Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

--मनोज तपस्वी

 

घाम चुहुने, जून चुहुने छानो राम्रो हाम्रो घरको

पसिनाले नभरिने मानो राम्रो हाम्रो घरको

 

साहुको खेतमा लहलह फल्या धानको के कुरा भो

सिला-साङ्ला बटुलेको दानो राम्रो हाम्रो घरको

 

हरेक बिहान एउटा ऐना फुट्छ हजुर के गर्नु र

खुकुरीले भाग्य गिँड्ने अचानो राम्रो हाम्रो घरको

 

जहिलेसुकै अभावको आँधीहुरी चलिदिँदा

पालैपालो छुटिदिँदा भक्कानो राम्रो हाम्रो घरको।

 

२०४४ साल असार ३ गते हर्कटे इलाममा जन्मी हाल अनारमनी बिर्तामोडमा बसोबास गर्ने श्री मनोज तपस्वी, कथा, गजल र कविता सिर्जना गर्नुहुन्छ। उहाँको संलग्नता प्रेस चौतारी, झापा, नेपाली गणतान्त्रिक साहित्यिक अभियान झापा, जिल्ला गजलमञ्च झापा र भेटघाट चौतारी, बिर्तामोडमा रहेको छ। सम्पर्कः tapasvi138@yahoo.com