|
|
|
|
'नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छ' भन्छ जोशी शैलेन्द्र साकार
अमेरिकामा बसेर देश बिर्सेको जोशी बियरको नशाबाट एक्कासि यथार्थमा हाम्फाल्छ र बर्बराउँछ- के मेरो देशको कुरा गरेको ? मलाई थाहा पनि छैन सम्पूर्ण कुरा कैयौँ कुरा त बिर्सी पनि सकेँ तर मलाई लाग्छ त्यो देश संसारको सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना कि पुरानो सङ्ग्रहालय त्यहाँ कहीँ कतै केही नमिलेकै छ- भन्छ जोशी म कसैलाई दोष दिन सक्तिनँ। जनता- ती सीधासादा र गरिब छन् नेता- ती धूर्त र बेइमान छन् अरू देशका झैँ व्यवस्था- त्यो पनि चाहेकै पाएका छन् तर किन केही हुन नसकेको त्यहाँ तर किन नेपालीले गर्व गरेर म यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ? मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि नाडी फत्रक्क गलेर आउँछ नसाहरू थाक्छन् र अपरिचित त्रासले म काम्न थाल्छु मलाई थाहा छैन मलाई किन त्यो हुन्छ - यही देशमा पनि मैले के पो पाएको छु र ? कुनचाहिँ उपलब्धि हात पारेको छु र ? के कति सम्पत्ति या समृद्धि कमाएको छु र ? तर मलाई देश फर्कन पटक्कै मन छैन । त्यो देश जहाँ म जन्मेँ त्यहाँ कहीँ कतै केही नमिलेकै छ जुन दिन त्यो खोजी होला अङ्कल ! तपाईँ र म सँगै देश फर्कौला भन्छ जोशी ।
|