Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


पहाड उक्लेर

-- विधान आचार्य

1

माथिबाट झर्दै आएको पहाडले

मधेसलाई आफ्ना पोल्टामा राखेर

नदीलाई गलबन्दी बेरेझैँ काँधमाथि घुमायो

चुचुराबाट सिंहावलोकन गर्‍यो

अनि थचक्क बस्यो।

2.

घाममा नुहाएर बिहानीपख

पहेँलिएर उभिएको पहाड

दिन खुल्दै जाँदा पसिना सरोबर भएर

साँझमा जूनसित कठ्याङ्‌ग्रिएर कुरा गर्छ।

3.

थोरै, तोक्माका - टक्क, टक्क र टक्क

धेरै बुटका - टक् टक् टक् टक्

आवाजहरूलाई पोल्टामा हालेर

आँसुको भाषामा पहाड बोल्छ

बैसाखे मुनालाई चुँडेर

पात बजाउन अब कसको आँट

पहाड बन्दुक बोल्छ, ड्याम्म

गोली बोल्छ, परररर्र

अरूले पहाडका भाषा फेरिदिएका छन्

मानौँ पहाडको घाँटी सेरिदिएका छन्।

4.

सधैँ सखारैमा, 'झ्याँपी उठ्' भन्दै

चिबेचरीसित उठ्ने पहाड

आजभोलि, एक टाँगो घाम आइसक्दा पनि

बिस्तारै ढोका खोलेर, बाहिर पल्याक्‌पुलुक हेरेर,

सुरक्षाको बन्दोबस्त जाँचेर मात्र

ढाडसको दैलो पोत्छ

र सुस्ताएर दङ्ग पर्छ

'रातभरिमा मरिएनछ'।

5.

गामबेँसी का उकाली-ओरालीमा

जीवनको हलो जोत्‍ने पहाड

हातेमालोका अनौ र प्रीतका नारा3

सबै फ्याँकेर

गोरूलाई गोठमै सुकेका पराल खुवाएर

जीवन पर्खेको छ,

अहिले न ऊ ढुक्कले गामबेँसी हिँड्न पाउँछ

न ऊ सुसेली हालेर पिरती खेल्न पाउँछ

तै राति सुत्‍नेबेला

त्रासको खोलेसित आफ्ना मनोभाव बुन्छ

अरू मरेका सूचनाले

उसको मरेको संवेदना आहत हुँदैन

मन मरेर के भो ?

शरीर जीवितै रहेकामा गर्व गर्दै पल्टिन्छ

'आजपनि बाँचिएछ'।

6.

खै मदेस र उपत्यकाहरू के गर्दा हुन्

पहाड त साँच्चै मरेको छ

जहाँ जीवन थियो वास्तवमा

उही अवसानमा रूपान्तरित छ

माथि कोटबाट तमोर र अरूण हेर्छ

उता मर्स्याङ्दी र त्रिशूली,

पल्तिर भेरी र सेती

कठै नदीका रङ्गीन पानीहरूमा

हिमालदेखिको रगत बगेको हो कि ?

7.

जोसुकैले बगाओस्,

जसरीसुकै बगाओस्

पानीका लागि

उसका धारमा मिसिएपछि सबै आफ्नै हुन्छ

जोसुकै पुरियोस्, जसरी नै पुरियोस्

माटाका लागि सबै आफ्नै हुन्छ

जीवनको डोरी चुँडिएर बहेका

नदीका रक्ताम्म्य धारहरू, माटाका लागि मरिमेट्ने हातलाई

लुला पारेर माटामै पुरिएका धेरै हातहरू

सबैको मौन साक्षी छ पहाड।

8.

नबगाउनुपर्नेलाई बहाएर

चोट खाएको नदी

नपुर्नुपर्नेलाई पुरेर

भक्कानिएका कान्लाहरू

पहाड आफैँ आला घाउमा घाम-जून बिर्सेको छ

सपना जागेर बिपना मरेको पहाड

कथाहरूमाथि कथा थप्दै

उठ्छ, निहुरिन्छ, थचक्क बस्छ र सुत्छ

यसभन्दा अरू पहाडका दिनचर्या छैनन्

र ती उठाइ, निहुराइ, बसाइ र सुताइ,

कुनै पनि उसका आफ्नै हैनन्।

9.

म मूर्ख

त्यही पहाडमा

आफ्नो घरजम सोचिरहेको छु।