|
बाँसुरीको धुन
शर्मिला खड्का (दाहाल)
तीन वर्षछि म माइत आएकी थिएँ । घरमा चारैतिर
मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि
एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमान्-सँगै विदेश जान पाएको थिएँ ।
तीन वर्षसम्म माइत आउन नपाएकी चेली, म आउने खबर तीन महिनाअघि नै
चारैतिर फैलिइसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई
कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजु,
ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार
ल्याएकी थिएँ । आफूभन्दा सानालाई भाग अनुसारको भागबन्डा लगाइदिएकी
थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए ।
त्यस दिनभर घरका कुना-कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएका
थिए ।
विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो । लोग्नेमान्छेखलक
मेरो श्रीमान्-सँग र स्वास्नीमान्छेखलक मसँग गफिन व्यस्त थिए ।
मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना
केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरा बुवाको नाक घोक्रेर
घिरौँलाजत्रो भएको थियो । छोरीले राम्रो
ज्वाइँ पाएकी अनि विदेश
गएर दुईचार लाख रुपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर
मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको
अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त
हुनुहुन्थ्यो । घरका भाडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका
भावहरू छरिएका थिए ।
पहिलो दिन कति
चाँडै बित्यो मलाई थाहापत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र
उत्सुकता घरको सँघार काटेर छिमेकीको
आँगनतिर पुग्न थाल्यो । मैले
आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना
पुराना दिनमा छिमेकीको एउटा झ्यालसँग नाता गासिएको अनायास सम्झना
गर्न पुगेँ । मेरो जीवनको पानामा त्यस झ्यालसँग अतीतका केही घटना
गासिएका थिए । त्यहाँ
सुधीरको चित्र थियो । मैले आमासँग
सुधीरको
बारेमा सोधीखोजी गरेँ । हाल
सुधीर कुनै प्राइभेट
स्कुलमा टिचिङ
गर्दै छ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त
भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमान्-को टहलपहल
गर्नुपर्ने अभिभारा थियो ।
साँझ पर्यो, हामी खाना खाएर केही छिन
सपरिवार गफिएर सुत्नतिर लाग्यौँ ।
राति अचानक कतैबाट
बाँसुरीको धुन बज्न थाल्यो । त्यस बाँसुरीको धुनसँग मेरो अतीत
नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ
। मेरो श्रीमान्-ले सोधे- के
भयो ? मैले भनेँ-
"हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै
उत्तर दिए - "होला कोही आफ्नी प्रेयसीको विरहमा
बजाउने ।" उनको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो ।
कतै उनले थाहा पाए भने । हुन त हामी यस्ता कतिपय गफहरू
खुल्लारूपमा गर्छौँ ।
उनी पनि विवाह अघि आफूलाई मन पराउने केटीहरूको
लिस्ट नै सुनाउँथे । म पनि केही कम थिइनँ । अझ मरमसला थपेर
स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा
हाम्रो होडबाजी नै चल्थ्यो । अनि अन्त्यमा मैले नै हार खानुपर्दथ्यो ।
म सुत्न नसके
पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहेँ । त्यो करुणरसले भरिएको
धुनको तालसँगै मेरो अतीत तरङ्गित भइरह्यो । आजभन्दा करिब
चार वर्षअघिको कुरो, म धनाढ्य बाबुकी छोरी थिएँ ।
सुधीर, उही बाँसुरी
बनाउने युवक, छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो ।
हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्ष सिनियर थियो
। प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो ।
सुरूमा म
उसलाई त्यति चासो राख्दिनथेँ । क्याम्पसमा आफ्नै
ब्याचका केटाहरू,
त्यो पनि सम्पन्न परिवारका केटाहरूसँग मात्र मेरो सम्पर्क हुन्थ्यो
। उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र
दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको
भव्यता, सानसौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार
अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकर्षित गरेको होला म
ठान्दथेँ । तर होइन रहेछ, ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा
शीतलताको अनुभव गर्न चाहँदो रहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक
हुन चाहँदो रहेछ । क्याम्पसमा पनि केके बहाना बनाएर मसँग बोल्न
खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा
कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै
उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी
आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई साइन्स
गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु भन्दथ्यो । आमा
उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म बेवास्ता गर्दथेँ ।
हाम्रो घरमा एकसे
एक स्मार्ट र पढेलेखेका केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको
भाइ, कोही भाउजूका दाजु, अनि कोही भाडावालका आफन्तहरू । सबै मसँग
वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे ।
बिस्तारै
घरमा मेरो बिहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने
पक्षमा थिइनँ । समय लम्बिँदै गयो ।
बीचमा क्याम्पस केही दिन बन्द भयो
। ऊ त्यस झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल
र खर्च लिन गयो होला । मलाई
उसप्रति किन हो
बिस्तारै दया र
सहानुभूति जागेर आउन थाल्यो । केही दिनपछि ऊ पुनः देखा पर्यो ।
किनभने उसले आफ्नो पढाइखर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि
पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो-
म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति
छोटो समयमा कसरी सिक्यो होला
! ममा कौतुहलता जाग्यो । कौतुहलतालाई
मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त
बनाएँ।
उसले फेरि मेरी
आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ
। मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एक दिन उसको
कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र
तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले
हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्यो ।
सायद गफ गर्दा डिस्टर्ब
हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नुभएको पाकोस् न' भन्दा 'हैन
पाकिसक्यो' भनेर मलाई विशुद्ध झूटो
बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको
सन्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरेँ। उसले
केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक
उट्पट्याङ्गे स्वभावकी थिएँ । त्यसमाथि यौवनका उन्मुक्त छालहरू, हँसीमजाकमा तरङ्गित हुने
समय थियो । मैले उसलाई 'खाना खुवाउनुहुन्न
?' भनी ठट्टा गरेँ। उसले
मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले
उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालाई सत्य साबित गराउन
'खाना खुवाउनु हुन्न
?' भनेको थिएँ ।
साँच्चिकै खाना
काँचो थियो ।
मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चामात्र मुखमा हालेर मिल्काइदिएँ। उसलाई
सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो
अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली
उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी
थिएँ । मेरो व्यवहारले
सायद उसलाई चोट पर्यो होला, किनभने पीडा
भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाइ । त्यो रात उसले रातभर
बाँसुरी बजाइरह्यो । मध्यरातमा म
ब्यूँझिँदा पनि बजाइरहेको थियो ।
सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको
आत्माबाट वेदना छरिएर बाँसुरीको सुरसँग निस्किरहेको थियो । मलाई
आत्मग्लानि भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा
कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग
गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ ।
मलाई उसप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ
प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म
छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेको थिएँ ।
केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई
मैले नोटकापी बुझाउनु पर्दथ्यो। तसर्थ मैले उसको डेरा जाने निश्चय
गरेँ ।
योजनामुताबिक म उसको डेरामा पुगेँ । डेरामा
उसको आमा आउनुभएको रहेछ । ऊ निकै
बिमारी भएको रहेछ । मैले
नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि
गम्भीर भएँ ।
"नानीको घर कहाँ हो -" उसकी आमाले परिचयको
पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि
उहाँले भन्न थाल्नुभयो- "हेर न नानी, बाँसुरी नबजाउनू, छातीको
बिमार
छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जबरजस्ती घर जाँदा लिएर
आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्ने मान्छे यसरी
बिमार भएर कहाँ हुन्छ र ! म यही समाचार सुनेर आएकी नि नानी ।"
उसकी आमाको कुरा सुनेर म स्तब्ध भएँ, आत्मा
पोल्न थाल्यो । त्यो बाँसुरी बजाउन बाध्य गर्ने त म नै थिएँ । उसको
पहेँलो अनुहार, दार्शनिक हेराइ अनि अशक्तताले मलाई पिरोल्न थाल्यो
। उसकी आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जसको खाडलबाट
उक्लँदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ ।
कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।
मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने
मेरी आमा मेरा प्रत्येक क्रियाकलापको निगरानी राख्नुहुन्थ्यो र म
पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र
सुधीरको विषयमा भित्रभित्रै धेरै कुरा मनन गरिरहनुभएको थियो ।
उहाँको पनि
उसप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो
। मैले उसलाई दूध पठाउन आमालाई भने । आमाले पनि मैले भनेमुताबिक
नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले
बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा
बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सम्पर्क केही बढेकाले घरमा
गाइँगुइँ कुरा चल्न थाल्यो । म घरकी जेठी छोरी थिएँ । मैले केही काम
गर्दा पनि सबैका आँखा सतर्क हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू
असरल्ल छरिएका हुन्थे । त्यस समयमा छोरीलाई परपुरुषसँग हेलमेल
बढाएको राम्रो मानिँदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराधजत्तिकै
मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा
अगाडि आउँदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश
थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने
हुर्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक
प्रतिष्ठाको बलि दिएर
सुधीरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म
उसप्रति कसरी हो धेरै नजिक हुदैँ गएकी थिएँ ।
मैले वास्तविकतालाई क्षणिक प्रेमले
अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि
उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि
हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ
स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो
कुरामा सहमत भयो । मैले अबउप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचासमेत गराएँ ।
घरमा मेरो विवाहको कुरा चलिरहेको
थियो । भनेजस्तो कुटुम्ब
अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो
। विवाहपश्चात् म दुईपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो
राखिनँ । त्यसपछि म तीन वर्षका लागि
बिदेसिएकी थिएँ ।
अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी
बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर
उससँग भेटेर गफ गर्ने निश्चय
गरेर निदाउन प्रयत्न गर्न थालेँ।
बिहान म उसको कोठामा पुगेँ । कोठामा
ताला लगाइएको थियो । म छक्क परेँ । यति
बिहान ऊ कहाँ गयो भनेर ।
मैले उसको घरपट्टीलाई सोधेँ । उसको घरपट्टी मेरो हातमा सानो पत्र
राखिदियो ।
'सानू, म तिम्रो जीवनदेखि धेरै टाढा जान
चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु । तिम्रो सफल जीवनका लागि
शुभकामना - उही
सुधीर ।'
पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित
छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँका लागि
बिदा भएँ ।
मन एकतमासको भइरह्यो ।
सुधीरको अनुहारले पछ्याइरह्यो अनि
सोधेजस्तो लाग्यो- तिमीले बिर्से पनि मैले बिर्सन सकिनँ । अब मेरा
लागि कुनै सोधखोज नगर्नू..... कुनै खराब सपना देखेजस्तै गरी
बिर्सनू ।
साहित्यसञ्चार समूह
इटहरी
|