Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


व्यङ्ग्यनिबन्ध
                                                  गिलास
                                                                                                                          -विमल भौकाजी


कति अनौठो छ गिलास ! सानो फेदबाट फैलिँदै टुप्पोतिर गएको । तर आफैँमा सन्तुलन मिलाएर बस्न कत्ति जानेको !
- चिया राख्‍नोस्
- पानी राख्‍नोस्
- दूध राख्‍नोस्
- बियर राख्‍नोस्
- रक्सी राख्‍नोस्

जेसुकै राख्‍नोस् गिलासमा, गिलास कुनै विरोध गर्दैन । मानौँ पिउनकै लागि जन्मेको हो गिलास । अहँ, अलिकति पनि अल्छी गर्दैन, हरपल हरक्षण गिलास उभिएर बसिरहन्छ ।
मैले धेरैपटक देखेको छु, पिउन पाएपछि गिलासले यसरी पिउँछ...... यसरी पिउँछ ....., आफ्नो र अर्काको पनि चिन्दैन र कतिसम्म पिउनुपर्छ - त्यो पनि जान्दैन ।
थरीथरीका छन् गिलासहरू, बुट्टाबुट्टामा सजिएका- रङबिरङ्गी.......
- कुनै स्टिलका,
- कुनै माटाका,
- कुनै काँचका,

तथापि आफू सकेसम्म नफुट्ने नटुट्ने कसम खाएर हरहमेसा पिउने कर्तव्य निभाइरहेका हुन्छन् गिलासहरू ।
तर पिउने क्रममा यदि त्यस्तै अवस्था आइपर्‍यो भने .......
- गिलास आफू जोगिएर अरूलाई फुटाउन खोज्छ,
- आफू सिङ्गो रहेर अरूलाई टुक्र्याउन खोज्छ,
- आफू तातिएर अरूलाई पोल्न खोज्छ ।

खतरनाक छन् गिलासहरू । जब धेरै पिएर मात्तिन्छ गिलास, कसैलाई चिन्दैन त्यसले, आफूजस्तै अर्को गिलासलाई चिन्दैन । ...... पिउँदै गएपछि गिलासले आफ्नो परिभाषा बिर्सन्छ, बेहोस नबनुन्जेलसम्म पिइरहन्छ ।
- गिलासले मोटरभित्र पिउँछ,
- अफिसभित्र कुर्सी बसेर पिउँछ
- घरघरमा/ होटलहोटलमा
- कोठा कोठामा/चोटा चोटामा ।

कहाँ मात्रै पिउँदैन गिलासले ! पिउने कला जानेको छ त्यसले । सुर्क्याईसुर्क्याई पिउँछ, फुर्क्याईफुर्क्याई पिउँछ ।
साह्रै नरम...... साह्रै भद्र ..... साह्रै चिल्लो ..... साह्रै सफा..... साह्रै उज्यालो .... साह्रै चम्किलो ..... आहा, गिलास !!
कुनै पनि गिलास हेरेर तपाईँलाई पत्याउनै मुस्किल पर्छ कि, के गिलास जो आफू जोगिएर अरूलाई फुटाउन टुक्र्याउन खोज्दा आफू सग्लै बसिरहन सक्छ ! के अरूलाई पोल्न खोज्दा आफू नजलीकन बस्न सक्छ !
तर तपाईँले पत्याए पनि नपत्याए पनि गिलासले त्यसो गर्न सक्छ । बाहिरी रूपमा जति असल स्वभावको देखिए पनि वास्तवमा गिलास त्यस्तो छैन । भनेँ नि, खतरनाक छन् गिलासहरू ।
-मौका परे आफूजस्तो अर्को गिलासलाई लडाइदिन्छ, खसाइदिन्छ, फुटाइदिन्छ, टुक्र्याइदिन्छ गिलासले ।
त्यसो त गिलास सधैँ अरूलाई पछार्ने दाउ खोजेर बसिरहेको हुन्छ ।
..... एउटा कुरो तपाईँलाई थाहा नहुन पनि सक्छ । त्यो के भने, गिलास आफू गिलासकै समाजभित्र रहेर पनि त्यसको हेलमेल भने गिलासहरूसँग नभै चम्चाहरूसँग बढी छ । ..... गिलासको खास सम्बन्ध नै हुन्छ चम्चाहरूसँग ।
गिलासले चौबीसै घण्टा चम्चाहरूलाई आफ्ना वरिपरि घुमाउने वातावरण तयार गरिराखेको हुन्छ ।
- गिलास खुसामद चाहन्छ चम्चाहरूबाट,
- चाप्लुसी चाहन्छ,
- चाकडी चुक्ली चाहन्छ ।
र यिनै चरित्रमा तल्लीन गिलास कहिलेकाहीँ उपद्रैसँग बौलाउँछ पनि ।
हो, मैले देखेको छु, चम्चाहरूमार्फत् गिलासले आफूजस्तै अर्को गिलासको रगत घुट्क्याएको छ ।
तपाईँ सोध्नुहोला, गिलाससँग रगत कहाँ हुन्छ - ...... हुन्छ, गिलाससँग रगत हुन्छ - एकदम रातो रातो,....... तपाईँहाम्रैजस्तो ।
जब कहीँ सुदूर पश्चिमको 'रण-मैदान'मा ढल्छ एउटा कुनै सुन्दर गिलास- तब त्यसबाट छताछुल्ल पोखिन्छ रगत,.... पोखिन्छ मात्रै होइन धरर बग्छ, र गिलास घुटुघुटु पिउँछ त्यसको रगत ।
- रमाउँछ .....
- उफ्रन्छ .....
- नाच्छ ......
- गाउँछ .....
मानौँ, गिलासको लागि एउटा क्रीडास्थल हो रगतको आहाल ।
हो, रगतको आहालमा चुर्लुम्म डुबी-डुबी पौडन्छ गिलास । एउटा ब्वाँसाले झैँ मुख गाडेरै रगत पिउँछ ।
.... पिउने सन्दर्भमा, अहिले गिलासका लागि सबैभन्दा प्रिय तरल पदार्थ नै रगत भएको छ । हो, रगतबाहेक आजकल केही मनपर्दैन गिलासलाई ।
- रगतको रङ मन पर्छ गिलासलाई,
- रगतको स्वाद मन पर्छ,
- रगतको तरलता मन पर्छ ।
मलाई थाहा छैन, किन हिजोआज गिलासहरूले रगतलाई यस्तरी मन पराउन लागेका होलान् !
..... म देखिरहेछु, गिलासहरू बन्दुकमा अनुवाद भैरहेछन् ।
र, सोंचिरहेछु, बन्दुक बनेका मान्छेको कहिले अन्त होला ! यो गिलासप्रवृत्ति !!