Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

गजल

विपुल लुइटेल

 

गजल 1

आँखा जुद्धा नजरहरू झुकाएर गयौ

केके थियो मनमा कुरा लुकाएर गयौ ।

 

कल्पनामा पिरतीको माला उनेको थेँ

यथार्थमा गाँठो त्यसको फुकाएर गयौ ।

 

बादलका आकृतिमा तस्वीर तिम्रो खोज्थेँ

मुहान थियो भावनाको सुकाएर गयौ ।

 

निःशब्द नै भए पनि वार्तालाप त थियो

बाँधेको मन खोल्ने मौका चुकाएर गयौ ।

 

माया गर्ने मायालुको माया नबुझेर

तिमीलाई नै राख्ने यो मन दुःखाएर गयौ ।

 

गजल २

 

अँध्यारो भो मनभित्रको आकाश अलिकति

नपा तिम्रो मुस्कानको प्रकाश अलिकति ।

 

फूल नै हौ तिमी आखिर खानी सौन्दर्यकी

लाख हुन्थ्यो पाएदेखि सुवास अलिकति

 

जून हो कि मुहार तिम्रो तेसै झलमल्ल

थपिदेऊ न मोती दाना मिठास अलिकति ।

 

पीडा हुन्छ हृदयमा अभावमा तिम्रो

दिन्नौ किन दर्दलाई निकाश अलिकति ।

 

पूर्ण चन्द्र मुहारबाट पन्छाउन बादल

गरिनौ कि अधर खोल्ने प्रया अलिकति ।

 

माया मात्रै प्रेमीलाई हुन्न रैछ काफी

खाँचो भयो मायालाई विश्वास अलिकति ।