Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

बाटो खनी जाने सहिदहरू

                                                        --कृष्णभूषण बल

बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले

तर त्यो घाम उनीहरूका समपना कहिल्यै लाग्न सकेन

तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदरूले

तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन।

तिर्खाले व्याप्त धुकधुकीमा मुहानै खन्याइदिए हाम्रा सहिदहरूले

तर चैतको खडेरीले मुहानै सुकाइदियो,

यहाँ कसैले तिर्खा मेट्न सकेनन्,

बुच्चे चरीहरूमा प्वाँख भिराए हाम्रा सहिदहरूले

तर भोका चरीहरू भोकले कहिल्यै उड्न सकेनन्।

वर्षौ अन्धा रहेका अन्धाहरूलाई आँखा दिए हाम्रा सहिदहरूले

तर अन्धाले आँखा पाउँदा आफैँलाई चिन्न सकेनन्

जाडाले कठ्याङ्ग्रिएकाहरूलाई ,

भावनाको दोलाईँ र कम्बल बाँडेका हुन् हाम्रा सहिदहरूले

तर ओड्ने कहिल्यै ओढिएनन्

अब त यस्ता दाताहरू यी आँगनहरूमा कहिले आउलान् र,

जब कि यहाँ त सहिद बन्नु पनि अभिशाप छ

किनभने यो देश नै यस्तो जहाँ सतीको श्राप छ।

 

विराटनगर

(भोलि बास्‍ने बिहानबाट)