Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

म कसैका लागि सिँढी हुँ

 

--श्रीधर शर्मा--

मलाई थाहा नै भएन

म कसैका लागि

सिँढी बन्दै छु, भन्ने कुरा,

ओर्लिइँदै छु र खिइँदै छु

म कसैका लागि सिँढी हुँ।

 

एउटा जिन्दगी जो मसँग छ

जसलाई मैले स्याहार्न खोजेको छु

जसलाई मैले सिँगार्न चाहेको छु

तर, म भनेको त

थुप्रैथुप्रै तख्ताहरू मात्र हुँ

म, पूर्ण सोपान बन्नै सकिनँ!

 

यात्रामा,

कसैको झरेको रुमाल कुल्चिइँदो छु,

हरेक खुसीयालीमा हाँसो बाँडिइँदै छु,

म एक लाचार प्रेमी

एक असफल पति

अशक्त-अकर्मण्य-खिन्न बाँचेको

एक दुर्बल पुत्र

प्रत्येक पटक पराजित-कुण्ठित

एउटा पिता चोइटिएको छु।

 

सन्तानका आशाहरूले

बाआमाका विश्वासहरूले

स्वास्नीको निर्भरताले

निरन्तर ठेलेको छ मलाई।

तर थाहा नै भएन,

म, टुक्राटुक्रा बाँचेको रहेँछु।

 

मैले अरूका लागि मात्रै

स्वअस्तित्व साँचेको रहेँछु। 

 

आज,

म अलिकति आफू बन्ने कोसिस गर्दा

मलाई, घरका सँघारहरूले

रोकिरहेछन्,

भित्ताहरूले, झ्याल अनि ढोकाहरूले

मेरो बाटो छेकिरहेछन्।

म, लाचारी ओकलिरहेको छु

विवशता र कर्तव्यलाई

तराजुमा जोखिरहेको छु।

 

मेरो मन बा-आमाका निम्ति हुनुपर्थ्यो

मेरो शक्ति घर सबल पार्नका निम्ति हुनुपर्थ्यो

शरीरमात्र मेरी अर्धाङ्गिनीका निम्ति हुनुपर्थ्यो

मलाई मेरा अग्रजका आँसु सरापिरहेछन्।

 

मेरो तातो रगत, मेरो रातो रगत

देशका निम्ति बग्नुपर्थ्यो,

बुद्धिविवेक समाजका निम्ति

अर्पनुपर्थ्यो मैले।

तर, कसैको मन राख्‍न

मैले आफ्नै मन हराएँ,

कसैको सुरक्षा गर्न

मैले आफ्नै सामर्थ्य गुमाएँ

शरीर पनि मेरो आफ्नै

रहेन अब,

रगतको रातोपन

गुमाएँ मैले।

 

म निरन्तर खिइँदै छु

चढिँदै छु र ओर्लिइँदै  छु

म कसैका लागि सिँढी हुँ

मात्र एक सिँढी।

 

 

इटहरी