Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


आफ्नो लासमाथि आफ्नै टाउको
                                                                                                कृष्ण जोशी

अथाह समुद्रपारि पौडेर पुग्नुको रहर
नीलो पानी समाएर
हातभरि ठूलो माछा परेको बहाना रमाउनु रहेछ
सपना टेकेर विपनीमा पुग्नु
उज्यालो बिर्सिएर अँध्यारोलाई अँगाल्नुजस्तै

मैले
विपनासम्मको दूरी नाप्न सकिनँ
सपना टेकेर हिँड्ने दुष्प्रयत्नमा

कति गह्रुँगो हुँदोरहेछ
आफ्नो माटोलाई पर राखेर
अर्काको माटो शिरमाथि राख्ने दुःस्वप्न पनि

तिम्रो आँसु मेरो आँखाभरि बगेको छ आमा
मुटुमा भक्कानो फुटेको छ तिम्रो मायाले बाबा
फर्किन सक्दिनँ तर अब म
आँसुको फेर समाएर
मायाको पखेटा भएर
नाङ्गो आङ छोप्ने छहारी छाना र एकसरो वस्त्र बोकेर

हत्केलाहरू डढेका छन् मरुभूमिको तातो बालुवामा डामिएर
पाइताला चल्दैनन् म आफैँ गह्रुँगो बोझ भएको छु
नाङ्गो र भोकाएको भए पनि दुर्दिन घट्दैन रहेछ

आफ्नै बोझ त
त्यहा पनि थियो यहाँ पनि च्यापिएर सँगै आएको छ
त्यही बोझले
धारिलो चुप्पी नजिक ल्याएको छ
बन्दुकको ट्रिगरमा अल्झाएको छ मलाई
सायद हतारमा छन् अब
चुप्पी र बन्दुक मेरो मृत्युचित्कार सुन्न
मेरो मृत्यु रगतको गन्ध सुँघ्न

अब म
निर्वाणको प्रार्थना गर्न आउन सक्दिनँ
स्वयम्भू पशुपतिको प्राङ्गणमा
जन्मेदेखि पिएको
पीपलधाराको अन्तिम घुट्को पानी
पिउन पनि सायद भ्याउँदिन
तीर्थजस्तो आमाको काखमा बसेर
मन्दिरजस्तो बाको छायामा बसेर

मान्छेहरू मान्छेजस्ता छैनन् यहाँ
मायालु छाती भएका
सैँ तिहारमा फूलपाती लगाइदिने
दिदीबहिनीका जस्तै छैनन् मेरो नजिक आइरहेका हातहरू

छाती भरिभरि मरुभूमि छ
सिङ्गै घाम त्यहीँबाट उदाएजस्तो तातो
त्यही तातोमा छट्पटिदै छु
हाम्रो रोसीखोला बगरको माछा सम्झे हुन्छ मलाई

ठूला भाँडाजस्ता छन् यहाँ मान्छेका पेटहरू
रगत मासुले नभरिने पाशविक पेट
नृशंस आँखाहरू छन् आगो लप्कोझैँ बलिरहेका आँखाहरू

अब स-शरीर फर्केर म आउने विश्वास नगर्नू
अन्धविश्वासजस्तै भएको छु
कुनै भविष्यले नबिर्सने

छाया दिने कल्पना नगर्नू
भञ्ज्याङ चौतारीहरूले मलाई
भोको अजिङ्गर छेउमा पुगेको छु म यतिबेला

अन्तिम पटक मेरो मनले
देश सबै देखिरहेछ
देशमा बस्ने सबैलाई सम्झिरहेछ

कालो पट्टीभित्रबाट मेरो आँखाले देखिरहेछ
आफ्नै लास पल्टिरहेको
यस्तो विपना त कुनै सपनाले कहिल्यै देखेको थिएन
मेरै रक्ताम्य लासमाथि
विदाइको शुभेच्छा टीका टाँसिएको
मेरो टाउको र निधार राखिएको छ ।

(बन्धकस्थितिमा नै इराकमा ०६१ भदौ १५ गते हत्या गरिएका नेपाली भएर)
 


  कृष्ण जोशी
प्रकाशित कृतिहरू - 1. मृत्यु दोहोरिन्छ म बाँचे भने 2. असम्मत सम्मत 3. काठमाडौँवरिपरि
4. विसङ्गत स्वरहरू 5. पोखरीभित्रको शताब्दी 6.आगो समुद्र पानी समुद्र
ठेगानाछः  घट्टेकुलो, काठमाडौँ, नेपाल।