|
जीवनः अनुभूतिको यात्रा
-शालिकराम ढकाल
धेरै दिनदेखि भोजपुर हेर्न जाने भित्री इच्छाले चिमोटिरहेको थियो।
आफ्ना सहपाठीहरू भोजपुर गएर आएपछि सुनाएका वृत्तान्तहरूले मन
चुलबुलचुलबुल हुन थाल्थ्यो। भोजपुर हेर्न उत्सुकताले हृदय
चुमिरहन्थ्यो। हेर्नकै लागि जाऔँ भनेर म बुबासँग प्रस्ताव राख्न
सक्दिनथेँ। उकुसमुकुस चाहनाहरू उम्लिएर बाहिरिन खोज्थे र कण्ठमै
रोकिन्थे।
म सातौँ वसन्तको आसपासतिर थिएँ होला। एक दिन बेलुकाको खाना खाएर बुबा,
आमा, हजुरबुबा र हजुरआमा भलाकुसारी गर्दै हुनुहुन्थ्यो। बाहिर टहटह
जून लागिरहेका थिए। म र भाइचाहिँ खेल्दै थियौँ। हजुरआमाले एउटा भाँडो
साट्न र केही घरायसी सामान लिन बुबालाई भोजपुर जान कर गर्नुभयो।
खेतीपातीसम्बन्धी थुप्रै काम हुने महिना भदौ। त्यहाँमाथि काममा
निस्कने कोही थिएन। कामको व्यस्तताका बीच पनि बुबाले हजुरआमाको
प्रस्तावमा सहमति जनाउनुभयो । त्यस सहमतिले मेरा खुट्टा उफ्रिन थाले र
शरीर एकदम फुर्तिलो भयो। उहाँहरूको सहमति भइसकेपछि मैले पनि भोजपुर
जाने इच्छा प्रकट गरेँ। बुबाले हिँड्न सक्दैनस् भनेर रोक्न खोज्दै
हुनुहुन्थ्यो तर आमाले पनि मेरै पक्षमा मत खसालेपछि म पनि जान पाउने
भएँ। म फुरुङ्ग भएर फुर्किँदै भोजपुरको काल्पनिक दृश्य आँखाअगाडि
नचाउँदै बिस्तारामा पल्टिएँ।
हजुरआमाले झिसमिसेमै उठेर चुलामा आगो बाल्नुभयो। बुबा गोरस माग्न भनेर
गोठतिर जानुभयो। घाम नझुल्किँदै खाना तयार भयो। खाना खाएपछि बुबाले
सेतो खाँडीको दौरासुरुवाल र कालो अस्कोट लगाउनुभयो। मैले पनि
दौरासुरुवाल नै लगाएँ। बुबाले स्थानीय छालाका जुत्ता र मैले चाहिँ
चप्पल लगाएँ। त्यतिखेरसम्ममा आमाले पाटको बोरामा भाँडो पोको
पारिसक्नुभएको थियो। बुबाले भाँडो र मैले मेरै स्कुलेझोलामा मकैभटमास
बोकेपछि घामको पहिलो झुल्कोमा हामी यात्राका लागि निस्क्यौँ।
आफ्नो अभिलासा पूरा भएकाले म खुसीले दङ्ग थिएँ। बाटामा गाग्राभरि पानी
बोकेका पँधेरनीहरू भेटिए। साइत त राम्रै पर्यो, भरे आइपुग्न सके त
हुन्थ्यो भन्दै हामी लम्कियौँ। भोजपुर सहरको झिलीमिली कस्तो होला -
कति बेला पुगिएला - दुईचार दिन बस्न पाए कति राम्रो हुन्थ्यो जस्ता
कल्पना गर्दै फुरुङ्ग भएर म दौडिरहेको थिएँ। बोजिनी खोलाको कलकल ध्वनि
र चराचुरुङ्गीहरूको प्रभाती गायनले अप्सरा-नृत्य र सङ्गीतको उपहास
गरेझैँ लाग्थ्यो। एकछिनको हिँडाइपछि हामी झगडेखेतको छेउमा पुग्यौँ,
जहाँबाट सूर्यको किरणले
स्पर्श गर्दा हरियो धानका पातमा शीतका थोपा
मोतीझैँ टक्किरहेका देखिन्थे। जता हेर्यो कलकलाउँदा धानका बोटहरू,
लाग्थ्यो त्यहाँभन्दा सुन्दर दृश्य कहीँ
होला र ?
धोदले खोलाको सङ्लो पानी अँजुलीले उघाएर खाएपछि हामी बिस्तारै भुल्केको
उर्वर खेतका फाँटमा आँखा डुलाउँदै हिँड्न थाल्यौँ।
सूर्यका किरण
छिप्पिँदै थिए र दिन क्रमशः उत्कर्षतर ढल्किँदै थियो। चिटिक्क परेका
जामा र कुर्तासुरुवाल लगाएका केटीहरू डोकामा घाँस भर्दै थिए। कुनैकुनै
घरका धुरीबाट धुवाँको मुस्लो एकैचोटि गुन्ठुनिएर आन्दोलशैलीमा
बाहिरिँदै थियो। पाञ्चायन देवता पुज्ने ब्राम्हाणहरूले शङ्खध्वनि पनि
गुञ्जाउँदै थिए। निगुरे पाखाका सल्लाघारीबाट तलतिर हेर्दा देखिने सानो
भुल्केको समथर फाँट र त्यहाँका ठूलाठूला गरा खेतमा
सूर्यको किरणले
टल्किएको पानीले आँखा नै तिरीमिरी बनाउँथ्यो। घरीघरी पारितिर आँखा
लगाउँदा देखिने बैकुन्ठे डाँडालाई समातेर मानेभञ्ज्याङको सल्लाघारीको
जिङ्ग्रिङ्ग कपाल बोकेर लम्पसार परेको आम्बोटेको रूप हेर्दा बैँसले
उन्मत्त भएर हिँडेकी बैँसालुको
सम्झना हुन्थ्योँ।
घना सल्लाघारी र ठाउँठाउँमा अनुत्पादक बारीका गरा हुँदै हामी निगुरे
भञ्ज्याङ पुग्यौँ। झ्याम्म परेका वरपीपलका बोटहरू र वरिपरि घना जङ्गल
थियो तापनि घरीघरी देखिने पारिपट्टि भोजपुर बजारका सेता घरहरूले आँखाको
ज्योति नै उघाएर लान खोज्थे। मन त्यसैत्यसै लठ्ठ हुन्थ्यो। उभिएर
हेरिरहूँ समयको अभाव, हेर्र्दै हिँडूँ जङ्गलले छेकिने, भोजपुर बजारको
चमकले मेरो मन च्याप्प पक्रेर तान्न थाल्यो। बिस्तारै हिँडौँ पुगेर घर
फर्कन ढिलो हुने, छिटो हिँडौँ लम्बाइ नाप्ने गरी उत्तानो परिएला भन्ने
त्रास। ओरालो र चिप्लो बाटामा खुट्टा थिरीथिरी पार्दै हामी
ओरल्लिरह्यौँ। घामको प्रकाशले भर्खर
स्पर्श गर्न थालेका शीतका थोपा
युगीन विडम्बनाले थिचिएका आगन्तुकतिर फर्किएर गर्विलो मुहारले ङिच्च
हाँसेजस्तो प्रतीत हुन्थ्यो। वनमा देखिने रङ्गीन चराचुरुङ्गीहरू र
तिनका मधुर वाणीले घरीघरी अमृतपान गराउँथे।
सिक्तेल खोलाको झोलुङ्गे पुल तरेपछि हामी सानो ठाउँमा पुग्यौँजहाँ
चिटिक्क परेका सेता घरहरू आफ्नो कालीगढीमा गर्व गर्दै उभिएजस्ता लाग्थे। मैले त्यो ठाउँ र ती घरहरूका बारेमा जानकारी लिन खोजेँ। भोजपुर
बजारका लागि बिजुली उत्पादन गर्न पावरहाउस बन्दै रहेछ। मैले सोधेँ- यो
कसले बनाएको बुबा - 'विदेशका पर्राई मान्छेहरूले त होला नि। हाम्रा
राजा गरिब छन् अरे।'- बुबाले एकछिनको मौनतालाई चिर्दै भन्नुभयो। राजा
पनि गरिब ! मेरो मन खिन्न
भयो र छातीमा ठूलो ढुङ्गाले किचेजस्तो भयो। पिखुवाखोलाको पुलमा बुबाले
मलाई बोकेर तारेपछि हामी अकल्पनीय उचाइ भएको पहाडको फेदीमा पाइला टेक्न
पुग्यौँ।
वारिबाट हेर्दैखेरि मेरा खुट्टा कामिसकेको त्यो उकालो आफैँले
हिँड्नुपर्ने हुँदा मन एकतमासले पिरोल्लियो। ठूलो तित्रीको फेदमा बसेर
हामीले पिखुवाको चिसो हावास“ग जम्मै पसिना साट्यौँ। र्सवाङ्ग शीलत भयो। चिसो जरुवा पानी पिएपछि सम्पूर्ण नसानसामा एक प्रकारको तागत र
स्फुर्ति भरिएर आयो। पुनः लक्षतिर उचाल्लिने प्रयास हामीले गर्यौँ।
सातपत्र छाला सुकाउने भदौरे घामलाई पिठ्यूँ फर्काइदिएर हामी लम्किन के
लागेका थियौँ एउटा मध्यम कदको अधबैँसे मानिस फुत्त हामीबीचमा आइपुग्यो। देख्दै सरल, सभ्य र शालीन त्यो मानिसले बुबासँग परिचय माग्यो। बुबा
र ऊबीच परिचय आदानप्रदान भएपछि ऊ त बुबाको चिरपरिचित साथीजस्तै भयो। म
पछिपछि हिँड्दै थिएँ। एक्कासी एउटा ढुङ्गामा ठोक्किएर मेरो खुट्टो
मर्कियो। म थुचुक्कै बसेँ। मैले तोरीका फूल देखेँ। गला अवरुद्ध भयो। एकछिनको विश्रामपछि उठेर घिस्रिन थाले। बुबाहरू निकै माथि
पुगिसक्नुभएको थियो मैले बुबालाई बोलाएँ। उहाँले पर्खिनुभयो। तताएको
फलामजस्तो घाम पिठ्यूँमा बोकेर हिँडेकाले शरीरका सम्पूर्ण
पार्टपुर्जाहरू जल्ने तयारीमा थिए। म तिर्खाले व्याकुल भएँ। मैले
पानीको खोजी गरेँ। म काकाकुल भएँ। अहँ पानी उपलब्ध भएन। निकैबेरसम्म
नालापानीको युद्ध लडेँ। ओठमुख सुकेर चक्कर लाग्लाजस्तो भयो।
बुबाचाहिँ सान्त्वना दिँदै र फकाउँदै मलाई घिसार्नुहुन्थ्यो। उकालोको
बीचतिर पर्ने एउटा पोखरीमा धेरै टाढाबाट एउटा पाइप ल्याइएको रहेछ।
मैले शरीरका रौँसम्म भिज्नेगरी पानी पिएँ।
एकछिनको बसाइपछि बुबा त्यही मान्छेसँग गफ गर्दै हिँड्नुभयो। म पनि
घिस्रिन थालेँ। एकछिन बसेकाले सेलाएर होला खुट्टो अघिभन्दा धेरै दुख्न
थाल्यो । चर्को घाम, थकाइ र दुखाइको त्रिआयामिक पीडाको घनत्व बढ्न
थाल्यो। बालशरीरले खप्न नसकेपछि बलिन्द्र धारा आँसुका साथ रोदनमा
व्यक्तिन थाल्यो। मेरो दुर्दसा देखेपछि बुबासँग हिँडिरहेका अधबैँसेले
बुबालाई जानकारी गराए। आफूले भनेको नमानी आएकोमा बुबा अलिकति दुःखी
पनि हुनुभयो। जे भए पनि आफ्नो सन्तानको पीडामा एउटा बाबु कहाँ
बेवास्ता गर्न सक्दो रहेछ र
! एकछिन खुट्टो सुम्सुम्याएर 'मेरो बाबुलाई
के भयो नि' भन्दै पिठ्यूँमा बोकेर हिँड्नुभयो। अन्दाजी १२ बजेतिर हामी
भोजपुर पुग्यौँ।
हाम्रा विविध उद्देश्यमध्ये एउटा पित्तलको भाँडो साट्नु थियो। बुबाले
एउटा ठूलो भाँडापसलको अगाडि पुगेर मलाई भुइँमा राख्नुभयो। पसलेसँग
भाँडो साटपाटको क्रम सुरु भयो। बुबाले मेरो खुट्टो मर्किएको कुरा
पसलेलाई सुनाउनुभयो। उसले खानेतेल र मट्टीतेलले मालिस गर्ने सल्लाह
दियो र बुबाले त्यसै गर्नुभयो पनि।
भोजपुरको रमझम हेर्न उत्साहित मेरो मन एउटा पसलअगाडि किंकर्तव्यविमूढ
पस्रिन विवश थियो। चोक्टा खान गएको बूढो झोलमा डुबेर मर्यो झैँ भयो।
बुबाले अरू पसलतिर गएर सामान खरिद गर्नुभयो। अन्दाजी दुईबजेतिर
हामी घर फर्क्यौँ। मेरो खुट्टो दुखाइ अलिकति पनि नघटेकाले बुबाले पुनः
बोक्नुभयो। म लज्जित थिएँ। खुब उत्साहित भएर घरबाट हिँडेको म बुबालाई
बोकाउनु पर्दा मरेतुल्य भएको थिएँ।
हामी ओरालो लाग्दै थियौँ
सूर्यको तेज धीमा हुँदै थियो। बाटाका
छेउछाउमा गाईबाख्राहरू एकोहोरिएर चरेका देखिन्थे। गोठालागोठाल्नीहरू
रूखका फेदमा बसेर दोहोरी घन्काउँदा गन्धर्वगान र अप्सरानृत्यलाई
चुनौती दिएजस्तो प्रतीत हुन्थ्यो। म पनि त्यो स्वरमा स्वर मिलाएर
नाचूँ जस्तो हुन्थ्यो। तर सम्भव थिएन। घाँसेदाउरेहरूको ताँती हेर्दा
आफू पनि सुटुक्क मिसिन पाए हुन्थ्यो जस्तो लाग्यो। सुकेका दाउराको
भारी बोकेका दाउरेहरू वृद्ध तपस्वीझैँ देखिन्थे।
अन्दाजी पाँच बजेतिर हामीले सिक्तेल खोलो तरेर दलगाउँको ठाडो उकालामा
पाइला राख्यौँ। खेत गोड्ने खेतालाहरूको हूलसँगै हामी पनि मिसियौँ।
उनीहरूको सुमधुर गीतसँगै झ्याउँकीरीको झ्याइँझ्याइँले मनै आह्लादित
हुन्थ्यो। उनीहरूको गीतको एक अंश यस्तो थियोः
केटाः- ट्याक्केको सिर धुम्मियो सिक्तेल खोलो रसायो
कान्छीको जोवन क्या राम्रो दिलमाया त्यसै बसायो।
केटीः- पिखुवादोभान तरौँला उकालो बाटो चढौँला
एकोहोरी माया हुँदैन दोहोरी भए भनौँला।
बैँसालु जोडीहरूका यस्ता घतलाग्दा दोहोरीमा झ्याउँकीरीको किरिरिरी
मिसिँदा मलाई पनि त्यस समूहमा सामेल भई पोखिन मन लाग्यो। त्यस्तै
साङ्गीतिक सुसेलीका लहरमा लहरिँदै हामी सिक्तेलखोलो र पिखुवाखोलाको
सेतो कलकलबाट टाढिँदै थियौँ। माथि वरपीपलको चौतारीमा आएर तिनीहरूले
आफ्नो भारी बिसाए र सुइ....या सुसेली लगाए। त्यो सुरिलो आवाज
पिखुवापारिको ठाडो भीरमा ठोक्किई आएको प्रतिध्वनिले खेतालाहरूको मनको
इच्छा बुझेझैँ लाग्थ्यो। जूनले ज्योतिको रूपमा मुक्त हाँसो हाँसेझैँ
लाग्थ्यो। जङ्गलबीचको झरनाबाट ल्याएको पानी अँजुलीमा भरेर पिउँदा
आमाको स्तनपान गरेजस्तै शीतल अनुभूति भएथ्यो।
त्यहाँबाट उचालिएका हाम्रा पाइला सातबजे राती दलगाउँको एउटा
अर्द्धपरिचित मानिसको घरमा रोकिए। बुबासँग सामान्य परिचित ती मान्छेमा
मानवतालाई दानवताले थिच्न लागेको बुझ्न हामीलाई धेरैबेर लागेन। बाहिर
दलानमा सुकुलमा बसिरहेका पाहुनालाई एक शब्द पनि खर्च नगरी भित्र पसेका
तिनले खुरुखुरु खाना पो खान थाले। उनकी श्रीमतीले पाहुनालाई के
खुवाउने हो भनेर मुख बाएकी मात्र थिइन् ती त 'यहाँ तिनका बाबुले कोदालो
खनेर थुपारिदिएको छ र खान दिनु' भनेर श्रीमतीको सातो उडाए। हामी खिन्न
भएर बस्नुबाहेक विकल्प थिएन किनकि त्यति बेलासम्म निकै राती भइसकेको
थियो।
म त केटाकेटी मान्छे अर्कातिर थकाइ र खुट्टाको दुखाइले गर्दा
निदाइहालेँ। धेरै राती घरकी बूढी मान्छेले 'अतिथि देवो भवः' भन्दै
फर्सीको तरकारी र मकै भुटेर ल्याइदिइछिन्। बुबाले मलाई उठाउनुभयो।
मैले तन्द्रामा खाएको त्यो तरकारी र मकै अझैसम्म जिब्रामा झुन्डिरहेको
छ। केही दिन अघि बुबाआमासँग भलाकुसारी गर्दा त्यस दिनको सम्झना गर्दै
मैले भनेँ - 'बुबा
! त्यस्तो दिन त अब आउँदैन होला हगी -' बुबाले भावुक
भएर लामो सुस्केरा छाड्दै भन्नुभयो- 'जीवन भन्नु नै केवल अनुभूतिको
यात्रा रहेछ - विदित विगत र अविदित आगतको।' धेरै बेरसम्म मेरो मुख
बाएको बायै भइरह्यो।
|