|
|
|
|
ढाका --सुमन पोखरेल ढाकाले आफ्ना आँखालाई एन.जी.ओ.हरूका अग्ला भवनका टल्किने झ्यालमा राखेर तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वभिमान र अधिकारतिर हेर्छ वा च्यातिएका छानाबाट तारा र जूनजस्ता रहर हेर्ने झुपडपट्टिका केटाकेटीका सपनामा ओछ्याएर माथि आकाशतिर हेर्छ बुझ्न सकिनँ ।
थाह पाइनँ मैले, ढाकाले आफ्नो उपस्थितिलाई आन्दोलित मजदुरको जुलुसमा पिल्सिएर मर्माहत ढलेको घाइते बृद्धको च्यातिएको कमेजभित्र पाउँछ वा भवनको अनुपमेय वास्तुकलाले छोपिएर तर्क, विरोध र दर्शनको बाढीमा डुबेको संसदभित्र देख्छ ।
टायर जलेको धुवाँमा केके उडिरहेथ्यो ट्राफिक जाममा रोकिएर समय कहाँकहाँ नपुगिरहेथ्यो ठम्याउन सकिनँ मैले ।
जब भोका बालबालिका साँझ सडकमा फूलभन्दा कोमल हात पसारेर आफ्ना बाल्यकालको मूल्यमा विश्वको भविष्य बेचिरहेथे, कहाँ पुग्न त्यसरी अन्धवेगले दौडिरहेथे मोटरका कन्भोएहरू, कुन उत्सवको खुसियालीमा नाचिरहेथ्यो मोटरमा टाँगिएको झन्डा मैले बुझ्न सकिनँ ।
सोध्नु थियो मैले कसैलाई, त्यो डेढ करोडको भीड बीचबाट सायद, कसैले भनिदिन पनि सक्थ्यो, तर सोधिनँ ।
उभिएर निरन्तर हेरिरहँदा पनि ठम्याउन सकिनँ मैले ढाका कुन बाटो कता जाँदै थियो -
केवल अनुमानमा चित्त बुझाएँ ऊ पनि आफ्नै अनुहार नचिनेर टोलाइरहेथ्यो कुनै दलदलमा टेकेर चारैतिर हिँड्न खोजिरहेथ्यो विरोधाभासमा उभिएर कतै जाऊँ कि नजाऊँ गरिरहेथ्यो ।
उसको नियति पनि ठ्याक्कै काठमाडौँकै जस्तो थियो ।
बुद्धबिहारमार्ग, विराटनगर। |
![]() |
प्लान नेपाल विराटनगरमा कार्यरत श्री सुमन पोखरेल विशेषतः गीत र कविता कोर्न रुचाउनुहुन्छ। उहाँको कवितासङ्ग्रह 'शून्य मुटको धडकन' गीतिसङ्ग्रह 'हजार आँखा यी आँखामा' प्रकाशित छन् । सम्पर्कः suman_pokhrel@hotmail.com. |