|
|
|
|
समयको क्यानभासमा --शर्मिला खड्का (दाहाल) कथाकार दिवाकर नेपालीज्यू- त्यो अभागी महिला म नै थिएँ जसले कृतज्ञताका स्वरोच्चारित शब्दहरूले अभिषेचित हुन नपाई बिछोडिनुपरेको थियो । सायद तपाईँले भुलिसक्नुभयो होला - त्यो समय र त्यो दिन, तर म कसरी भुल्न सक्छु र त्यो समय र त्यो दिन ! सम्भव भए त्यो समय सूर्यको किरण भैदेओस् जसलाई म प्रत्येक बिहान ग्रहण गर्न सकूँ ! त्यो समय एउटा न्यानो सिरक भैदिओस् जुन प्रत्येक चिसा दिनहरूमा म ओढ्न सकूँ । त्यो समय एउटा शीतल वासना बनिदेओस् जुन प्रत्येक गर्मीमा म श्वास लिन सकूँ ! सम्भव भए त्यो समय एउटा क्यानभास भैदेओस् जसमा हाम्रो कथा कोरिएको होस्, तर त्यो सम्भव छैन । विराटनगरबाट जोगबनी जाने बस - सदाझैँ त्यो दिन पनि म जोगबनी जाँदै थिएँ । म बीचबाटाबाट चढेको हुनाले सिट पाउने सम्भावना नै थिएन । बरु चाउचाउ खा“दा कतै उपहार परिहाल्छ भन्ने सम्भावना होला तर जोगबनीको बसमा बीचबाटोमा चढेर सिट पाउनु करौडौँ रुपैयाँको चिठ्ठा पर्नु बराबर हुन्छ । त्यसै समय म भुन्डिएको छेउको सिटको मानिस अकस्मात् उठेर झरिदियो । मलाई साँच्चिकै चिट्ठा पर्यो । त्यहाँ अर्को एकजना पनि मानिस थियो । उसलाई मैले त्यति ख्याल गरेकी थिइनँ । फ्रेन्च स्टाइलको टोपी लगाएको ऊ करिब पचास-पचपन्न वर्षको थियो । म बस्न के खोज्दै थिएँ, उसले "यहाँ बस्नोस् न !" भन्यो । उसको बोलीमा मैले आफ्नोपन भेट्टाएँ । त्यसपछि उसलाई मैले नियालेर हेरेँ । मैले उसलाई कतै देखेको हुनुपर्छ, सुनेको हुनुपर्छ अथवा पढेको हुनुपर्छ । "तपाईँ कहाँ जाँदै हुनुहुन्छ ?" म उसलाई विश्लेषण गर्दै जवाफ दिन्छु । -"जोगबनी ।" -"ए ! म पनि जोगबनी हिँडेको, काठमाडौँबाट आएको, बाटो राम्रो थाहा छैन । तपाईँले सहयोग गरिदिनुभए राम्रो हुने थियो ।" यो चिनेकोनजानेको मान्छे सहयोग माग्दै छ । म के भनूँ अहिलेको समय, कस्तो मानिस हो । म सोच्दासोच्दै 'हवस्' भन्न पुग्दछु । - "तपाईँ यहाँ कहाँ बस्नुहुन्छ ?" "तीनटोलिया"- काठमाडौँको मान्छे, तीनटोलिया भनेको के थाहा होला । - "कहाँ काम गर्नुहुन्छ ?" - "एउटा क्याम्पसमा लाइब्रेरियन छु ।" - "म दिवाकर नेपाली हुँ ! काठमाडौँबाट आएको, केही सामान किन्नु छ । बैनीले सहयोग गरिदिनुहुन्थ्यो कि ?" दिवाकर नेपाली भन्ने शब्द सुन्नेबित्तिकै म रोमाञ्चित हुन्छु । अहो ! मलाई मनपर्ने कथाकारसँग म यति नजिकबाट बोलिरहेछु । मैले आफ्नो जिन्दगीमा कहिल्यै कल्पनासम्म गरेकी थिइनँ । बिहानको समय, बाहिर सूर्यको किरण छरिन हुस्सुका कणसँग सङ्घर्ष गरिरहेको थियो । गाडी ठाउँ-बेठाउँ रोक्दै अगाडि बढिरहेको थियो । मेरो मन भने थामिनसक्नुको खुसीको पङ्खा लगाएर उडिरहेको थियो । मलाई मनपर्ने कथाकारको बोली आज म सुन्न पाइरहेको छु । मेरो ढुकढुकी बढ्छ । म असंयमित र विचलित हुन पुग्दछु । म ईश्वरको सम्झना गर्न पुग्दछु । यस्तो अवस्थामा म प्रायः ईश्वरलाई सम्झने गर्छु म आफूलाई केही असजिलोपन महसुस गर्दछु । सायद उसले ममा केही हडबडाहट भएको महसुस गर्यो होला । - "तपाईँलाई अप्ठयारो पर्छ भने भैगो । म आफैँ किनेर फर्कुँला । " म आत्तिँदै भन्न पुग्छु - "हैन.. हैन.. म सहयोग गरिहाल्छु नि । काठमाडौँबाट आउनुभएको मान्छे, यहाँ नयाँ मान्छे देख्नेबित्तिकै ठग्छन् ।" वास्तविक कुरा म उसलाई भन्न सक्दिनँ, म उससँग धेरैभन्दा धेरै समय बिताउन चाहन्थेँ । ऊ मेरो प्रिय कथाकार हो भनेर भन्न सकिरहेको थिइनँ । यसो भनेमा उसले मलाई सामान्य व्यवहार नगर्न सक्थ्यो । म उसको सामान्य व्यवहार हेर्न चाहन्थेँ । म उसलाई खोलेर पढ्न चाहन्थेँ । उसलाई शब्दशब्दमा छरिएको हेर्न चाहन्थेँ । उसको असामान्य व्यवहारको प्रतिविम्ब त म उसको प्रत्येक कथामा पढिरहेको नै थिएँ नै। तर अहिले म उसलाई भौतिक रूपमा पढ्न खोजिरहको थिएँ । त्यसैले मैले उसलाई अपरिचितताको परिचय दिइरहेको थिएँ । म अन्तरिम योजना बनाउन थाल्छु । जोगबनीमा किनमेल सकिएपछि म उसलाई रिक्सामा लिएर आउनेछु । बाटामा झन्डै आधा घण्टा ऊ मसँगै हुनेछ । त्यस समय म उसलाई आफ्ना विषयमा सबै भन्नेछु । अनि उसको मोबाइल नम्बर र मेल ठेगाना पनि लिनेछु । मेरो साहित्यमा कसरी रुचि बढ्यो - त्यसको आफ्नै कथा छ । मेरो घरछेउमा हिन्दी पत्रपत्रिका बेच्ने थोक बिक्रेताको डेरा थियो । बिहे हुनुअघि मसँग प्रशस्त समय हुन्थ्यो । त्यस समयमा म गृहशोभा, मनोरमा, कादम्बिनी, सरिता आदि खूब पढ्थेँ । त्यस समयमा नेपाली पत्रपत्रिका उतिसाह्रो निस्कँदैनथे। ती पत्रपत्रिकामा भएका कथाले मलाई कथाप्रति निकै रुचि जगाउन थाल्यो । म हिन्दी कथाकार प्रेमचन्द, रवीन्द्रनाथ टैगोर, जैनेन्द्र, कमलेश्वर, सत्यजीत रे आदिका कथाहरू खूब पढ्थेँ । उक्त थोक बिक्रेता पनि मलाई चाहेजति किताब पढ्न दिन्थ्यो । मेरो विवाह विराटनगरमै भयो । बिहेपछि एउटा क्याम्पसमा लाइब्रेरियनको काम पाएँ । लाइब्रेरीमा धेरैजसो फुर्सद हुने र किताबसम्बन्धी चर्चा-परिचर्चा हुने हुनाले मेरो आख्यानसाहित्यमा चासो बढ्दै गर्यो । विभिन्न नेपाली तथा विदेशी आख्यानकार र कथाकारका किताबहरू पढ्न थालेँ। पढ्ने क्रममा नेपाली कथाकार दिवाकारको कथाले मलाई अत्यन्त आकषिर्त गर्यो । त्यसपछि उसका प्रत्येक कथाहरू पढ्न थालेँ । उसका कथामा नारी-पुरुषबीचको सम्बन्धलाई कसरी विश्लेषण गरेको हुन्छ भने प्रत्येक पाठकले आफू नारी हुँ कि पुरुष हुँ भन्ने कुरा नै भुल्थ्यो । उसको कथाशिल्पमा पाठक वर्तमानमा छु कि विगतमा छु वा भविष्यमा छु भन्ने कुरा नै भुल्थ्यो । उसको कथाका यिनै विशेषताले म उसको कथाप्रति मोहित भएको थिएँ । उसका नयाँनयाँ कथाहरू प्राय वेभसाइटमा आउने गर्दथे । त्यो म हेर्ने गर्दथेँ । त्यसपछि पत्रिकामा छापिन्थ्यो । पत्रिकामा छापिएको मलाई बासी लाग्दथ्यो । उसका कथाको विषयमा लाइब्रेरीमा पनि चर्चा हुने गर्दथ्यो । लाइब्रेरीमा प्रायः पुस्तकसम्बन्धी चर्चा नै हुने गर्दथ्यो । पुस्तकसम्बन्धी चर्चा हुँदा आफू केही नजानेको जस्तो हुनुभन्दा केही पढेर दुई-चारजना नेपाली तथा विदेशी लेखकको नाम भन्न सके आफैँलाई गौरव पनि लाग्दथ्यो । अझ भनौँ अङ्ग्रेजीको कति नै धेरै ज्ञाताझैँ विदेशी लेखकहरू मोपासाँ, काफ्का, लियो टाल्सटाय, नट ह्यामसुन, अर्नेस्ट हेमिङवे, तसलिमा नसरिन, समरसेट मम आदि लेखकका नाम भन्नसक्दा आफैँ गमक्क परेको हुन्थेँ। त्यसैले धेरैजसो महिला सिरियल हेरेर बिताउँदा म भने पुस्तक पढेर समय बिताउँदथेँ। कहिलेकाहीँ आफैँलाई कथा लेखूँलेखूँ नलागेको कहाँ हो र ? एकपल्ट कथा लेख्ने भनेर लहड चलेको थियो । धेरै दिनदेखि एउटा कथावस्तुलाई जन्म दिएको पनि थिएँ । छुट्टीको समय थियो- म कथा लेख्न बसेँ । कथा लेख्न मात्र के बसेको थिएँ छोरी ‘भोक लाग्यो’ भन्दै आई । छोरीलाई दूध तताएर खुवाउनुपर्यो भनेर दूध बसाएको मात्र थिएँ, छोरो 'चुङ्गी (रबरको खेलौना) किन्न पैसा दिनोस्' भन्दै आयो । ब्यागमा खुद्रा पैसा थिएन । एकसयको नोट दिएर पठाएँ- 'फिर्ता ल्याऊ' भन्दै छोरी, छोरोसँगै 'म पनि जाने' भनेर गई दुवैजनाले सय रुपैयाँको टन्न सामान किनेर ल्याए। म सामान हेर्दै गाली गर्न थालेँ । दूध उम्लेर चौपट । केही समयपछि दुवैजनालाई थामथुम पारेर कथा लेख्न बसेँ, छिमेकी दिदी आइन्, सिमेन्ट माग्न, छैन कसरी भन्नु, भएको कुरा । उनलाई पाँच किलोमात्र चाहिएको रे, खुल्ला सिमेन्ट कतै पाइएन रे । म फेरि तानिएँ पसलतिर सिमेन्ट जोख्न । बल्ल फुर्सद मिलाएर कथा लेख्न बसेँ, फेरि साथीको फोन आयो । "तपाईँसँग डिजिटल क्यामेरा छ, दिनोस् न आजलाई । मैले 'नाइँ' भन्न सकिनँ । चार्जर भए चार्ज पनि गरिदिनोस् है - ओहो ! कसरी माग्न अनि काम लगाउन सकेको होला सजिलै, यसलाई पनि कला नै मान्नुपर्दछ। म डिजिटल क्यामेरा खोजेर ठिक्क पारिदिन्छु अनि ब्याट्री पनि चार्ज गरिदिन्छु । मुस्किलले छोराछोरी हेर्दै कथा लेखिसक्छु । त्यो कथा क्याम्पसको स्मारिकामा छापियो । कसैले त राम्रो भनिदेला भनेर म स्वयम् कथाको चर्चा गर्न थालेँ तर कसैले राम्रो भनिदिएनन् । त्यसपछि मेरो कथा लेख्ने जाँगर त्यसै मरेर गएको थियो । तर कथाकार दिवाकर कसरी प्रत्येक पाठकको मन छुने कथा लेख्न सक्छन् । उसको कथामा लाग्छ सिङ्गो समाजको चित्र प्रतिबिम्बित गरिएको छ । उसका कथा देशप्रेम र म हुनुको पीडाले निथ्रुक्क भिजेको हुन्छ । नारीका यौनसम्बन्धी पीडालाई कसरी नङ्ग्याइदिएको हुन्छ भने त्यहाँ सम्पूर्ण समाज चित्रित भएझैँ लाग्दछ । नारीका यौनसम्बन्धी पीडा जुन पीडालाई समाजले अहिलेसम्म बेवास्ता गरिरहेको छ, अझ भनौँ बेवास्ता मात्र हैन आरोप र लाञ्छनाका नुनचुक छरिरहेको छ घाउमाथि- त्यस्तो पीडा बुझेर पनि समाज बेखबर भएको नाटक गरिरहेको छ तर उसले डाक्टरझैँ चिरफर गरेर देखाइदिएको छ । -"जोगबनी, जोगबनी" चर्को स्वरले एउटा ठिटो चिच्यायो । मेरो प्रिय कथाकार छेवैमा थियो । ऊ पनि आफ्नै धुनमा थियो । यतिन्जेल हामीबीच कुनै संवाद भएको थिएन । -"दाइ... रिक्सामा चढौँ अलिक चाँडो पुगिन्छ ।" -'हुन्छ' उसले स्वीकृति जनायो । हामी एउटै रिक्सामा चढ्यौँ । ओहो ! मेरो प्रिय कथाकार मसँग टाँस्सिएर बसेको छ । ऊ कति महान् छ उसले आफ्नो थर नेपाली राखेको रे, नत्र उसको थर उपाध्याय थियो रे । मैले उसको अन्तर्वार्ता पढेको थिएँ । हामी सबै नेपाली हौँ। नेपालीको जात एउटै नेपाली हो । हुन पनि हो अहिलेको समाज साम्प्रदायिकताको हुस्सुले ढाकेको समयमा यस्तो भावनाले उज्यालो किरण छर्न सक्थ्यो । अझ उसले बिजातको केटी बिहे गरेर समाजमा थप उदारणीय काम पनि गरेको थियो । उसले सोचेको नै छैन होला म उसलाई कति नजिकबाट चिन्छु भनेर । ऊ र मेरा बीच कुनै दूरी थिएन । हावाको सानो झोका पनि पास नहुने गरी हामी बसेका थियौँ। सूर्यको किरणले हुस्सुमाथि आंशिक रूपमा विजय पाइसकेको थियो । यो समय रोकिए हुन्थ्यो भन्ने म चाहन्थेँ किनभने केही समयपछि हामीबीच कुनै अनभिज्ञता रहनेछैन । चाँडै नै म उसको कथाको कतिको प्रशंसक हुँ भन्न हतारिइरहेको थिएँ । ऊ पनि सायद खुसी नै हुनेछ होला यति टाढा आफूलाई यति मन पराउने प्रशंसक रहेछ भनेर म उसको त्यो बेलाको मुखाकृति कस्तो हुन्छ होला भनेर हेर्न उत्सुक थिएँ । -"यहाँ पनि निकै जाडो हुँदो रहेछ हैन बैनी... ! " उसको बोलीमा कति आत्मीयता छ, कति मिठास छ । - "हो दाइ... शीतलहर चलेको बेला यस्तै हुन्छ ।" मलाई उसको हात चुमूचुमूझैँ लाग्छ । ती कथामा पोखिएका शब्दहरू कति मीठा थिएः रसवरीभन्दा मीठा ती संवाद कति रोमान्टिक थिए, पढ्दा आफैँलाई लाज लागेर आउने । भावहरू कति रसिला थिए यौनतुष्टिभन्दा कता हो कता माथि । मेरो कपालका रेसाहरूले उसको गाला छुन पुग्दथे । सायद म कपाल भइदिएको भएँ । उसले मेरो मनोदशा पढ्न चाहेको थिएन क्यारे । नत्रभने मजस्तो साधारण महिलाको मनोदशा उसले बुझिसक्नुपर्ने हो । लाखौँ पाठकलाई आफ्नो कलमले नचाउने मान्छेलाई यो सामान्य कुरो थियो । उसले पनि आफूलाई सामान्य राख्न चाहिराखेको थियो क्यारे, नत्र ऊ मलाई छोडाउन सक्थ्यो केलाउन सक्थ्यो र उघारेर हेर्न सक्थ्यो । तर उसले यो चाहेको थिएन । त्यसको कारण यो नयाँ परिवेश हुन सक्थ्यो अर्को कुरा लेखकहरू मुडी पनि हुन्छन् रे । मैले रिक्सालाई निकै तल रोक्न लगाएँ किनभने मैले चिनेको कुर्तासुरुवालको होलसेल पसल निकै तल थियो । ऊ आफ्नो पत्नीलाई निकै माया गर्छ क्यारे तर पत्नीले उसलाई माया नगरेकी हुन सक्छ किनभने साहित्यकारका आ-आफ्ना पति वा पत्नीलाई सन्तुष्टि दिन सक्दैनन् भन्ने कुरा मैले पढेको छु । त्यसैले ऊ पत्नीको लागि कुर्तासुरुवाल किन्दै छ । "भाउजुलाई कस्तो रङ मनपर्छ दाइ ? " "उसलाई गुलाबी मन पर्छ तर मलाई निलो रङ मन पर्छ बैनी, हेर्नोस न्... सबै गहिरा चीज कति नीला हुन्छन् । आकाशको रङ हेर्नोस् कति नीलो छ सागरको रङ हेर्नोस् कति नीलो छ ।" ऊ अलिकति पोखियो र मैले अजुलीले उघाएर पिइदिएँ । उसभित्रको कथाकार थियो यो- हुन पनि हो आफूभित्रको अथाह भण्डारलाई मानिस कतिन्जेल रोकेर वा छेकेर राख्न सक्छ र ! तर उसले आफूलाई सम्हालिहाल्यो । त्यसैले त ऊ महान् र चर्चित कथाकार बन्न पुगेको थियो । म भने त्यस समयको प्रतीक्षामा थिएँ जुनसमय हामी किनमेल सकेर जोगवनीबाट रिक्सामा बिराटनगर फर्कनेछौँ। उसले दुइवटा कुर्तासुरुवाल किन्यो । "अरू के सामान सस्तो र राम्रो हुन्छ बैनी.. ?" मैले भनेँ -"बिस्कुटहरू, कपडाहरू अनि भाँडाकुँडाहरू पनि सस्तैमा पाइन्छ दाइ ।" "भैगो.. धेरै बोक्न गाह्रो हुन्छ अलिकति बिस्कुट किनौँ.. भइहाल्छ।" मैले चाहिँ आफू केही नकिन्ने सोच बनाएँ । किनभने जोगबनी त म फेरिफेरि आइरहन सक्छु तर कथाकार दिवाकरलाई कहिले भेट्न सक्छु र ? एउटा कुरो मैले पेन्टी र ब्राचाहिँ अवश्य किन्नुपर्ने थियो ? कसरी किनूँ ? उसलाई लिएर जाँदा उसले के ठाल्ला ? नकिनी पनि भएको थिएन । -"दाइ,.. तपाईँ यतै बस्तै गर्नुहुन्छ कि ! म केही सामान लिएर आइहाल्छु अनि सँगै फर्कौँला।" -"हुन्छ,.. तपाईँ आफ्नो सामान पनि लिनोस् न । कतै ... मैले डिर्स्र्टब गरिरहेको त छुइनँ ? उसले कति चाँडो मनको कुरा बुझेको होला । हुन पनि हो यति धेरै पात्रको मनोदशा बुझ्नेले म साधारण महिलाको मनोदशा किन नबुझ्नु र ? -"छैन,... यस्तो डिस्टर्ब केही भएको छैन । यो त मेरो अहोभाग्य तपाईँजस्तो.. ....! झन्डै मेरो मुखबाट वास्तविक कुरा फुस्केको ! हुन पनि हो मानिस आफू आफैँमा केही होइन । उसले आफूलाई जतिसुकै नियन्त्रणमा राख्न खोजे पनि उसलाई डोर्याउने अरू कोही हुन्छ । म चाँडै नै रिक्सामा बसेर उसलाई मेरो मनको भावना पोख्ने कल्पनामा डुबिरहेको थिएँ । त्यसैले चाँडै पेन्टी र ब्रा किन्न अर्को पसलमा पसेँ। तर ब्राको नम्बर नमिलेर मलाई केही समय ढिला हुन गयो । म हतारहतार गर्दै फर्केँ तर अचम्म ! कथाकार दिवाकर त्यहाँ थिएनन्- म आत्तिएँ । मन शून्य भयो । नयाँ मान्छे कता छलिए होलान्, नयाँ ठाउँ हराउने पो हुन् कि अथवा व्यापारीहरूले जबरजस्ती सामान भिडाउने पो हुन् कि वा ठग्ने पो हुन् कि - मेरो प्रिय कथाकारलाई । कतै मैले नै उसको आत्मामा ठेस पुग्ने केही कुरा भनँ कि ! 'लेखकहरू साह्रै संवेदनशील हुन्छन्' भन्छन् । मैले उसको मोबाइल नम्बर नमागेकोमा अहिले आएर मलाई पछुतो लाग्यो । रिक्सामा सँगै बसेर विराटनगर जाने अनि राम्रो रेस्टुरेन्टमा बसेर गफ गर्दै खाजा खाने मेरो सपना सब चकनाचुर भयो । म बिलखबन्दमा परेँ। कहाँ खोजूँ कथाकार दिवाकरलाई यत्रो मानिसको भीडमा के भनेर खोजूँ । निकै समयसम्म म अन्योलमा परेँ। त्यसपछि केही सामान किनेँ र जोगबनीको बसस्टेन्डमा निकै बेर उसलाई भेट्नका लागि पर्खेँ । तर भेट हुन सकेन । अघि जाँदाको भरिएको गाडी अहिले रित्तो लाग्यो । केही हराएझैँ लाग्यो । आफ्नो छाया कतै छोडिएझैँ लाग्यो । मन ऊसँगै रिक्सामा बसेको अनि किनमेल गरेको समयमा अल्झिरह्यो । म कति अभागी रहिछु । आफ्नो मनपर्ने कथाकारलाई यति नजिकैबाट छाम्ने मौका पाउँदा मैले आफैँले गुमाएँ । मैले पेन्टी र ब्रा नकिनेको भए पनि हुने । ऊसँग बिताएका समयलाई म साथीहरूमाझ कसरी गफको गाडी हाँक्न सक्थेँ त्यो पनि नब्बे किलोमिटर प्रतिघण्टाको रफ्तारमा । तर सबैकुरामा ब्रेक लाग्यो । म रित्तो र एक्ली भएकी थिएँ । कथाकार दिवाकारज्यू- त्यो अभागी महिला म नै हुँ जसलाई तपाईँले जानेर वा अनजानमा जोगबनीमा छोडनुभएको थियो । मैले तपाईँलाई आफ्नो परिचय पनि दिने मौका पाएको थिइनँ । अब त दिएर पनि के फाइदा होला ? भाउजूलाई कुर्तासुरुवाल मन पर्यो कि परेन ? मैले यतिबिध्न मन पराएकी रहेछु भनेर रिसाउनुहुन्न होला ! म त एउटा नमुनामात्र हुँ- उहाँका देशभरि हजारौँ प्रशंसक हुन्छन् यसरी मन पराउने । हिमालले सौन्दर्य नछर्ने हो भने कोही पनि मन्त्रमुग्ध हुने थिएनन् होला - त्यस्तै फूलले आफ्ना सुन्दरता र वासना नर्छर्ने हो भने कसैले महत्त्व दिँदैनथे होला - भगवानलाई मानिसले नपुजेको भए भगवानको अस्तित्व धेरै अघि हराइसक्थ्यो । कृष्णका पछाडि हजारौँ गोपिनी त्यसै पछ्याउने थिएनन् - मनपर्ने गायकगायिकाको लागि हजारौँ मानिस अटोग्राफ लिन त्यसै तँछाडमछाड गर्दैनथे होलान् । पानी परेपछि मात्र इन्द्रणी लाग्छ तर पानी पर्दैपिच्छे इन्द्रणी लाग्छ भन्न सकिन्न, भाउजू । जीवन इन्द्रणीझैँ सप्तरङ्गी छ । जीवनको क्यानभसमा कहिले, कहाँ खुसी कोरिन्छ कसलाई थाहा हुन्छ र ? |
![]() |
साहित्यसञ्चार समूहकी संस्थापक सदस्य शर्मिला खड्का दाहाल बालसाहित्यमा विशेष रुचि राख्नुहुन्छ। उहाँका सानी, सानीको साहस र मित्रताको महत्त्व गरी तीन बालउपन्यासहरू प्रकाशित छन्। एउटा कथासङ्ग्रह प्रकाशोन्मुख छ। उहाँले सानी बाल उपन्यासमा साझा बाल पुरस्कार प्राप्त गर्नुभएको छ र हालसालै अनेसास अमेरिकाबाट पनि सोही पुस्तकमा पुरस्कार प्राप्त गर्नुभएको छ। हाल इटहरीमा बसोबास गर्ने शर्मिला कथासाहित्यको पनि सिर्जना गर्नुहुन्छ। सम्पर्कः sakhada4@yahoo.com |