Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

शब्दकोश

--हरिहर पौडेल

मानिसलाई नैतिकवान् र अनुशासित बनाउने विश्वास लिएर रुना भाषामा विशाल शब्दकोश निर्माण भयो। शब्दकोषले समग्र विश्वलाई समेट्यो। मानिसले जानेसम्मका सम्पूर्ण राम्रा शब्दहरूले मात्र शब्दकोश भरियो। शब्दकोश निस्कनेबित्तिकै तीव्र प्रतिक्रियाहरू सुरु भए।

यसमा अन्याय, अत्याचार, आतङ्क, लुट, हत्याजस्ता शब्द छैनन्।

यसमा ए.के.-४७, बम, क्षेप्यास्त्र, जैविक हतियारजस्ता शब्द छैनन्।

यसमा घृणा, तिरष्कार, शोषण, गरिबीजस्ता शब्द छैनन्।

|

शब्दकोशको अध्ययनपश्चात् निर्णय गरियो— यस शब्दकोशले आजको मानिसलाई समेट्न सक्तैन। यसले पृथ्वीलाई ढुङ्गे युगभन्दा पनि पछाडि पुर्‍याउँछ। त्यसैले यसलाई लागू गर्ने हो भने कुनै अर्को ग्रह खोज्नुपर्छ।

त्यसपछि मानिसहरू अर्को ग्रहको खोजीमा निस्के।

|||

('कालो उज्यालो'बाट)