|
|
|
|
अर्को जन्म भए फेरि --दैवज्ञराज न्यौपाने
हिमालमुनिको अग्लो पहाडी रसिलो धरा जहाँ सुन्दर आफैँमा रहोस् प्राकृत शृङ्खला प्रजातन्त्र फुलेको होस् लटरम्म सधैँभर अर्को जन्म भए फेरि पाऊँ नेपाल सुन्दर।
खोलो होस् नजिकै राम्रो बगाइ नित्य शुद्ध होस् खुलासा दिलका निम्ति व्यवधान कुनै नहोस् रहोस् सम्पन्न आफैँमा फैलेको प्रकृति छटा अर्को जन्म भए फेरि म पाऊँ त्यसमै छटा।
सबैको जय होस् किन्तु कडा दुर्दिन नै नहोस् मिली सामन्तले चुस्ने खाल्टो अन्यायको नहोस् नहोस् अत्यास क्यै यस्तो पार्ने मानव बेपत्ता अर्को जन्म भए फेरि रहोस् नेपाल सर्वदा।
प्रजातन्त्र भए राम्रो जनता हक पाउँछन् मर्यादा देशको हुन्छ सबै मित्र रमाउँछन् उद्योग भरिँदा राम्रो देशले सुख पाउँछ अर्को जन्म भए फेरि त्यसैमा फुल्न चाह छ।
जहाँ सत्सङ्गको राम्रो सधैँ मङ्गलमार्ग होस् आफ्ना गल्ती भए केही सुधार्ने सविधा मिलोस् रूप कालुष्यको छैन प्रेमका परिवारमा अर्को जन्म भए फेरि मेरो जन्म हओस् त्यहाँ।
वर्गभेद हुने अर्को जातिभेद त्यहाँ नहोस् हुन्छ भेद भने खालि योग्यताभेदमात्र होस् त्यसैका शुद्ध हावामा हाँसी नीड बनाउन अर्को जन्म भए फेरि पाऊँ त्यै ठाउँ जन्मिन।
माथि हिमचुली रेखा शैल होलान् गरागरा पहाडी शृङ्खला राम्रा अझ सुन्दर टाकुरा कुनै सहर या गाउँ हेर्दै सुन्दर ठाउँमा अर्को जन्म भए फेरि मेरो जन्म हओस् त्यहाँ।
जहाँ शिक्षा छ फैलेको व्यवस्था स्वास्थ्य माथि छ अभेद काममा हुन्छ व्यवहार पवित्र छ महिमा सत्यको हुन्छ दुष्कर्म गर्न बन्द छ अर्को जन्म भए फेरि त्यसैमा रम्न चाह छ।
केटाकेटी र बूढाको जहाँ सम्मान बन्दछ जहाँ मानवतानिम्ति चासो सर्वत्र व्याप्त छ भेदभाव कतै हुन्न सबैमा न्याय पुग्दछ अर्को जन्म भए फेरि चासो पुग्न मलाई छ।
उच्च होस् विधि आफैँमा व्यवहार पवित्र होस् सबैको काम होस् राम्रो कसैको कुभलो नहोस्
यस्तो
काम हुने ठाउँ जहाँ सुन्दर शान्त छ
मलाई स्वर्ग चाहिन्न बने नेपाल पुग्दछ बिग्रिए घरका मान्छे मलाई दुःख लाग्दछ त्यसैले भिन्नता हैन सबैमा मेल बृद्धि होस् अर्को जन्म भए फेरि मेरो नेपाल जन्म होस्।
‘गरिमा‘ बाट साभार। |
|
|
वि.स. २००४ मङ्सिर ३० गोगने भोजपुरमा जन्मनुभएका श्री दैवज्ञराज न्यौपाने का प्रकाशित कृतिहरूमा सिर्जनाका लहर, जोरमुरली ( कविता सङ्ग्रह) तोतेबोली, गाउँखाने कविता (बाल कवितासङ्ग्रह) आदि छन्। उहाँ राष्ट्रिय युवा मोती पुरस्कार का साथै विभिन्न साहित्यिक पुरस्कारहरूबाट पुरस्कृत हुनुहुन्छ। |