|
|
|
|
गजल विपुल लुइटेल
गजल 1 आँखा जुद्धा नजरहरू झुकाएर गयौ केके थियो मनमा कुरा लुकाएर गयौ ।
कल्पनामा पिरतीको माला उनेको थेँ यथार्थमा गाँठो त्यसको फुकाएर गयौ ।
बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ मुहान थियो भावनाको सुकाएर गयौ ।
निःशब्द नै भए पनि वार्तालाप त थियो बाँधेको मन खोल्ने मौका चुकाएर गयौ ।
माया गर्ने मायालुको माया नबुझेर तिमीलाई नै राख्ने यो मन दुःखाएर गयौ ।
गजल २
अँध्यारो भो मनभित्रको आकाश अलिकति नपाई तिम्रो मुस्कानको प्रकाश अलिकति ।
फूल नै हौ तिमी आखिर खानी सौन्दर्यकी लाख हुन्थ्यो पाएदेखि सुवास अलिकति ।
जून हो कि मुहार तिम्रो तेसै झलमल्ल थपिदेऊ न मोती दाना मिठास अलिकति ।
पीडा हुन्छ हृदयमा अभावमा तिम्रो दिन्नौ किन दर्दलाई निकाश अलिकति ।
पूर्ण चन्द्र मुहारबाट पन्छाउन बादल गरिनौ कि अधर खोल्ने प्रयास अलिकति ।
माया मात्रै प्रेमीलाई हुन्न रैछ काफी खाँचो भयो मायालाई विश्वास अलिकति ।
|