|
|
|
| लील दाजै ! --मोहनप्रसाद काफ्ले ल है लील दाजै ! नमस्ते समाऊ, सबै हाल राम्रो उताको सुनाऊ, उता ब्रह्मपुत्रै नदीछेउछाउ छ सन्चैसुबिस्तै सबैमा ? बताऊ । उता ती बसेका उतै तृप्त छन् कि ? अतृप्तै भई ती यतै फर्कलान् कि ? सुनाऊ न दाजै फलाकीफलाकी, त्यहाँको अवस्था नहोस् सुन्न बाँकी । यहाँ दुःख पाई फटाहा हँसाई रुँदै ती हिँडेका उतै नै बसाइँ उहाँ ता बसेका हुनन् ती रमाई ? अझैसम्म उस्तै छ या त्यो दुखाइ ? छ उस्तै धने या भयो कुन्नि कस्तो ? भएको हुँदो हो निकै वृद्धजस्तो ? कडा नै छ या ऊ भयो रुग्णजस्तो ? छ जस्तो धने त्यो, सुनाऊ न त्यस्तो ! छ मैना फुलेकी त्यहाँ सुख्खमा कि ? छ मैना डुबेकी त्यहाँ दुख्खमा कि ? छ छोरो कि साथै कि छाडी हिँड्यो कि ? धनेको पछिल्लो कहानी सुनौँ कि ! उतै नै छ मोटे कि अन्तै कतै छ ? सँगै त्यो झुमा छे कि एक्लै कतै छ ? झुमासाथ छोरो कि छोरी छ आज ? झुमाको सहारा छ के त्यो समाज ? कि बैदार-नन्देहरू छन् सँगै नै ? कि त्यो रिक्रुटे-प्रेत आयो त्यतै नै ? हजारौँ धने छन् यहीँ नै त्यहीँ नै हजारौँ झुमा छन् यहीँ नै त्यहीँ नै । हजारौँ धनेका कथा कथ्न सक्ने, हजारौँ झुमाका व्यथा बुझ्न सक्ने, महाकाशजत्रो दिलै बोक्न सक्ने तिमी लील दाजै ! यतै बस्न सक्ने ? - इन्द्रपुर-१, मोरङ |
श्री काफ्ले सुकुना बहुमुखी क्याम्पस, मोरङका शिक्षक हुनुहुन्छ। उहाँ नेपाली भाषासाहित्यको सेवामा तीस वर्षदेखि निरन्तर लागिरहनुभएको छ। प्रशस्त फुटकर रचना प्रकाशित।