|
|
|
|
|
|
तीन कविता --लीला अनमोल साँझ आकाश थियो र जून थियो बाँसुरी थियो र धून थियो त्यही समय तन्द्रायुक्त परिवेशमा एउटा कलिलो रात मलाई जिस्क्याएर गयो एउटा हरिलो विश्वास मलाई झुक्याएर गयो आखिर म त मैनबत्ती जल्दैजल्दै आगोहरूले थोपाथोपा तप्किरहेँ।
रात फूल थियो र पात थियो रात थियो र साथ थियो र त विचार फुस्किएर मनबाट निष्कर्षको दोसाँधमा एउटा गहिरो अनुभूति पलभरमै मलाई भोगेर गयो एउटा सम्मानित आस्था झरेर अलिकति शिखरबाट छिपछिपे आँखा रोएर गयो आखिर म त एक झुल्को घाम छेकेर बादलका धर्साहरूले कतै अनन्तमै अल्झिरहेँ।
बिहानी मिर्मिरे थियो र शीत थियो गीत थियो र प्रीत थियो एउटा यथार्थ सपनाजस्तो भएर अतीतको पानामा हस्ताक्षर गरी अलिकति अँध्यारो पोखेर गयो तोडेर आस्थाको प्रतिबिम्ब एउटा अनौठो क्षण मलाई भोगेर गयो आखिर म त एक थुँगो फूल हल्लाउँदा हावाका झोक्काहरूले ओइलिएर बोटबाट पत्रपत्र झरिरहेँ।
विर्तामोड, झापा। (गरिमाबाट)
|