|
|
|
|
दिमाग शून्य भएको बेला - गण्डकीपुत्र स्मृतिमा रहँदैनन् कुनै घटनाहरू र सम्झन सकिँदो रहेनछ शान्ति अथवा सङ्घर्षका प्रिय र कठोर क्षणहरू।
कुनै समय- वसन्तले अँगालोभरि उज्यालो सपना ल्याएर ओछ्यानमा छरिदिएको हुँदो हो निद्रामा पनि ध्वनित भए होलान् त्यस समयमा स्नेहका मधुरता छमछमाउँदै गोडामा लगाएका पाउजुहरू। कुनै सुगन्धित फूलको मादकता बोकेर हामीसँग जिस्कन आयो होला हिमालको स्पर्श गरेर चिसो बतास। या हाम्रो मनलाई कुतकुत्याएर हँसाउँदै उडेका थिए होलान् भँगेराका फुर्फुरे जोडीहरू। अहिले मनमा कोही पनि छैन अघि भर्खरै सडकमा गुन्जिरहेका स्वतन्त्रताका गीतहरू पनि अहिले सम्झना छैन। त्यहाँ सबैले रातो झण्डा बोकेका थिए होलान् कसिएका मुठी र आगोजस्ता झर्झराउँदा अनुहार भएका बलिया नायकहरूले कमजोर मान्छेहरूका लागि स्वतन्त्रता उपहार दिन समवेत् गाए होलान् निरङ्कुश पर्खाल भत्काउने स्वाधीन आकाशको उत्साही गीत। धर्तीमा भूकम्प रोपेर युवाहरूले चुनौती दिँदै अँध्यारोलाई काँधमा बोके होलान् प्रकाशका बिम्ब फ्याँकिरहेका सूर्यका किरणहरू। रङको भेद हटाएर सबै मानिसहरू एकै जातका सिपाही भए होलान् केही सम्झना रहँदो रहेनछ दिमाग शून्य भएको बेला।
हुन सक्छ कुनै समय स्निग्ध मन टाँसेर चिठीका हरफहरूमाथि प्रेयसीले लेखेकी थिइन् होला प्रेमपत्र होइन भने प्रेयसीको यादमा आफैँले लेखेँ होला लामालामा कविताहरू। धर्तीमा घोप्टिएको कालो छाया फ्याक्न आफैँ उत्रिएको थिएँ होला युद्धको मैदानमा अथवा भोकाएकाहरूको भोको चित्कारलाई क्रान्तिको स्वरुप दिन गरियो होला मानिसको मन उचाल्ने जोसिला भाषणहरू। तर अहँ ! पटक्कै केही सम्झना हुँदो रहेनछ दिमाग शून्य भएको बेला न शान्तिका कुरा न क्रान्तिका कुरा न ममताका कुरा न समताका कुरा दिमाग शून्य भएको बेला मूर्ति बन्दो रहेछ मान्छे।
|