|
|
|
|
कविचैँ म दह्रै भएँ
--लावण्य सापकोटा
अलिकति बाहिरको चोरेँ अलिकति भित्रको चोरेँ बाहिरको थोरै चोरेँ भित्रको धेरै चोरेँ बाहिरको चोरे पनि भित्रको चोरे पनि धेरै चोरे पनि थोरै चोरे पनि चोर्नचैँ मैले कवितै चोरेँ चोरेरै भए पनि कोर्नचैँ मैले कवितै कोरेँ।
गाग्रीबाट लोहोटामा पानी सारेझैँ नामीनामी कविका कितापबाट दामीदामी कविता चोरेर सुटुक्क कापीमा सारेँ, सारेको कवितालाई यसरी सालखोल पारेँ- माथिको हरफ तल झारेँ तलको हरफ माथि सारेँ बीचको हरफ बेपत्ता पारेँ यसरी मैले कविता चोरेँ जसरी चोरे पनि चोर्नचैँ मैले कवितै चोरेँ चोरेरै भए पनि कोर्नचैँ मैले कवितै कोरेँ ।।
बाघले बाख्रालाई दारे झैँ मूल कवितालाई यसरी दारेँ- मूल कविताको दाँतै झारेँ दाँतमात्र होइन बङ्गारै झारेँ सबै झर्यामझुरुम पारेँ सिङ्गै कविता कर्यामकुरुम पारेँ
अनि दाँत झरेको कुरुप कविता छपाएर मोटो रकम हात पारेँ मूल कवितालाई लात मारेँ कविको छविलाई बेपत्ता पारेँ यसरी मैले कविता चोरेँ जसरी चोरे पनि चोर्नचैँ मैले कवितै चोरेँ चोरेरै भए पनि कोर्नचैँ मैले कवितै कोरेँ ।।।
कविताको केवल टाउको फेरेँ सिङ्गै कविता मेरै बाउको चोरेँ बाउको चोरे पनि साउको चोरे पनि चोर्नचैँ मैले कवितै चोरेँ चोरेरै भए पनि कोर्नचैँ मैले कवितै कोरेँ ।।।।
चोरेरै भए पनि, कोरेरै भए पनि कविचैँ म कवि नै भएँ झारेर भए पनि दारेर भए पनि कविचैँ म दह्रै भएँ ।।।।। |