|
|
|
|
सङ्केत --नारायण तिवारी मानिसहरू पुरिएका छन् र मेरो मुटु यस बेला कामिरहेको छ।
मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दै छन् म सुनिरहेको छु रेडियो खुल्ला छ- राहतका कार्यहरूमा कुनै कमी आएको छैन
मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर फर्किन् ! सुनेँ यो पनि, उनको कमलो हृदयको राहत चाहिँदैन रे !
मानिसहरू गन्हाइरहेका छन्- 'प्रकोप'को गन्ध पनि सायद मीठै मान्नुपर्ने होला ! जस्तो कि शनैः शनैः हजम हुने स्वदेशी -विदेशी चन्दाको स्वाद !! र यस्तो नोटको बिटोखाले राहत चाहिन्छ !
सूचना-प्रसारण जारी छ- सहयोगी मुटुले घाइतेको मुटु छाम्न पाइन्न माध्यममार्फत आउनुहोस् र त्यो माध्यम 'भोज' खाइरहेछ।
एउटा तस्बिर छ- फाटेको वस्त्र खुम्चिएको निधार र फैलिएको हात जसलाई भनिँदै छ, तिमी पीडित हुनुको खोइ प्रमाण ?
यस्तैमा मर्दछन् सायद कर्णप्रसादहरू, के दोष ! मरिचमानहरू सूर्यप्रसादजीको घर खोज्दै हिँड्दछन् भने .........
विजयपुरका थिचिएका मानिसहरूले उल्टै उद्धारकोषमा चन्दा दिएको खबरले भन्दा खबरभित्र निहित पीडाले मेरो मुटु अझ कामिरहेको छ कतै अर्को भूकम्पको सङ्केत नै त हैन यो.......... ? डर भोगिरहेछु- सशङ्कित, कति मानिसहरू पुनः पुरिने हुन् निर्माणकै लागि किन नहोस् तर कति त घरहरू भत्किने हुन्....... !
विराटनगर (अर्थात्बाट)
|