Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


तीन कविता

--लीला अनमोल

साँझ

आकाश थियो र जून थियो

बाँसुरी थियो र धून थियो

त्यही समय

तन्द्रायुक्त परिवेशमा

एउटा कलिलो रात

मलाई जिस्क्याएर गयो

एउटा हरिलो विश्वास

मलाई झुक्याएर गयो

आखिर म त मैनबत्ती

जल्दैजल्दै आगोहरूले

थोपाथोपा तप्किरहेँ।

 

रात

फूल थियो र पात थियो

रात थियो र साथ थियो

र त

विचार फुस्किएर मनबाट

निष्कर्षको दोसाँधमा

एउटा गहिरो अनुभूति

पलभरमै मलाई भोगेर गयो

एउटा सम्मानित आस्था

झरेर अलिकति शिखरबाट

छिपछिपे आँखा रोएर गयो

आखिर म त एक झुल्को घाम

छेकेर बादलका धर्साहरूले

कतै अनन्तमै अल्झिरहेँ।

 

बिहानी

मिर्मिरे थियो र शीत थियो

गीत थियो र प्रीत थियो

एउटा यथार्थ

सपनाजस्तो भएर

अतीतको पानामा हस्ताक्षर गरी

अलिकति अँध्यारो पोखेर गयो

तोडेर आस्थाको प्रतिबिम्ब

एउटा अनौठो क्षण मलाई भोगेर गयो

आखिर म त एक थुँगो फूल

हल्लाउँदा हावाका झोक्काहरूले

ओइलिएर बोटबाट

पत्रपत्र झरिरहेँ।

 

विर्तामोड, झापा।

(गरिमाबाट)