Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


पाण्डुलिपि हराएको दिन
                                                                                                    रमेश क्षितिज

निद्राको पक्षी गुँड सरेर
टाढा पुगेको होला जङ्गलको कुनै रूखमा
यता तातो तावाजस्तो ओछ्यानमा
रोटी सेकेझैँ शरीरलाई
कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी ।

कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना
एउटा इतिहासको कालखण्ड देखिने ऐनाजस्ता अक्षरहरू
अनेकौँ हापोह र आत्मकथाहरू
आँखामा भुसुनाझैँ ठुङ्न आइरहेछन् अनेक बिम्बहरू
अस्पतालको एक कुनामा रोइरहेकी छे कुनै स्वास्नीमान्छे
गर्भमै मृत शिशुको नीलो अनुहार हेरेर
अँध्यारो कोठाको एउटा कुनामा पढिरहेछ एक नेपाली युवा
आफ्नी विदेशी प्रेमिकाका शब्दहरू इमेलमा
हाँ छ लेखिएको- प्रेमका लागि फुर्सद छैन मलाई
कृपया अब हामी साथीमात्रै बनौँ !
वा बाढीले काटेर बगर भइसकेको आफ्नो खेत हेरेर
उदास उभिइरहेछ कुनै किसान खोलाको किनारमा ।

कहिल्यै नभेटिने बालसखाजस्तो भएर
हराएको छ पाण्डुलिपि आज
कसैले निभायो होला चुरोटको ठुटो
नाबालकजस्ता उसका चोखा पन्नाका ओठहरूमा
वा कुनै खलनायकजस्तो पसलेले
जबर्जस्ती च्यात्यो होला लुगाजस्ता उसका आवरणहरू
गुन्डा हुरीले गलहत्यायो होला
वा कुल्चियो होला कि असिनाको सैनिक बुटले बेसरी

पाण्डुलिपि हराएको दिन
जीवनका बहुमूल्य दस वर्षरू त्यसै गुमाएँ मैले ।
 

  रमेश क्षितिज
प्रकाशित कृतिहरूः अर्को साँझ पर्खेर साँझमा, आफ्नो साथी आफैँ भएँ( प्रकासोन्मुख)