|
|
|
|
दुई जीवन समानान्तर --सूरज प्रकाश
-हेलो, के म यो नम्बरमा दीप्तिजीसँग कुरा गर्न सक्छु ? - हो, म मिसेज धवन नै बोल्दै छु। - तर मलाई त दीप्तिजीसँग कुरा गर्नुछ। - मैले भनेँ नि म नै मिसेज दीप्ति धवन हुँ। भन्नोस् म के गर्न सक्छु तपाईँका लागि ? - कस्ती छ्यौ ? - म ठीकै छु। तर तपाईँ ? - ल ... चिन न... - हेर्नोस् म चिन्न सकिरहेकी छैनँ। पहिले तपाईँ आफ्नो नाम बताउनुहोस् र मसँग के काम छ त्यो पनि बताउनुहोस्। - काम छ पनि, छैन पनि। - हेर्नोस् धेरै पहेली नभन्नोस्। तपाईँले आफ्नो नाम र काम नभने म फोन राखिदिन्छु। - अरे यस्तो गजब नगर है डियर, मसित एक रूपियाँको अर्को ढ्याक छैन नि। - कति बेसरम हो तपाईँ ? थाहा छ कोसित कुरा गर्दै हुनुहुन्छ ? - थाहा छ र नै त यति छुट लिइरहेको छु नत्रभने दीप्तिको रिस मलाईभन्दा बढी कसलाई थाहा छ र ? - मिस्टर, तपाईँ जो भए पनि एकदमै छाडा हुनुहुँदो रहेछ। म फोन राख्दै छु। - यदि मैले आफ्नो इमानदारिताको परिचय दिएँ भनेँ ? - त्यसो भए कमसे कम मुख त खोल्नुहोस्। किन मेरो दिमाग चाटिरहनुहुन्छ ? - यार, एकपल्ट सम्झने कोसिस त गर, कतै बिर्सिएर यतापट्टि पनि आफ्नै मान्छे पो छ कि ? - मैले आवाजबाट चिन्न सकिनँ। तपाईँ नै भन्नुहोस्। - ल एउटा हिन्ट दिन्छु, सायद भै पो हाल्छ कि ? - सुनौँ न। - आजभन्दा बीस वर्ष पहिले सन् १९७९ को डिसेम्बर महिनाको एउटा चिसो साँझमा देशको राजधानी दिल्लीको कनाट प्लेसमा रिगलका छेउमा बेलुका छ बजे कुनै भलाद्मीलाई भेट्ने टाइम दिएको थियो हैन। - ओह गड.. तिमी...आज अचानक.. यतिका वर्षपछि ? - हजुर यो ...खरानी.. आज पनि बीस वर्षदेखि त्यहीँ उभिएर तिम्रो प्रतीक्षा गरिरहेको छ। - धेरै नाटक नगर है, मलाई पहिले यो कुरा बताऊ कि तिमीले यो नम्बर कहाँबाट लियौ ? यस अफिसमा त मेरो चौथो दिनमात्र हो तर तिमीले...... - म्याडमका प्रश्नहरू सुरु भैहाले ? पहिले तिमी नै भन तिमी त्यहाँ किन आइनौ ? म पूरै अढाई घण्टा पर्खिरहेँ। हामीले त्यो भेट अन्तिम हुनेछ भनेर निधो गरेकै थियौँ, तै पनि ? - तिम्रो बुद्धुपन अझै पनि कम भएको छैन हगि ? यतिका वर्षपछि मलाई कसरी थाहा हुन्छ म किन, कहाँ र कसरी आइनँ ? अँ कहिले आयौ भन न, अनि कहाँ थियौ यतिका दिन ? - बाफ रे, तिमी दिनको कुरा गर्दै छ्यौ, यो कुरा भएको त बीस वर्ष भैसक्यो। पूरै सात हजार तीन सय दिनभन्दा बढी। - होला। भन न कस्ता छौ, कहाँ छौ र कतिजना छौ ? - किन छौ भनेर पनि सोध न। - अहँ योचाहिँ सोध्दिनँ। मलाई थाहा छ तिमी हुने कारण तिमी आफैँले पनि जान्दैनौ। - कुरा गर्ने तिम्रो शैली अलिकति पनि फेरिएको छैन रहेछ। - म के जान्नु ! अनि यतिका दिनपछाडि मेरो सम्झना कसरी आयो त ? तिमीले भनेनौ पनि यो नम्बर कसबाट लियौ ? - दीप्ति, कुरा के हो भने नि, म तिम्रो यस महानगरमा नबसे पनि बीचबीचमा आइरहेको छु र तिम्रा बारेमा बुझिरहेको छु। कहाँ छौ, कस्ती छौ, कतिकति बेला कताकता पोस्टिङ भयो र कतिबेला प्रोमोसन भयो। चाहन्छ्यौ भने तिम्रो विदेशयात्राको विवरण पनि सुनाइदिऊँ कि ? तिम्रा छोराछोरीका नामहरू, कक्षाहरू, र हबीहरू पनि ? तर मैले कसरी खबर पाइरहेँ भन्ने कुराचाहिँ नसोध। - बाफ रे ! तिमी त युनिभर्सिटीमा पढाउँथ्यौ, कहिलेदेखि इन्टेलीजेन्स सर्भिस जोइन गर्यौ ? कहिलेदेखि गर्दैथ्यौ मेरो यो जासुसी ? - डियर ! यो त जासुसी थिएन र होइन पनि। आफ्नो एउटा खास साथीको उन्नतिका खुड्किलाहरूको यात्रा हेर्ने साधारण जिज्ञासा थियो। तिम्रो हरेक उन्नतिले मेरो छाती बढ्थ्यो र अझै पनि बढ्छ। - तर कहिल्यै खोजीनिती गरेनौ त ? - चाहेको थिएँ तर जहिले कोसिस गरेँ बाधा तिम्रा तर्फबाट नै भएको थियो। म त तिम्रो जिन्दगीभरि तिम्रो सुरक्षाको कन्ट्र्याक्ट लिन चाहन्थेँ, तर तिमी नै पछाडि हट्यौ। तिमीले नै मैले तिम्रो खोजखबर लिएको कुरा रुचाइनौ, कतिपय ठाउँमा त टाइम दिएर पनि आइनौ। कैयौँ वर्ष पहिले, सायद तिम्रो पहिलो पोस्टिङ भएको अफिस थियो, तिमीलाई बधाई दिन आएको थिएँ, तिमीले डेढ घण्टासम्म रिसेप्सनमा कुराएर राख्यौ र भेट गर्न आइनौ। यस्ता बेलामा मलाई कति नराम्रो लाग्थ्यो त्यो मलाई नै थाहा छ। तिमीलाई यति परको लागेँछु म.. तिम्रो त्यत्रो ठूलो सफलतामा बधाई पनि दिन नसक्ने। - तिमालाई सबैकुरा थाहा थियो त। त्यस बेला म नर्भस ब्रेकडाउनको हालतमा थिएँ। प्रोबेसनमा थिएँ, एकदम नयाँ परिवेश, नयाँ जिम्मेवारीसँग एडजस्ट गर्नुपर्ने सङ्कट, घरको तनाव, त्यसमाथि घरवालाहरूको बाउँटेपन र त्यसमाथि तिम्रा पागल पार्ने खालका निम्ताहरू। मलाई नै थाहा छ, मैले कसरी ती सुरुका दुई वर्ष बिताएँ। कति कठिनाइले आफूलाई सम्हालेर राखेँ र कुनै पनि मोर्चामा पछि परिनँ। - म पनि त यिनै कारणहरूले तिमीलाई भेट्न चाहन्थेँ। तिम्रो हौसला बढाउन चाहन्थेँ। कुनै राम्रा बाटाहरू देखाउन वा सल्लाह दिन चाहन्थेँ, तर गजबको कुरा के भयो भने तिमी पनि यिनै कारणहरूले मबाट तर्किरह्यौ। हामी दुई मित्रका रूपमा पनि त भेट गर्न सक्थ्यौँ नि ! - तिम्रो मायामै कतै कमी रह्यो कि ? - भैगो छाडिदेऊ। त्यसबेला मेरोजस्तो क्यालिबरको तिमीलाई माया गर्ने मानिस सहरमै थिएन। यो कुरो त तिमीले त्यसबेला पनि मानेकी थियौ नि हैन ? - अब के त ? - अझै लेऊ परीक्षा। यति टाढाबाट तिम्रो खोजीनिती गरिरहेँ, हेर बीस वर्षपछि नै भए पनि भेट्न आएको छु। फोन पनि मैले नै गरेको हुँ नि, हैन ? - तर कहाँ छौ त तिमी ? मलाई त रत्तिभर तिम्रो पत्तो लागेन कहिल्यै। - खबरहरू त चाह्यो भने आइहाल्छन् नि। त्यसो त त्यही विभागमा त्यही पढाइरहेको छु, जहाँ तिमी मसँग पढाउने गर्थ्यौ। कहिल्यै गयौ त्यतातिर ? - त्यसो त निकैपल्ट तर.......... - तर जहिले पनि मसँग जम्काभेट हुन्छ भनेर डराइरह्यौ ! - हैन। त्यो कुरा होइन। वास्तवमा, म कुन मुख लिएर तिम्रा सामु आउँथेँ ? कैयौँ पल्ट लाग्यो, म नै यो सब परिस्थितिका लागि जिम्मेवार छु। त्यसबेला केही हिम्मत देखाएको भए....। - के हुन्थ्यो होला...? - हुन्थ्यो के र ? मिस्टर धवनका छोराछोरीको थाङ्ना धुनुको साटो तिम्रा छोराछोरीको धुन्थेँ। - त के यो सब मेहनत केटाकेटीको थाङ्ना धुनलाई मात्र हो त ? - संसारभरीका विवाहित महिलाहरूको अनुभवले त त्यही बताउँछ। - तिम्रो आफ्नो अनुभवले चाहिँ के बताउँछ ? - म संसारबाहिर त छैन नि। - विश्वासै लाग्दैन। एउटी आइएएस अफिसरलाई पनि केटाकेटीका थाङ्ना धुनुपर्छ। - श्रीमान्जी, आइ.ए.एस. होस् या आइ.पी.एस., एउटी महिलाले बिहे गरेपछि उसको पहिलो भूमिका पत्नीको र त्यसपछि आमाको हुन्छ। यी भूमिकाहरूपछिमात्र अफिसका लागि निस्कन पाउछन् उनीहरू। तिमी नै भन, यदि तिमीसँगै पढाइरहँदा वा त्यहीँ भइरहँदा पनि यी सबै कुराबाट छुटकारा पाउँथेँ त मैले ? - ठीक भन्यौ। म तिमीबाट यस्ता कामहरू गराउँदिनथेँ। भन त, तिमी मेरा कोठामा आएका बेला कफी कसले बनाउँथ्यो ? - होस् छाडिदेऊ। दुईचारपल्ट कफी बनाएर खुवायौ होला, जिन्दगीभरिलाई कथा सुनाउन पुग्ने भो। - अँ एउटा कुरा भन त तिम्रो चस्मा अहिले पनि नाकबाट तलतिर सर्छ कि टाइट गरायौ ? - छैन। मेरो नाक त्यस्तै छ र जति नै महगो चस्मा किने पनि नाकबाट चिप्लिहाल्छ। - नकचरी थियौ नि त ! - के रे ? - कसम खाउँला। तिम्रो नाकका नखराहरू त जगजाहेर थिए। - तर तिम्रो नाकभन्दा कम। जतिबेला हेर्यो गङ्गा-जमुनाको अविरल प्रवाह। अहिले त्यो सर्दी छ कि छैन ? - त्यस्तै छ। - केही औषधि किन लिँदैनौ ? - तिमीलाई त थाहा छ नि, हैन? दबाई खायो भने सर्दी सात दिनमा जाती हुन्छ, खाएन भने एक हप्तामा। अनि दबाई खाएर के फाइदा ? - तिमी जन्मजात कन्जुस न हौ। सर्दी तिमीलाई लाग्थ्यो तर मेरा रुमालहरू सहिद हुन्थे। अहिले पनि तिम्रो कन्जुसीमा केही कमी आएजस्तो लाग्दैन। तिमीसँग बिहे गरेको भए त मलाई भोकै मार्ने रहेछौ। - छाडिदेऊ यी कुरा। जहिल्यै मेरा प्लेटका समोसा पनि खाइदिन्थ्यौ। - खुब आयौ, समोसा खुवाउने। अर्डर त तिमी नै दिन्थ्यौ तर बिल मलाई नै तिराउँथ्यौ। - अँ ! एउटा कुरा भन न। त्यस दिन म फर्किएपछि तिम्री आमाले साँच्चै विष खाएको हो वा तिमीलाई ब्ल्याकमेल गर्ने नाटक थियो त्यो ? मबाट टाढा राख्ने रामबाण उपाय ? - छाडिदेऊ यी सब कुरा। अब त मम्मी यस दुनियाँमा हुनुहुन्न। - ओह ! सरी ल। मलाई थाहा थिएन। अरू को हुनुहुन्छ घरमा ? - तिमी जासुसी गर्छौ। थाहा होला नि, हैन ? - त्यस्तो केही हैन। तिम्रै मुखबाट सुन्न चाहेको हुँ। - जेठी छोरी अनन्या एम.बी.ए दोस्रो वर्षमा छे। ऊभन्दा कान्छो छोरा छ दीपङ्कर। आइ.आइ.टी.मा इन्जिनियरिङ गर्दै छ। - अनि मिस्टर धवन कहाँ हुनुहुन्छ अचेल ? - वर्ल्ड बैङ्कमा डेप्युटेसनमा हुनुहुन्छ। - खुसी छौ नि हैन ? - बेकारको प्रश्न हो यो। - किन ? - पहिलो कुरा त कुनै पनि विवाहिता महिलालाई यसरी प्रश्न सोधिँदैन, जतिसुकै नजिक भए पनि। अनि फेरि, बिहेको बीस वर्षपछाडि यस्तो प्रश्नको कुनै अर्थ हुन्न। अब हामी सुखदुःख हेर्दैनौँ। पतिपत्नीले एकअर्काका राम्रा-नराम्रा आनीबानीसित एडजस्ट गर्ने कत्तिको बानी बसालेछन् भन्ने कुरामात्र हेर्छौँ। तिमी भन तिम्रो कथा योभन्दा केही फरक छ कि ? - मसँग भन्नलायक केही छैन। - किन ? सुनेको थिएँ, मेरो विवाहको एक वर्षपछि नै तिम्रो पनि भीडैभीडको बजारमा बरियात निस्केको थियो र तिमीले चन्द्रमाजस्ती दुलही भित्र्याएका थियौ। कस्ती छन् तिम्री चन्द्रमुखी ? - अब कहाँकी चन्द्रमुखी र कस्ती चन्द्रमुखी। - के मतलब ? - मेरो बिहे एउटा दुर्घटना थियो। मात्रै दुई-अढाई महिना चल्यो। - त्यस्तो के भएको थियो ? - उसको बिहे पहिलेदेखि नै आफ्नो भिनाजुसँग अफेयर रहेछ। उसको बिहे पनि दिदीको घर बचोस् भन्ने उद्देश्यले भएको रहेछ। तर ऊ बिहेपछि पनि लुक्दैछिप्दै भिनाजुलाई भेट्न गइरहन्थी। मैले पनि उसलाई निकै सम्झाएँ तर सब बेकार। यता मैले पारचुकेका लागि निवेदन दिँदा उसकी दिदीले आत्महत्या गरिसकेकी थिइन्। दुई परिवार एकै दिन भत्किएका थिए। - ओह ! मलाई त थाहा थिएन तिमी यति ठूलो दुर्घटनाको सिकार भयौ। अचेल कहाँ छ त ? - सुरुसुरुमा त सीधै भिनाजुको घरमा गएर बसी। पछि थाहा लाग्यो बहुलाई अरे। साँच्चै तिमीलाई थाहा थिएन ? - साँच्चै थाहा थिएन। तिम्रो बिहेको खबरमात्र पाएकी थिएँ। मलाई राम्रो लागेको थियो यस अर्थमा कि तिमीले पनि अब एक्लै बस्नुपर्ने छैन। तर तिमीलाई यस्तो घटना आइपर्छ भन्ने कुनै सोच नै थिएन। फेरि घर बसाएनौ ? छोराछोरी ? - मेरा भागमा दुईवटा दुर्घटना मात्र परेका थिए। न प्रेम सफल भयो न बिहे। तेस्रो घटनाका रेखाहरू मेरा हातमा छैनन्।
- हेलो ! - हुँ.... - किन चुप लाग्यौ ? - केही सोचिरहेकी थिएँ। - के ? - यही कि किन हामीलाई हामीले कहिल्यै नगरेका अपराधको सजाय दिइन्छ ? कुनै एउटा मान्छेको जिद्दीले कैँयन् परिवारहरू मासिन्छन्, भत्किन्छन्। - होस् । छाडिदेऊ दीप्ति, यी सब कुरा मेरा भागमा परेपछि म कसरी बच्न सक्थेँ र ? अब भन न त तिमीसँग भेट हुन सक्छ ? त्यत्तिकै एकछिनका लागि। यति नै सम्झ धेरै समयपछि तिमीलाई अघाउन्जेल हेर्न चाहन्छु। - अहँ हुन्न। - किन ? - हुन्न। त्यत्तिकै हुन्न। - दीप्ति, तिमीलाई राम्ररी थाहा छ, अब न म तिम्रो जिन्दगीमा आउन सक्छु न तिमीले मेरा बारेमा केही भ्रम पालेर बस्न सक्छ्यौ। मेरा त केही भ्रम पनि थिएनन्। म यी सब कुराबाट निकै पहिले नै मुक्त भैसकेँ। - सायद यिनै कारणहरूले म भेट्न चाहन्नँ। - के हामी दुई परिचितसरह एक कप कफीका लागि पनि भेट्न सक्तैनौँ ? - अहँ। - कारण थाहा पाउन सक्छु ? - मलाई थाहा छ, र सायद तिमी पनि जान्दछौ आज हामी मित्रका रूपमा मात्र भेट गर्न सक्तैनौँ। हुनै सक्तैन। थामिन नसकिएला। यहाँ एकपल्ट भेटेर कफी पिउने मात्र कुरा होइन। म तिमीलाई राम्ररी चिन्दछु। तिमीले यत्रा दुर्घटना झेलिसक्यौ, सायद अझै झेलौला, तर म आफूलाई सम्हाल्न सक्तिनँ। म कमजोर छु। आफूलाई सम्हाल्न मलाई जहिल्यै गाह्रो परेको छ। - म तिमीलाई कुनै हालतमा कमजोर हुन दिन्नँ। - यही कुरो त म चाहन्नँ। आफूलाई सम्हाल्न म तिम्रो काँधको सहारा लिन चाहन्नँ। - यदि मैले तिमीलाई नभनी सिधै तिम्रो अफिसमा आएको भए ? - हाम्रो अफिसमा पहिले रिसेप्सनमा आफ्नो नाम र ठेगाना भनेपछि, भेट्न चाहेको कारण पनि बताउनुपर्छ। अनि त्यसपछि हामीलाई सोधिन्छ, आगन्तुकलाई भित्र आउन दिने कि नदिने भनेर। - ठीकै त हो। तपाईँ हुनुभयो यति ठूलो मन्त्रालयकी संयुक्त सचिवस्तरकी अफिसर, म एउटा झुत्रे मास्टर। अब कोही ऐरेगैरेले त...। - बस ! चुप लाग प्लिज ! मलाई गलत नसम्झ। यसमा कुनै कुरा अफिसियल छैन। फेरि यसबीचमा तिमीलाई नसम्झेको या मिस नगरेको पनि होइन। साँच्चै भन्नुपर्दा मेरो जिन्दगीका सुनौला क्षणहरू तिमीसँग मात्र बितेका छन्। सायद जिन्दगीका अर्थपूर्ण दिनहरू ती दिनहरू नै थिए। आइ.ए.एस.को तयारीदेखि लिएर नितान्त एक्ला क्षणहरूमा पनि मैले तिमीलाई आफ्नो छेउमा पाएकी छु। वास्तवमा अझै पनि तिमीसँग केही न केही कतै न कतै लगाव महसुस गर्छु भलै त्यस सम्बन्धलाई केही नाम दिन नसकुँ या त्यसमै जोडिएर बाँच्न नसकुँ। संस्कारले यो अनुमति दिएनन्। हेलो.... सुन्दै छौ नि हैन..? - अँ अँ.. भन्दै जाऊ। - त्यसैले यतिका वर्षपछि म तिम्रो सामना गर्न सक्तिनँ। मलाई बुझ्ने कोसिस गर प्लिज !
- ठीकै छ। नभेटौँला। आमनेसामने नभए पनि टाढाबाट, या अलिक छेउबाट तिमीलाई हेर्ने हक त मसित छ। म पनि त हेरूँ, तिम्रो चस्मा अझै किन चिप्लिन्छ ! पहिलेजस्तो त्यसलाई माथि सार्न नपाए पनि कम्तीमा हेर्न त सकूँ। अनि मेरी मित्र जोइन्ट सेक्रेटरी बनेपछि कस्ती देखिएकी छिन् त्यो पनि त हेरूँ। - कमसे कम उनका टाउकामा सिङ त उम्रेका छैनन्। - हेर्दैमा के बिग्रन्छ र ? - जतिबेला मलाई साँच्चै तिम्रो आवश्यकता थियो र तिमीले मलाई भेट्न आउनुपर्थ्यो, त्यसबेला मेरो वास्ता गरेनौ र अहिले.....। - यो कुरा छादिदेऊ कि म तिमीसँग भेट्न साँच्चै सिरियस थिएँ या थिइनँ। वास्तवमा भन्ने हो भने तिम्रो बिहे निधो भएपछि अचानक एउटै झट्कामा तिमीले सबै सम्बन्ध काट्यौ। - नढाँट है, म बिहे गरेपछि पनि तिमीसँग भेट्न आएकी थिएँ। - अँ, आफ्नो मङ्गलसूत्र र बिहेका राता चूराहरू देखाउन र भन्न ‘म तिम्री दीप्ति हैन, मिसेज धवन हुं। कसैकी श्रीमती।‘ - मलाई गाली नगर है। तिमीलाई सबै कुरा थाहा थियो र तिमीले स्तिथिलाई जस्ताको तस्तै स्वीकार पनि गरेका थियौ। म तिम्रा लागि कोही नभए जस्तो। - स्वीकार नगरेर के गर्थेँ र। मेरो प्रस्तावमा तिम्री आमाको विष खाने नाटक तिम्रो अचानक आत्मसमर्पण। मेरो मात्रै किन, जोसुकैको पनि हृदय पगालिदिन्थ्यो। - तिमीले एकपल्ट त आफ्नो पौरुष देखाउन सक्थ्यौ। म पनि भन्न सक्थेँ मेरो छनोट गलत छैन। - के फिल्मी स्टाइलमा तिम्रो अपरहरण गर्नुपर्थ्यो वा मजनूझैँ तिम्रा चौखटमा टाउको ठोकेर आफ्नो ज्यान दिनुपर्थ्यो ? - अब गाडिएका मुर्दा किन खन्न थाल्यौ ? बीस वर्षभित्रका यिनै कुरा सुनाउनका लागि फोन गरेको ? - मेरो त इच्छा थिएन। तिमीले नै.....। - तिमी अरू कुनै कुरा पनि त गर्न सक्थ्यौ। - गर्नलाई त यति कुराहरू छन्, बीस वर्षअगाडिका, बीस वर्षबीचका, कति राम्रो लाग्थ्यो सामुन्ने बसेर कुरा गर्दा। तर ठीकै छ म त्यसका लागि जबरजस्ती गर्दिनँ। - जिद्दी नगर न। अब म तिम्री दीप्तिमात्र त रहिनँ। सबै कुरा....हेराइ... - ल ठीक छ। सि यु सुन। फोन राखेँ है त...।
- भेट गर्ने कल्पनाचाहिँ छाडिदेऊ है महाशय । एनी वे सो नाइस अफ यु फर कलिङ आफ्टर सच ए अ लङ पिरियड। इट वाज ए प्लेजन्ट सर्प्राइज। तिमीसँग कुरा गर्दा समय बितेको थाहै भएन। मलाई अहिले अर्जेन्ट मिटिङमा जानु छ। पेपरहरू पनि हेर्नु छ। तर तिमी त रुपैयाँको ढ्याक छैन भन्दै थ्यौ त, बीस मिनेटसम्म तिमीले पी.सी.ओ.बाट त कुरा गरेनौ होला। कहाँबाट बोल्दै छौ ? - छाडिदेऊ न है, त्यसो त मलाई पनि अर्जेन्ट मिटिङमै जानु छ। - त्यसो भए कुनै मिटिङकै लागि आएका यहाँ ? - अँ, आएको त त्यसैका लागि हो। सोचेको थिएँ यसै बहानामा तिमीसँग पनि....। - कहाँ छ तिम्रो मिटिङ ? - ठ्याक्कै त्यही ठाउँमा जहाँ तिम्रो मिटिङ छ। - के अरे ? - कुरा सीधा छ डियर, तिम्रै विभागले हाम्रो युनिभर्सिटीको नन-कन्भेन्सनल इनर्जी सिसोर्सेजको प्रोजेक्टका बारेमा कुरा गर्नलाई हाम्रो टिमलाई बोलाएको छ। यसमा महत्त्वपूर्ण खबर के छ भने यो प्रोजेक्ट मेरै अधीनमा चल्दै छ। तिमीले नै यस केसलाई डिल गर्दै छौ भन्ने कुराचाहिँ यहीँ आएर चाल पाएको र......। - ओह गड। आइ जस्ट कान्ट बिलिभ इट। अब के हुन्छ। तिमीले पहिले नै किन नबताएको ? यत्रो बेरदेखि मूर्ख बनाइराखेका थियौ र ......। - रिल्याक्स डियर, रिल्याक्स। तिमीले सुर्ता गर्नै पर्दैन। म त्यहाँ यस्तो एक्टिङ गरूँला कि तिमीसँग जिन्दगीमा पहिलो र अन्तिम पटक भेट्दै छु। एउटा कुराको चाहिँ ध्यान राख्नू, मिटिङमा आउँदा चस्मा टाइट गरेर मात्र आउनू। - यु चिट ......।
हिन्दीबाट अनुवादः कुमुद अधिकारी |
![]() |
१४ मार्च १९५२ मा देहरादूनमा जन्मनुभएका श्री सूरज प्रकाशले सन् १९८७ बाट विधिवत् लेखनयात्रा प्रारम्भ गर्नुभयो। उहाँको तीनवटा कथासङ्ग्रहमध्ये 'अधूरी तसवीर' लाई गुजरात साहित्य अकादमी पुरस्कारबाट सम्मानित गरिएको छ। उहाँका अन्य प्रकाशनहरू मा उपन्यास दुईवटा ( हादशों के बीच र देश विराना), व्यङ्ग सङ्ग्रहमा 'जरा संभल के चलो' र दर्जनौँ अनुवादहरू छन्। अनुवादहरूमध्ये चर्चित जर्ज अरवेलको एनिमल फार्म र चार्ली च्याप्लीनको आत्मकथा रहेका छन्। सम्पर्कः kathakar@rediffmail.com |