Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल-१
                                                                   धीरेन्द्र प्रेमर्षि

उड्दा-उड्दै परेवा  त्यो आकाशमै ढलेको छ
चारो र्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आमा नै शहीदले रगत सिँचे
तैपनि त्यो फलबारीमा विषै किन फलेको छ -

सङ्कटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ ! हिँड्नै नपाई गलेको छ

सबै भन्छन् तेरो आँगन पार्दै छौँ उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ

मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नन-चक दलेको छ

बत्ती सारा निभे पनि, जून-तारा उँघे पनि
'प्रेमर्षि' को छातीभित्र प्रेम-दियो बलेको छ

२०५९/०४/२९

गजल-२

खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि

'लगनी' को भाका हाल्दै गाउँछे बिर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि !

उनी ठान्छन् सबै व्याधि भाग्ने गर्छ यसैगरी
छू मन्तरकी बाचा भन्दै सुगा-रटान रटेपछि

माटमा नै मन्दिर देख्ने चलित्तरले पनि अब
बलि दिने 'गहबर' मा रे, साढेसाती कटेपछि

शान्तिपूर्वक देउता पनि कहाँ गई गुहार्ने होला
परेवाको खोपमा नै बाजहरू अँटेपछि

मौसमै छ प्रतिकूल, आइहाल्छ नि बाढी-पहिरो
वसन्त नि फुल्छ तर, प्रेम-पथमा डटेपछि

२०५९/०४/३१
 


धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
सम्प्रतिः रेडियो नेपाल, काठमाडौँ, नेपाल
सम्पर्कः
hellomithila@yahoo.com