Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


चिनापर्ची

--कन्हैयालाल कपूर

 

गाउँबाट एकजना व्यक्ति आएका छन्, केही दिन भो। एकदिन मलाई सोधे - ‘खान अकडबाज खाँ सब-इन्सपेक्टर भएको पुलिस स्टेसन कहाँ छ, थाहा छ ?‘

‘थाहा छैन।‘ मैले भनेँ।

‘हवलदार तलवारसिंहसित परिचय छ ?‘

‘छैन।‘

‘श्यामलाल सिपाहीलाई चिन्छौ ?‘

‘अहँ चिन्दिनँ।‘ मेरो उत्तर सुनेर उनले झर्किँदै भने - ‘खत्तम भो, जहाज डुब्यो।‘

मैले भनेँ - ‘कसको?‘

उनले भने- ‘तिम्रो, मेरो र अख्तरको।‘

मैले सशङ्कित हुँदै सोधेँ - ‘कुरा के हो ?‘

उनले निधारको चिटचिट पसीनालाई पुछ्दै भने -‘अख्तरको स्वभाव तिमीलाई थाहै छ। दिनदिनै झगडा नगरी ऊ बस्‍नै सक्तैन। अस्ति आफ्नै मालिकलाई छुराले हानेछ। पुलिस छानबिन गर्दैछ। मैले साचेँ तिम्रो पुलिसहरूसँग चिनजान छ होला, भनसुन गरेर मिलाउँला भन्ने थियो तर तिमीले त मेरो जहाजै डुबाइदियौ।‘

मैले गम्भीर हुँदै भनेँ -‘लाहौरमा केवल दुईजनालाई मात्र म चिन्छु- एउटा मातादिन पानवाला र अर्को चिरञ्जीवीलाल धोबी ।‘

 उनले फेरि एकपल्ट झर्किँदै भने- ‘खत्तम भो, जहाज डुब्यो।‘ र उनी विदा भए।

 तीन हप्तापछि फेरि मेरो सामु प्रकट भए र प्रश्न गरे - ‘हीरालाल जजलाई चिन्छौ?‘

‘अहँ !‘ मैले भनेँ।

‘मोतीलाल रिडरसँग परिचय छ ?‘

‘छैन।‘

‘चाँदीलाल चपरासीलाई सिफारिस गर्न सक्छौ ?‘

‘सक्तिनँ।‘

क्रोधित भई भुतभुताउँदै उनी हिँडे।

 

उनी हिंडेपछि मलाई आफ्ने सीमित जानपहिचान प्रति साँच्चै आश्चर्य लाग्यो। मैले सोचेँ- ‘आज त अख्तरको मामला हो, कुरा आयो र सकियो तर भोलि कथंकदाचित मलाई नै कुनै समस्या आयो भने ?‘ धेरैबेर सोचेपछि म यो निष्कर्षमा पुगेँ कि अब भएन, आफ्नो परिचयको क्रम बढाउनु पर्‍यो। मेरो छिमेकमा एकजना जजसाहेब बस्छन्, उनैसित परिचय गाँसेर श्रीगणंश गर्नुपर्‍यो।‘ यस्तो सोची अर्को दिन छुट्टी परेकाले बिहानै उनको घरमा पुगेँ। भिजिटिङ कार्ड दिएँ। वेटिङ्रुममा जहाँ पहिलेदेखि नै अरू मान्छे विराजमान थिए, मलाई पनि त्यहीँ बसाइयो। समाचारपत्रका पन्नाहरू पल्टाएँ, धेरै हाई काढेँ। एकबट्टा सिगरेट पनि खत्तम भो, पालो आउँदैन। जब सबै अरू आगन्तुकहरू भेट गरेर त्यहाँबाट विदा भए तब अन्तिममा मेरो पालो आयो। कोठाभित्र प्रवेश गर्नासाथ झुकेर अभिवादन गरेँ। जजसाहेबले चस्मा उतारे। एक सेकेन्ड म तर्फ दृष्टि दिए, चस्मा लगाए।  कुर्सीमा बस्‍नलाई इसारा गरे। फेरि चस्मा खोलेर हातमा लिए अनि सोधे - ‘भन्नुहोस् !‘

मैले मुस्कुराउँदै भनेँ - ‘किन आउनु भो कोनि ?‘

‘त्यत्तिकै, यसो पसेको।‘

निकैबेरसम्म दुवै चुपचाप बसिरह्यौँ। झट्ट मलाई याद आयो अब विषय बदल्नुपर्छ। मैले भनेँ- ‘धेर गर्मी छ, हैन हजुर ?‘

‘अँ !‘

‘लाहौरको गर्मीबाट ईश्वरले बचाउन्।‘

‘अँ!‘

‘तर हजुर ! लाहौरको जाडो त गर्मीमाभन्दा बढी कष्टकर हुन्छ।‘

‘अँ!

उनले निधार खुम्च्याउँदै भने - अब मात्रै सुख्खा मौसमको कुरा बाँकी छ होला, त्यसबारे पनि केही बोलिहाल्ने कि ?

मैल सादर निवेदन गरेँ - हजुर ! वसन्त ऋतुलाई त यहाँले भुलिहाल्नु भयो नि !

केही बेर फेरि मौनता छायो। मैले सोचेँ अब फेरि प्रसङ्ग बदल्नु पर्‍यो।

आखिर युद्ध समाप्त भैकन छोड्यो होइन हजुर ?

हो !

आखिर सद्दामलाई पक्रिकन छोडे।

हो !

आखिर अस्ट्रेलिया टिमले जितिकन छाडे।

उनले अलि रिसाएर भने -कामको कुरा गर्नोस्।

मैले अनुरोध गरेँ - हजुरलाई मेरो कुरा मन परेन भने हजुरले नै सुनाउँदा हुन्छ नि केही !

मलाई तपाईँको जस्तो फाल्तु कुरा गर्ने फुर्सत छैन।

मैले प्रसन्न हुँदै भनेँ- यसो भन्दा भयो, हजुरलाई कुराहरू बनाउन आउँदो रहेनछ होइन हजुर ?

उनले झर्को मान्दै भने -तपाईँले भन्न के खोजेको ?

केही होइन। मैले कुरालाई बङ्ग्याउँदै भने- सुन्नुहोस् हजुलाई एउटा रमाइलो कुरा सुनाउँछु। हाम्रो मुहल्लामा मेरो मतलब हजुर पनि जहाँ हुनुहुन्छ, यही ठाउँमा मतादीन पानवालाको दोकान छ। उसले एउटा बाख्रो पालेको छ जसका पाँचवटा खुट्टा छन्। यहाँले मलाई लाग्छ त्यो बाख्रोलाई देख्‍नु भएको छैन होला। सुनिन्छ त्यो बाख्रोले तीन सेर दूध.........

माफ गर्नुहोस् ! मसँग फाल्तु समय छैन। तपाईँ कृपया जान सक्नुहुन्छ।

हुन्छ, हुन्छ तर कहिलेकाहीँ भेटघाट चाहिँ भैरहोस है। मेरो घर नजिकै छ। मातादीन पानवालालाई सोधे भैहाल्छ।

उनी भुत्भुताउँदै थिए, म लज्जित हुँदै कोठाबाट छिटोछिटो बाहिरिएँ।

जजसाहेबसँग छाँटकाँट बन्ने नदेखेपछि म त्यसपछि पुलिसस्टेसनतर्फ लम्किएँ। सोचेँ, पुलिसवालाहरू धेरै काम लाग्छन्, उनीहरूसँगै मित्रता बढाउनुपर्‍यो। भित्र पसेँ, हवलदारलाई सलाम गरेपछि उनले बोलीको पत्थर फ्याँके- तपाईँ को ? यहाँ किन आउनुभो ?

मैले निवेदन गरेँ - इन्सपेक्टर साहेबलाई भेट्न चाहन्थेँ, त्यसैले।

तपाईँको नाम ? नाम भनेँ।

बाउको नाम ?, जाति, पेसा, निवासस्थान ?

मैले भनेँ यो सब नसोध्नुहोस् म त खालि इन्सपेक्टर साहेबसँग दुईचार मिनेटक कुरा गर्न चाहन्छु।

ठीक छ ! म खबर पुर्‍याइदिन्छु।

बोलावट आयो त्यसपछि इन्सपेक्टर साहेबको कोठाभित्र पस्दै झुकेर सलाम गरेँ र कुराकानीको प्रारम्भ यसरी गरेँ - इन्सपेक्टरसाहेब, हजुरको पेसा पनि अचम्मकै छ हगि ? खाली चोर, बदमास आदिसँग समय बिताउनुपर्छ।

उनी अलि अप्रशन्न भए र भने- सधैँ होइन। अहिले तपाईँभन्दा अघि ठूला-ठूला मान्छेहरूसँग कुरा गर्दै थिएँ।

मैले विस्तारै भनेँ- म शिक्षाविभागमा काम गर्छु। शिक्षाविभाग अलि छुट्टै खालको विशिष्ट विभाग हो।

तपाईँ यहाँ के कामका लागि पाल्नुभयो त ?

इन्स्पेक्टरसाहव ! म तपाईँसँग एउटा कुरा सोधिहालुँ। मानौँ मेरो कुनै साथीले ख्यालख्यालमा, मेरो मतलब रिसाएको बेलामा कसैको हत्या गर्‍यो अरे! अब तपाईँ कस्तो पाइला चाल्नुहुन्छ ?

म उसलाई जेरदफा ३०२ ताजीराते हिन्द गिरफ्तार गर्छु।

हेर्नुस् इन्स्पेक्टरसाहब, भगवानको लागि तपाईँ यस्तो नगर्नुहोला कमसेकम त्यो मेरो मित्र हो यो काराली बिर्सिनुभएन नि ! म शिक्षाविबागमा काम गर्छु र शिक्षा विभाग भनेको विशिष्ट........

कर्तव्य, कर्तव्य हो नि। उनले कडा स्वरमा भने।

त्यसो होइन इन्सपेक्टरसाहेब ! तपाई वचन दिनुहोस् मलाई कि उसलाई तपाईँ केही गर्नुहुने छैन। र, म यो वचन तपाईँलाई दनिछु कि प्रिन्सिपलसाहेबलाई भनेर तपाईँको छोराको स्कुलको फिस आधा घटाइदिनेछु।

मलाई यस्तो भीख चाहिँदैन। तपाईँ मलाई यो भन्नुहोस् कि हत्यारा को हो ? यसबेला ऊ कहाँ छ र घटना कहाँ भएको हो ?

इन्सपेक्टसाहेब ! तपाईँ पनि अचम्मको मान्छे हुनुहुन्छ। म त यस्तो अपराधको बारेमा कुरो गरिरहेको थिएँ जुन अहिलेसम्म भएकै छैन अनि तफाईँ चैँ अपराधीलाई फाँसीमा झुण्ड्याउने तयारीमा हुनुहुन्छ।

यस्तो कुरा हो भने तपाईँ मेरो समय व्यर्थमा नष्ट गर्दै हुनुहुन्छ।

ल भइहाल्यो। म कोसिस गर्छु, छोराको जम्मै फिस मिनाहा गर्ने। यो गर्न तयार हुनुहुन्छ त ?

व्यर्थमा मेरो समय किन बर्वाद गर्ने, जानुस् तपाईँ तुरुन्त बाहिर जानुस्।

म हतारहतार त्यहाँबाट उठेँ।

पुलिसस्टेसनबाट घरतिर आउँदै थिएँ। बाटामा पागलखाना पर्थ्यो। मैले सोचेँ- जाऊँ, पागलखाना कै डाक्टरसँग परिचय बढाऊँ न त। कहिले कतै कोही आफन्त नै पागल भए भने काम लाग्छ।

डाक्टरको कोठामा पुगेँ, नमस्कार आदानप्रदान भयो। उनले सोधे- तपाईँ यहाँ के कामले आउनुभो ? कुनै आफन्तसँग भेटघाट गर्नु छ कि ?

मैले भनेँ -म त तपाईँसँग भेट गर्न आएको !

भन्नुस्।

डाक्टरसाहेब ! यदि मेरो कुनै लेखक मित्र पागल भई, म प्रेमचन्द हुँ, म टेगोर हुँ, म कालिदास हुँ भन्दै कराउन थाल्यो भने तपाई उसलाई कस्तो किसिमको उपचार गर्नुहुन्छ ?

पहिले त म उसलाई प्यारो गरेर सम्झाउँदै भन्छु नानु ! तिमी प्रेमचन्द होइन दुलिचन्द हौ।

तर उसले मानेन भने ?

त्यसपछि म उसलाई कोर्रा हान्छु।

यस्तो चाहिँ नगर्नुहोला डाक्टरसाहेब, बिचरा लेखक पहिले नै अधमरा हुन्छन्।

तपाईँलाई थाहा छैन होला कि पागलहरू कोर्राको भाषा मात्रै बुझ्छन्।

के तपाईँ उसलाई सम्स-उल-उलेमा या महामहोपाध्यायको उपाधि दिलाउन सक्नुहुन्न ?

तपाईँ त अचम्मको कुरा गर्नुहुन्छ।

म अचम्मको कुरा गर्दैछु कि तपाईँ, अरूलाई पनि सोध्नुहोस् त !

कसलाई सोधुँ ? यहाँ त पागलमात्रै छन्।

पागलहरू धेरै समझदार हुन्छन्, डाक्टरसाहेब ! सेक्सपियरले भनेको छ प्रेमी, कवि र पागल एउटै थैलीका गोला हुन्।

डाक्टरले बडो अर्थपूर्ण नजरले मलाई हेरे र विस्तारै भने- अँ हो ! थोरै अगाडि सर्नुस् त अनि मलाई एकछिन तपाईँको आँखामा हेर्न दिनुहोस् है।

मैले भनेँ- अरे ! मसँगै किन आँखा लडाउने, अरू नै कुनै राम्रै चीजसँग आँखा लडाउनु नि !

डाक्टरसाहेबले हाउभाउ परिवर्तन गर्दै भने- तपाईँ के काम गर्नुहुन्छ ?

पढाउँछु।

दिनमा कति घन्टा काम गर्नुहुन्छ ?

बाह्र घन्टा।

दूध पिउनुहुन्छ ?

कहिलेकाहीँ।

निद्रा लाग्छ कि लाग्दैन ?

जुन दिन पाँच पिरियड पाढाउँछु, त्यस दिन  निदाउनै सक्तिनँ।

अँ मलाई त पहिले नै शङ्का लागेको थियो।

यति भन्दै उनले जोडले घण्टी बजाए। एउटा मान्छे हस्याङफस्याङ गर्दै आयो। मतिर सङ्केत गर्दै उनले भने -उहाँलाई चिनिस् ? मलाई लाग्छ, उहाँ त्यही मान्छे होइन  जो पोहोर कोठा नम्बर ४० बाट भागेको ?

त्यो आगन्तुकले बडो ध्यानपूर्वक मलाई हेर्‍यो र भन्यो- मिल्न त अलिअलि अनुहार मिल्छ हजुर तर चालीस नम्बरको पागल होइन।

डाक्टरसाहेबले भने - तपाईँ जानसक्नुहुन्छ। हेर्नुस् काम अलि कम गर्नुस् है !

घरमा प्रवेश गर्नु अघि म एकछिन मातादिनको पान दोकानमा अडिएँ। मातादिनले भन्यो- भन्नोस् हजुर के छ खबर ?

तिम्रो कृपाले सब ठीक छ, अनि बाख्राको के खबर छ ?

अरे हजुर ! बाख्राले त अचम्मै गर्दै छ, अब सवा तीन सेर दूध दिन थाल्यो।

साँच्चै !

हो त ! तर आज तपाईँको आँखा किन रातो छ ?

घामले गर्दा होला !

होइन हजुर ! यो कुरा होइन, तपाईँ धेरै कमजोर देखिनुभएको छ। बाख्राको दूध पिउन थाल्नुस्। भरेदेखि नै पठाइदिन्छु, हुन्छ ?

हुन्छ, हुन्छ।

हो हजुर स्वास्थ्यको धेरै ख्याल गर्नुपर्छ, स्वास्थ्य छैन त केही छैन।

मैले सोचेँ सबैभन्दा मेरो हितैषी त यही पानवाला नै रहेछ।

 

अनुवादः श्रीधर शर्मा ( सर्वश्रेष्ठ कहानियाँबाट अनुवाद गरिएको) 

 

 

नामः कन्हैयालाल कपूर। शरीर अति कमजोर। उचाइ छ फुट जति। आफ्नो शरीरबाहेक सबैभन्दा धेरै आफ्नो नामदेखि दिक्क किनकि पन्ध्रौँ शताब्दीको जस्तो लाग्ने।

जन्म 27 जुन 1910 मा। शिक्षा एम. ए.(अङ्ग्रेजी) । सन् 1934 देखि 1947 सम्म डी.ए.बी. कलेज लाहोरमा प्राध्यापन। त्यसपछि डी.एम. कलेज मोगामा नोकरी।

पाँच पुस्तकको लेखक हुँ। संग-ओ-खिस्त, शीशा-ओ-तेशा, चंग-ओ-रबाब, नोके-नस्तर, बाल-ओ-पर। सारांश यो कि पन्जाबी बोल्छु, उर्दू लेख्छु र अङ्ग्रेजी पढाउँछु। पत्नी केवल एउटी तर सन्तान 6 जना। युवा त युवावस्थामा पनि थिइनँ, अहिलेको के कुरा ?