|
आँधीमा
-मनु मन्जिल
आँधीले विचारहरू उडाएर लगेको बेला छ
भूकम्प पल्किएर जिन्दगीबाट
धूलो झरिरहेको बेला छ
पहिराको मुनि बसेर पहिरो गएको हेर्नु छ
आफू छु ऐना
चट्याङहरूको सभामा बस्नु छ ।
थप्पड खानु र आँखाबाट झरेका ताराहरू हेर्नु
गाली खानु र आफ्नै अनुहारमा घाम अस्ताएको हेर्नु
बगैँचाबाट हुरीले फूलपात लखेटेको हेर्नु छ
आफ्नै मन
धूलो भएर उडेको हेर्नु छ ।
बेफुर्सत छु, सुस्केराहरू पालिरहनु छ
क्रोध उठेर आफ्नै छाती भत्काएको हेरिरहनु छ
चम्किला धारहरू टेकिरहनु
हल्लिरहेको आकाश हेरिरहनु
र जीवन कत्ति नसोचेर
खसिरहेका रूखका हाँगाहरू छलिरहनु छ ।
डुब्नलाई सपनाको जून पनि बाँकी नरहेको यस बेला
बस्, खडेरी सोहोरेर फिँजाउँछु आँखामा
परेलीहरू सुकाइरहनु छ ।
आफ्नै आवाज समातेर ढोलकमा पिटिरहनु छ
रेटिरहनु र रुवाएर छोडिरहनु छ सङ्गीतलाई
लय खोसेर छोडिदिनु छ गीतलाई ।
छानो खसेर हिँडेको छु
बेफुर्सत, सपनाको लास बोकेर
नियतिको किनारैकिनार हिँडिरहनु छ
दुखेको थाहा पाउँछु बस्, अरू थाहा छैन
आँधीले विचारहरू उडाएर लगेको बेला छ ।
भाद्र १, २०६१
|