चित्र, शीर्षक- "मानवता।" चित्रमा देखाइएको छ---एउटा अँध्यारो गुफा औ गुफातिर बढ्दै गएका असङ्ख्य मानव-पाइलाहरू ! 'ऊ' अचम्ममा परेको छ, चित्रको चित्रण देखेर ! मानवताको स्खलन बुझेर ! कति यथार्थ ! कति सठीक ! रेखाहरूका शब्दले बोलेको। हुन पनि 'मानवता' अँध्यारो गुफाको गर्ततिर लम्किँदै छ। तीन होस्टलमा अचेल 'ऊ' बहुलाएको प्रचारित छ। तर उसलाई भने केही अत्तोपत्तो छैन। सिलिङमा, भित्ताहरूमा, ढोका-झ्यालहरूमा र ओछ्यानमा पनि त्यो चित्र देख्छ, त्यो चित्रका रेखाहरूले बोलेका शब्दहरू सुन्दछ। चार आज ऊ सिकिस्त छ। जीर्ण अनुहार........। भासिएका आँखा, अस्तव्यस्त कपाल - उसलाई बोल्न पनि गाह्रो भएको छ। कण्ठमा केही अड्केजस्तो छ। घोक्रो साह्रै दुखेको छ, भुँडी पनि साह्रै निमोठिन्छ, मुटु पोल्दछ, बान्ता आउला-आउलाजस्तो हुन्छ। 'म बिरामी भएँछु.....' लख काट्यो उसले। औ सकीनसकी होस्टलअघि मूलबाटोपारिको क्लिनिकमा पुग्छ। "खानेमा केके लिने गर्दछौ ?" नाडी बिचार्दै सहज भावमा सोध्छ डाक्टर। "मात्र शब्दहरू, शब्द खान्छु, शब्द लेख्दछु, शब्द सुन्दछु, शब्द सोच्दछु।" कताकता धर्धराएको आवाजमा उसले भन्दछ। झस्किन्छ डाक्टर। नाडी बिचार्न छाडेर सम्पूर्ण रूपमा विस्मित आँखाले रोगीलाई नियालेर हेर्दछ। ऊ एकजना अनुभवी र सक्षम डाक्टर थियो। उसको तीसबर्से डाक्टरी पेसामा 'ऊ' एउटा नौलो 'केस' थियो। तर बुझ्यो, रोगी कुन रोगले ग्रसित छ। उसले धेरैबेर घोरिएर गम्भीरतापूर्वक सोच्यो। रोगीको दुब्लो पातलो मरञ्च्यासे शारीरिक अवस्थालाई पनि नियाल्यो र लामो सास फेरेर कतिपय पाचनका गोलीहरू निर्णय गर्यो। 'मबाट यही मात्र हुनसक्छ' सोच्दै गोलीहरूको पोको रोगीलाई थमाएर सम्झाउँदै भन्यो- "तिमी भयानक रोगले ग्रसित छौ, यो 'पाचक' हो, एक गिलास पानीसँग खाएर तिम्रा छातीमा, मुटुमा अड्केका शब्दहरूलाई पाकस्थलीमा घचेटी पठाउनू र बिहान मलसँग शरीबाट निष्काशित गरी पठाउनू, खबरदार, औषधी खाएर डकारसम्म नलिनू। मेरो भनाइअनुसार नगरे जब तिम्रो भुँडी, मुटु र घाँटीमा अड्केका शब्दहरू मुखबाट बाहिर निस्कनेछन्, तब तिम्रो मृत्यु निश्चित छ।" 'ऊ' डाक्टरको चेतावनी ध्यानपूर्वक मनन गर्दै क्लिनिकबाट बाहिर सडकमा पुग्छ। पाँच बाटो हिँड्दाहिँड्दै अनायास आफ्नो सोचको प्रदर्शनीमा देखेको चित्र चारैतिर झुन्डिएको देख्छ। ऊ छक्क परेर उभिन्छ। हुन पनि धर्साहरूले, रेखाहरूले बोलेको चित्र 'हावी' छ उसको मानसपटलमा। एक्कासि ऊ आत्तिन्छ। जहाँ ऊ उभिएको छ त्यहाँ उसका गोडा तल प्रदर्शनीको 'क्यानवस' पो रहेछ। उसले आत्तिएर अर्कोतिर गोडा सार्दा, त्यहाँ पनि प्रदर्शनीको चित्रलाई टेकेको हुन्छ। ऊ साह्रै आतिन्छ, स्याँसिन्छ, जहाँ पनि टेक्छ त्यहाँ प्रदर्शनीमा झुन्डिएको, रेखाका शब्दहरूले बोलेको 'मानवता' माथि टेक्न पुग्छ। उफ्रिँदा-उफ्रिँदा थाकेर ऊ लखतरान हुन्छ। एक्कासि ऊ केही सोच्दछ र अप्रत्याशित रूपमा आफ्नो मुखभित्र दुई औँला हाल्छ। उसलाई भक्कानो फुटेको भान हुन्छ। उसको भुँडी साह्रै निमोठिन्छ, मुटुमा आगो बल्दछ र घाँटी चिरिएको जस्तो लाग्छ। अनि एकाएक धेरै शब्दहरू उसका मुखबाट निस्केर सडकभरि छरिन्छन्। त्यसो गर्दा अप्रत्याशित रूपमा उसको घाँटीको दुखाइ, भुँडी र मुटुको व्यथा अलिक बिसेक भएको अनुभव गर्छ। ऊ उत्साहित भएर मुखभित्र औँला हाली बान्ता गर्ने क्रिया फेरि दोहोर्याउँछ। अनि फेरि शब्दहरू निस्कन्छन्। फेरि अलिक बिसेक हुन्छ................त्यसर्थ उसले बान्ता गर्ने क्रिया बारम्बार दोहोर्याउँछ......सडकभरि शब्दहरू ओकल्दै जान्छ......। छ यसप्रकार अचम्मका क्रियाहरू देखेर सडकका दुवैतिरबाट मानिसहरू जिज्ञासावश हेर्छन्। एकैछिनपछि 'ट्राफिक' पनि जाम हुन्छ। चारैतिरबाट मानिसहरू समुद्रझैँ खनिन्छन्। ऊ शब्दहरू ओकल्दै जान्छ। मानिसको भीड बढ्दै जान्छ........। अर्को दिन 'ऊ' सडकको छेउमा मरेको भेटिन्छ। उसका तस्बिर सरकारी कार्यालयहरूमा सहिदका रूपमा झुन्डिन्छन्। चौरमा उसको ठूलो सालिकको शिलान्यास हुन्छ। ***
|