|
|
|
|
जरैदेखि काट्दा -- कृष्ण बिहारी
शमशादलाई मैले दुई महिनाको छुट्टीमा जाँदा आफ्नो टी.भी. र भी.सी.आर. दिउँला भनेर वाचा गरेको थिएँ। त्यसै पनि ती सामान दुई महिना त बन्दै रहन्थे। तर छुट्टी हुनुभन्दा पहिले नै एकजना मित्रले मातापिता भिजिटमा आउँदै हुनुहुन्छ, वहाँहरूलाई आरामसित राख्न सुविधाजनक ठाउँ चाहिन्छ भनेको थियो। मेरो फ्ल्याट उसलाई दुई महिनाका लागि दिँदा उसको ठूलो समस्या हल हुन्थ्यो। जुन भाडा उसले नचिनेको व्यक्तिलाई दिन्थ्यो त्यो मैले पाउँथेँ। मित्रको सोचाइ पनि आफ्ना ठाउँमा सही थियो। ऊ आबुधाबीमा अर्को अविवाहित साथीसँग कोठा साझा गरेर बसेको थियो। त्यही कोठामा आमाबाबुलाई राख्न पनि सम्भव थिएन। उसले अस्थायी रूपले कोठाको व्यवस्था त गर्नैपर्ने थियो। वहाँहरू घुम्न आउनुहुँदै थियो, त्यसैले कम्तीमा दुई महिना त बस्नु नै हुन्थ्यो। त्यसमा थप किचन र बाथरुमको सुविधा वहाँहरूलाई चाहिने नै थियो। दिनहुँ होटलमा खाना खान असम्भव त थिएन तर त्यसमा कठिनाइहरू प्रशस्तै थिए। मित्रको चाहना पनि यही थियो, म उसलाई फ्ल्याट दिऊँ जसले उसलाई मातापितासँग धेरै समय बिताउन सजिलो होस्। मलाई पनि मित्रको सुझाव सही लाग्यो। म सपरिवार दुई महिनाका लागि जानेवाला थिएँ। त्यस अवधिको भाडा पनि मैले तिर्नै पर्थ्यो। दुई महिनाको भाडा पनि कम थिएन। करिब चालीस हजार हुन्थ्यो। अचानक आएको प्रस्तावले यात्रामा हुने खर्चका बारेमा सोच्दा मलाई केही राहतको अनुभव भएको थियो। मैले शमशादलाई अचानक आएको प्रस्तावबारे भनेँ। मित्रलाई दुई महिनाका लागि फ्ल्याट दिँदै छु। त्यसैले टी.भी.र भी.सी.आर. हटाउन त मिलेन। शमशादलाई पनि यसमा केही अनुचित लागेन। उसले भन्यो "तपाईँ जानुअगाडि मलाई सेकेन्डह्यान्ड टी.भी.र भी.सी.आर. किनिदिनुहोला ....।" सहरमा सयौँ दोकानहरू थिए जहाँ सेकेन्डह्यान्ड फर्निचरदेखि लिएर इलेक्ट्रोनिक सामानहरू पाइन्थे। केही किन्नपरे खासै झन्झटको कुरा थिएन। त्यसैले मैले हुन्छ भनिदिएँ। छुट्टी सुरु हुन अझै चार दिन बाँकी थियो। हरेक बेलुका किनमेल भइरहेको थियो। एउटा सामान लिएर फर्केपछि अर्को सम्झना हुन्थ्यो। फलानाका लागि यो, फलानाका लागि त्यो भन्दाभन्दा कसैका लागि त सामान छुटिहाल्थ्यो। यात्राभन्दा पहिले जहिले पनि यस्तै हुन्थ्यो। सधैँ अन्त्यमा केही न केही छुटि नै हाल्थ्यो। समय दौडादौडको स्थितिमै बितिरहेको थियो। यात्राको ठीक एक दिनअगाडि शमशादले बिहान फोन गर्यो "मैले एउटा टी.भी. हेरेको छु, तपाईँले एकपल्ट हेरिदिनुहोस् अनि किनौँला....... भी.सी.पी. चाहिँ दुईचार दिनपछाडि लिन्छु।" "लौ न त, म एक छिनमा आइहाल्छु .... छोराछोरी सुतेका छन् र पत्नी स्कुल गएकी छन् ..... छोराछोरी उठेपछि आइहाल्छु।" "छोराछोरी स्कुल किन नगएका ?" उसले सोध्यो। "छोराछोरीको आज अन्तिम दिन हो, खासै पढाइ हुँदैन त्यसैले घरमै छन् .... मैले र पत्नीले त भोलि पनि नगए पासपोर्ट नै पाइँदैन।" जुन दिनदेखि स्कुल बिदा हुन्छ त्यही दिनमात्र स्पन्सरले पासपोर्ट दिन्छ। यो देशको नियम नै यस्तै छ। म र मेरी पत्नी एउटै स्कुलमा छौँ। उनी बिहानको पालिमा छन् र म दिउँसोको पालिमा। दिउसोको पालि सवा एक बजे सुरु हुन्छ। छोराछोरीलाई नौ बजे उठाएपछि म शमशादकहाँ जान हिडेँ। शमशादले लन्ड्री चलाउँछ। हुन त लन्ड्री उसका काकाको हो र ऊ त्यहाँ काम गर्छ। पालैपालो काका-भतिजा भारत आउजाउ गरिरहन्छन्। काका हुँदा टी.भी. र फिल्म हेर्न मनाही छ, त्यसैले काका भारत भएका बेला शमशाद सेकेन्ड ह्यान्ड टी.भी.र भी.सी.आर. किन्छ अनि काका फर्किने तिथि पत्ता लागेपछि फेरि बेचिहाल्छ। काकाको मान्यतामा फिलिम-सिलिम हेर्नु, नाच्नु गाउनु... सच्चा मुसलमानका लागि पटक्कै राम्रो होइन। शमशाद पनि सच्चै मुसलमान हुन्, झूठा त हैनन्, उनको रुचि छ त के गर्ने ? कतिपय कामहरू सबैलाई लुकाएर गर्नुपर्छ। शमशाद पनि त्यसै गर्छन्। मेरो डेराबाट लन्ड्रीको दूरी त्यस्तै आधा किलोमिटर होला। बस, नाजदा स्ट्रिटको निसान कार सोरुमबाट जावाजात रोडतिर अगाडि बढ्दै सिग्नलसम्म जानुपर्छ। चर्को घाम लागेको थियो। जुन महिनाको उन्तीस तारिख। गर्मी आफ्नो यौवनमा थियो। यति कम दूरीका लागि ट्याक्सी पनि के लिनु र ? ० ० ० "भन कहाँ जानु छ ....... " निधारमा आएका पसिना पुछ्दै मैले शमशादलाई भनेँ। "यहीँ पासपोर्टरोडमा ... दुई मिनटको बाटो छ।" शमशादले दोकानको मुख्यद्वारमा ताला लगायो र छिटो पाइला चाल्दै भन्यो "यो समय त कस्टमरहरू आउने हो ..... तुरुन्त लिएर फर्किहालौँ" सेकेन्डह्यान्ड सामान बेच्ने त्यो दोकान लन्ड्रीबाट एक फर्लाङ टाडा पनि थिएन तर टि.भी. किनेपछि ट्याक्सी लिनुपर्ने बाध्यता थियो। हामी दुवैले टि.भी. लियौँ, उठायौँ र मुख्य सडकको फुटपाथमा राखेर ट्याक्सी पर्खिन लाग्यौँ। एउटा ट्याक्सी छेउमा आएर रोकियो र त्यसैको डिकीमा हामीले टी.भी. राख्यौँ। शमशाद ड्राइभरसँग अगाडि बस्यो र म पछाडि बसेँ। ट्याक्सीले घुमेर यु-टर्न लिनु थियो र फेरि त्यति दूरी पार गर्न त तीनचार मिनटभन्दा ज्यादा समय लाग्नेवाला थिएन। तर त्यही तीन-चार मिनटको समय ........ ट्याक्सीमा बस्दै मलाई खुट्टामा केही ठोक्किएजस्तो भयो। हेरेँ एउटा पर्स थियो। मैले त्यसलाई उठाएँ र शमशादलाई दिँदै भने "यो पर्स यहाँ भुइँमा थियो। सायद कुनै लेडीले छोडेको हुनुपर्छ। ड्राइभरलाई देऊ त। पर्स उठाउन र शमशादलाई दिन मुस्किलले पाँच-सात सेकेन्ड लागे होलान्। शमशादले पर्स मबाट लिएर ड्राइभरलाई दियो। उसको लन्ड्रीअगाडि ट्याक्सी रोकियो। हामी दुवैले टि.भी. डिकीबाट निकालेर दोकानभित्र लग्यौँ। मैले शमशादलाई भनेँ "एन्टेनाको व्यवस्था गर, म बेलुका आएर यसलाई ट्युन गरिदिउँला। अब म बजार जान्छु, केही किनमेल गर्नु छ।" म त्यस लन्ड्रीबाट निस्केर मुख्य सडकमा आएँ। बजार गएर आफूले बनाएको लिस्टअनुसार किनमेल गर्दा गर्दै बाह्र बजिहाल्यो। फ्ल्याटमा पुग्नेबित्तिकै पहिलो प्रश्न थियो "कसैको फोन त आएन ?" ठूलो छोराले भन्यो- "लन्ड्रीबाट फोन आएको थियो।" मलाई झर्को लाग्यो यो शमशादमा अलिकति पनि धैर्य छैन। मलाई साढे बाह्र बजेको बस पक्रिनु थियो स्कुलका लागि तर पनि मैले शमशादलाई फोन गरेँ "हेलो ......" उता शमशाद नै थिए "भाइसाहब, आपत् आइलाग्यो, टी.भी. नभएर बबाल लिएर आएछौँ।" "किन अत्तालिएको, बेलुका आएर म सेट गरिदिइहाल्छु नि।" "होइन टी.भी. सेट गर्ने त कुरो होइन ..... त्यो पर्स ...... समस्या भएको छ ..... र हेर्नु पुलिस आइसक्यो ...... " शमशादले फोन राख्नु अघि भने "पर्स कुनै ब्रिटिस लेडी को हो रे ... अनि त्यसमा बाह्रसय दिरहम, पर्सनल फोटोहरू र ड्राइभिङ लाइसेन्स थियो भन्छे अरे ..... जुन त्यसमा अब छैनन्। धम्की दिएर गएकी छ, पुलिसले लान्छ भनेर .... ऊ पुलिस आइ पनि हाल्यो।" र शमशादले फोन काटिदिए। तर उनको सूचनाले मुटुको धड्कनचाहिँ निकै बढायो। मेरो सामुन्ने धरती थिएन। मेरा खुट्टामुनि जमिन थिएन। शिरमाथि ईश्वरको आकाश थिएन। मेरो आफ्नै इमानदारी पनि मसँग थिएन। अचानक आएको यो समाचारले म ब्याकुल भएँ। मलाई लाग्यो एकै छिनको मात्रै कुरो हो। पुलिसले शमशादलाई सोध्नेछ र उनलाई बाध्यतामै पुलिसलाई लिएर मकहाँ आउनुपर्नेछ। कोठाभरि गएका केही दिनहरूमा किनेका सामानहरू बग्रेल्ती थिए। थुप्रै दिनको किनमेल अस्तव्यस्त नै थियो। प्रायः हरेक गोजीमा रूपैँया-पैसा थिए। मेरो र पत्नीको तीन-तीन महिनाको वेतन थियो। प्रश्न बाह्रसय दिरहमको थिएन तर बाह्रसय दिरहम तिरेपछि मान्छेलाई म निर्दोष छु भनेर कसरी विश्वास दिलाऊँ भन्ने थियो। हडबडीमा म घरभित्र किनेर थुप्रेका सबै सामान र सुटकेसहरू बोक्दै दोस्रो तलामा बस्ने मित्रको फ्ल्याटमा राख्नलाई तीनचार पल्ट पुगेँ। भागाभागको हालतमा मित्रकी पत्नीलाई केही भन्न पनि सकिरहेको थिइनँ। छोराछोरीहरू अत्तालिएका थिए तर स्थितिको भयावहताको अनुमान उनीहरूलाई थिएन। गोजीमा रहेका पैसा पनि नगनीकन मित्रको पत्नीका हातमा राखिदिएँ र आफ्ना फ्ल्याटमा आएर आउने स्थितिको विचार गर्न लागेँ। मैले स्कुलमा फोन गरेर आफूले सामना गर्नुपरेको स्थितिबारे प्रधानाचार्यलाई बताएँ। अनि म अलिक ढिलो स्कुल आउँछु पनि भनेँ। पत्नीलाई "अलिकति पनि नडराउनू, पुलिसले मलाई लिएरै गए पनि चिन्ता गर्नुपर्दैन, तिमी छोराछोरी लिएर भोलिको बुक गरेको फ्लाइटबाट भारत जानू, म पछि आइहाल्छु, पुलिसले मलाई कति पो राखिहाल्छ र किनकि मैले केही अपराध गरेकै छैन, यस मुलुकमा न अन्याय छ, न मुद्दा फैसला हुन समय लाग्छ" भनेँ। भन्न त यी कुराहरू मैले भनेँ र आफूलाई पूरै सामान्य देखाउने पनि प्रयास गरिरहेँ, तर न म नै सामान्य थिएँ न पत्नी यो समाचारले र मैले आश्वस्त गराउन खोजे पनि, संयत हुन सकिरहेकी थिइन्। उनी निकै अत्तालिएकी थिइन्। मेरो हालत त म नै जान्दछु जे थियो। समयको एक एक पलले नयाँ त्राससँग मिलाइरहेको थियो। कानुनले त सबै थोक सुन्छ तर पुलिस, पुलिस त केही सुन्दैन। उसले आफ्नो काम गर्नैपर्ने हुन्छ र गर्छ पनि। केही क्षणका लागि त त्यो ट्याक्सी-ड्राइभर र ब्रिटिस महिलाको मिलेमतो हो कि जस्तो लाग्यो। सधैँ ऊ ट्याक्सीमा छोड्छे होला र ड्राइभरसँग मिलेर यात्रीलाई फसाउँदा हुन्। पुलिसको डर देखाएर पैसा लिँदा हुन् नत्रभने यति चाँडो त्यो ट्याक्सी-ड्राइभर र ब्रिटिस लेडीको भेट भईकन लन्ड्रीसम्म आइपुग्नु, सम्भवै लाग्दैन। एकएक पल बिताउन मुस्किल परिरहेको थियो। म बारम्बार लन्ड्रीको नम्बर डायल गर्थेँ तर उताबाट फोन उठिरहेकै थिएन। प्रत्येक पल्ट फोन गर्दा र नउठ्ता, मनमा आशङ्का जन्मिन्थ्यो पुलिस ढोकामा अब आयो, तब आयो। जति ढिलो हुँदै थियो त्यति नै घबराहट पनि बढिरहेकै थियो। एकमनले आ जाऊँ न त लन्ड्री नै, जे हुन्छ होस् भन्ने सोच्थ्यो। फेरि तुरुन्तै आशङ्का उठ्थ्यो- मलाई घरमा नभेटेर पुलिसले छोराछोरीलाई नै बेहोरा देखाउन थाल्यो भने। एउटा कुरामा मन स्थिर हुन सकिरहेको थिएन। लगभग डेढ घन्टाको प्रतीक्षा र बारम्बार कोसिस गर्दा पनि शमशादसँग सम्पर्क हुन सकेन र म स्कुल जानलाई निस्केँ। छोराछोरीलाई पुलिस आयो भने स्कुलको ठेगाना बताइदिनू भनेँ। म सडकमा थिएँ, छोराछोरी घरमा र पत्नी स्कुलमा तर बेचैनी सबैका मनमा थियो। एक आशङ्का थियो जेल जानुपर्छ होला भन्ने। अर्को सम्भावना पनि थियो- सबै ठीक हुन्छ तर समय लाग्छ भन्ने। स्कुल जानलाई जुन ट्याक्सी लिएँ त्यसको ड्राइभरलाई यो कुरा बताएको त उसले उल्टै मलाई पहिलो दर्जाको बेकुफमा गणना गर्यो। उसका विचारमा पर्स छुने वा ड्राइभरलाई दिने कामै थिएन। यही कुरो पछि मैले स्कुलमा पनि झेल्नुपर्यो। स्कुलका दुई सय शिक्षक र साठी सत्तरीजना कर्मचारीमाझ त्यो खबर मैले फोन गर्नासाथ आगोजस्तै फैलिएको रहेछ। मैले त प्रधानाचार्य र पत्नीलाई मात्र फोनमा भनेको थिएँ। तर मैले तँलाई, तैँले उसलाई भनेजस्तै कुरा फैलिइसकेको थियो। स्कुल पुगेर सबभन्दा पहिले पत्नीलाई भेटेँ "अत्तालिनुपर्दैन, मलाई केही हुन्न..... तिमी घर गएर लन्ड्रीसँग सम्पर्क राख्ने प्रयास गर...... शमशादसँग केही कुरो भयो भने थाहा पाइन्छ .... यदि पुलिसले मलाई लगिहाले पनि तिमी भोलिको फ्लाइटमा घर जानू।" "तपाईँलाई जेलमा छोडेर म घर जानु ? मान्छेले के भन्छन् ......? "उनी बोल्दै थिइन् कि काम्दै थिइन् छुट्याउन गाह्रो थियो। "हेर, समस्या आइपर्यो ... यसलाई त झेल्नैपर्यो .... यसमा तिमीहरू सबैले मानसिक रूपले दुःख पाउनाले मलाई अझ दुखी बनाउँछ। तिमीहरू भारत गयौ भने छोराछोरी र तिमी कुशलै छौ भन्ने सन्तोष त रहन्छ मलाई ..... यो समस्या सकिनेबित्तिकै म पहिलो उपलब्ध फ्लाइटमा आइहाल्छु।" "अहँ, म यस्तो हालतमा छोराछोरी लिएर जान्नँ ..... किन तपाईँले चाहिँ त्यो पर्स छुनुपरेको ?..... " "अब हुने कुरा त भै गयो, मलाई के थाहा थियो र यस्तो हुन्छ भनेर ? ...... समस्या ले जेल्छ भनेर...... " "तपाईँ जानीजानी अप्ठ्यारामा पर्नुहुन्छ .... सबैले भन्छन्- पर्सतिर हेर्दै नहेर्नुपर्थ्यो ... देखिहाले पनि त्यसका विषयमा कुरै नगर्नु पर्थ्यो, न ड्राइभरसित न शमशादसित ..... " "मलाई के थाहा त यस्तो हुन्छ भनेर ?.... मैले त आफ्नो सुझबुझले ठीकै गरेको हुँ नि !" कुरा अरू पनि हुन्थे होलान् तर बिहानको सिफ्टको घन्टी बजिसकेको थियो। "तिमी घर जाऊ ...... कुनै फोन आए मलाई तुरुन्त खबर गर्नू ..... बाँकी यहाँ केही भैहालेमा तिमीले सूचना पाइहाल्नेछौ।" फेरि अर्कोपल्ट भेट नै हुँदैन भनेजसो गरी पत्नीले बिदा लिइन्। म प्रधानाचार्य कहाँ पुगेँ। पुग्नेबित्तिकै वहाँले भन्नुभयो "हाम्रो स्कुलमा एउटा बच्चा छ जसकी आमा सी.आई.डी विभागमा छिन्, मैले उनलाई फोनबाटै सबै जानकारी दिएको छु। उनले पुलिस स्कुलमा आयो भने पहिले उनीसँग कुरा गराउनू भनेको छ। ..... नम्बर नोट गर।" मैले नम्बर नोट गरेँ। आशाको त्यान्द्रो त देखियो। तर तुरुन्तै एक महिना पहिले घटेको घटना याद आयो। एकजना अध्यापिकाले कसैलाई पोस्ट-डेटेड चेक दिएकी थिइन् जो बाउन्स् भएको थियो। त्यस मामलामा पनि पुलिस स्कुल आयो र हेर्दाहेर्दै अध्यापिकालाई लिएर गयो। कसैले केही गर्न सकेन। त्यसबेला पनि यिनै प्रधानाचार्य हुनुहुन्थ्यो। मैले सोचेँ जुन बच्चाकी आमा सी.आई.डी.मा छन् अहिले, त्यस बेला पनि त थिइन् होला। तर कुनै मद्दत हुन सकेन। सबै अध्यापकहरूले आ-आफ्ना इच्छाले पैसा उठाएर ठूलै धनराशि जम्मा गरे अनि पार्टीलाई सुम्पेपछि मात्र उनी छुटेकी थिइन्। हिरासतमा हुन्जेल केही हुन सकेको थिएन। स्टाफ-रुमतिर बढ्दा बाटामा जो भेटिन्थे आफ्नो सल्लाह दिन थालिहाल्थे। एकजनाले भने- "पर्स लिएर त उत्रिनुपर्थ्यो ..... बेकारमा ड्राइभरलाई दियौ .... " "के भनेको तिमीले ?" "ठीकै त भन्दै छु ..... फेरि यस्तो भयो भने टिप्ने उत्रिने....... " "मैले त राम्रो काम गरेको हुँ।" "त्यसो भए त्यसको फल भोग्न पनि तयार होऊ। आजको जमानामा राम्रो गर्ने नशा जसलाई लागेको हुन्छ नि, त्यसको हालत त्यस्तै हुन्छ।" उसका कुराको कुनै जबाफ नदिई म अगाडि बढेँ। दुनियाँ हो, हरेक खालका मान्छे हुन्छन्। केही न केही बोल्नैपर्यो सबैलाई। अर्काको हिम्मत बढाउने काम त अचेल बन्द नै भयो। स्टाफ-रुममा पुग्नेबित्तिकै सबैले घेरे। एकपल्ट फेरि सम्पूर्ण कहानी दोहोर्याउनुपर्यो। प्रायः सबैलाई पर्स जसको हो त्यही महिलाले यो सब गरिरहेकी छ जस्तो लागेको थियो। ड्राइभरसित मिलेर गर्ने यो धन्धामा उसको पनि राम्रै कमिसन होला। ... खासमा त ऊ पर्समा पैसै नराख्दि हो। अनि जस्तो माछो जालमा पर्यो त्यही हिसाबले हलाल पनि गर्दि हो। ट्याक्सी ड्राइभरले लन्ड्री चलाउनेवाला देखेर बाह्रसय दिरहम भनेको होला। ठूलो आसामी भेटे हजारौँको चक्कर चल्दो हो। यी सब कुरा सुनेर दिमाग रिँगटा छुट्यो। बाह्रसय दिरहमकै मात्र कुरा भए दिएर पिण्ड छुटाउन गाह्रो थिएन। मनलाई सम्झाउँथेँ- ठीकै छ, यति रकम दिएर एउटा पाठ सिकियो, तर उसको भनाइअनुसार व्यक्तिगत फोटाहरू र ड्राइभिङ लाइसेन्स कहाँबाट ल्याउने ? स्टाफ-रुमबाटै एकपल्ट लन्ड्रीमा फोन गरेँ। घन्टी बजिरह्यो तर फोन उठेन। झर्को लाग्न थाल्यो आखिरी यो शमशाद गयो चाहिँ कहाँ ? फेरि घरको नम्बर डायल गरेर पत्नीलाई सोधेँ- "कुनै फोन कतैबाट ..... " "अहँ, केही भयो ...... " "हुनु के थियो ....... शमशादको पत्तो छैन ...... लन्ड्रीमा बस्ने अर्को कोही पनि छैन। उसको फोन नआईकन कुरो कहाँ पुग्यो भनेर बुझ्ने उपाय नै छैन ...... फोन आउनेबित्तिकै मलाई सूचित गर्नू।" फोन गरेपछि आफ्नो टाइमटेबलअनुसार क्लासतिर बढेँ। तर यस्तो मानसिकतामा कुनै कुरो पढाउन सम्भवै थिएन। आशङ्काका बादलहरू कहिले भयावह हुन्थे भने कहिले तुरुन्तै मेटिन्थे तर तिनीहरूको बिग्रिने क्रम जारी नै रह्यो। ००० स्कुलको एउटा संसार थियो। त्यस संसारमा मानिसहरू थिए। म पनि त्यै संसारको एकाइ थिएँ। त्यस संसारको हरेक व्यक्तिले मलाई हद दर्जाको बेकुफ सम्झेर अर्ती उपदेश दिइरहेका थिए। मलाई यस संसारमा राम्रो कामका लागि कुनै ठाउँ रहेको जस्तो लागेन। मान्छेले मान्छेलाई यसरी धोका दिएका छन् कि कसैले पनि आवश्यकताग्राहीलाई पनि विश्वास गर्दैनन्। कोही जति नै ठूलो विपदमा किन नपरोस्, किन उसको ज्यानै जोखिममा नहोस्। अचेल कोही अन्जान व्यक्तिले कुनै अर्को अपरिचित व्यक्तिको सहायता गर्दैन। मलाई एकपछि अर्का घटनाहरू याद आइरहेका थिए। केही दिनअगाडिको कुरा हो। एकजना मित्रसँग एलेनबाट फर्किँदै थिएँ। घाम चर्को थियो। तातो हावा सनसनाउँदै थियो। बाटाको छेउमा उभिएको एउटा मान्छेले लिफ्ट माग्यो तर मित्रले कार रोकेनन्। मैले भनेँ 'यस्तो कडा घाममा उभिएको छ बिचरा, बसाए भइहाल्थ्यो नि....... 'मित्रले मलाई यसरी हेरे मानौँ म कुवामा हाम्फाल्ने सल्लाह दिँदै छु। उनले भने- "बसाउन त बसाउँला .... तर बाटामा कार चेक भयो र ऊसित वर्क-परमिट भएन भने त म मान्छेको स्मगलिङ गरेकामा भित्र जान्छु नै, तिमी पनि बच्दैनौ, नौलो मान्छेलाई सहायता गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो, बुझ्यौ ?" मैले केही भनिनँ। के भन्नु ? जमाना त्यस्तै आएको छ। यस दुनियाँबाट भलाइको जमाना गएजस्तो छ। फेरि केही दिनअगाडि भएकै घटना दिमागमा दोहोरिन लाग्यो। आफ्नो रेमन्डवेल घडी सर्भिसिङका लागि दिएर हमदान रोडमा ट्याक्सीमा बसेँ तर नारी खाली भएकाले, खालीपन बाँड्नलाई ड्राइभरलाई सोधेँ। "समय कति भयो होला उस्तादजी ? जब कि समय मलाई थाहा थियो। एघार बजे घडी र्सर्भिस सेन्टरमा दिएर बाहिर निस्केर ट्याक्सीमा बस्दा मुस्किलले पाँच मिनटको समय लागेको थियो होला। ड्राइभरले हातमा बाँधेको घडी मेरो अगाडि देखाइदियो। मैले समय हेरिसकेपछि, एक दुई सेकेन्डमै उसले भन्यो- "तपाईँले मेरो घडी हेर्नुभएन ?" "समय त हेरेँ।" "मैले घडीको कुरा गरेको।" "त्यो पनि हेरेँ।" "फेरि हेर्नोस् त ......" उसले फेरि घडी मेरो अगाडि तेर्स्याइदियो। मैले फेरि एउटा दृष्टि दिएँ घडीलाई तर केही बोलिनँ। मैले यो ड्राइभरले मलाई किन घडी देखाउँदै छ भन्ने कुरा पनि बुझिरहेको थिइनँ। "केही भन्नुभएन त ?" "के भनुँ .... ?" फेरि झट्ट लाग्यो सायद ऊ घडीको प्रशंसा सुन्न चाहन्छ। भनेँ - "राम्रो छ .... स्लिक छ ....।" कुनै कुराको पनि खराबी निकाल्नु र त्यसका दोष गन्न मलाई आउँदैन। "साहेब, ध्यानले हेर्नुस् ध्यानले ....." मैले साँच्चै ध्यान दिएर हेरेँ उसको घडीमा यु.ए.ई.को राष्ट्रिय चिह्न अङ्कित थियो। "अँ, यसमा त यहाँको सरकारको ....... " मैले कुरा पूरा गर्न नपाउँदै उसले भन्यो- "यो घडी मलाई सरकारले इनाम दिएको...... स्पेसल अर्डर दिएर स्वीजरल्यान्डबाट मगाएको हो....." "केका लागि इनाम दिएको तपाईँलाई ?" "मेरो ट्याक्सीमा एउटा ब्रिफकेस भेटेँ। कुनै यात्रीले बिर्सिएको थियो। त्यसमा डेढ लाख दिरहम रहेछ। मैले त्यो ब्रिफकेस आसमा थानामा बुझाएको थिएँ। पुलिसले मेरो इमानदारीबाट खुसी भएर सरकारलाई यस्तो व्यक्तिलाई त इनाम दिनुपर्छ भनी सिफारिस गर्यो।" "तपाइँले साँच्चै इमानदारीको काम गर्नुभयो। तपाईँले त इनाम पाउनैपर्ने थियो।" "तर साहब अब त्यो जमाना रहेन। अब म त्यस्तो काम पनि गर्दिनँ। ...... फेरि एकपल्ट मैले ब्याग भेटेँ ..... पुलिसमा जिम्मा दिएँ ..... तर जो मानिस लिन आयो त्यसले त्यस ब्यागमा पाँच हजार दिरहम थिए भनेर भन्यो ..... जाली मान्छे ..... पुलिसले पनि मेरो इमानदारीको सबुत दिइरह्यो तर ..... त्यो हैवान ..... खवीसको बच्चाले बारम्बार भनिरह्यो कि त्यस ब्यागमा पैसा थियो ....।" "फेरि के भयो ? .... " "केस चल्यो ..... र म आफ्नो अघिल्लो रेकर्डका कारणले बचेँ, नत्र राम्रै लेनदेन हुन्थ्यो। यस घटनाको सम्झनामा म सोचिरहेको थिएँ कुनै मान्छेले इमानदारीमा इनाम पाउँछ र उसले सधैँका लागि साँचो मान्छेको दर्जा पाउँछ अनि मचाहिँ पुलिसबाट डराइरहेको मात्रै छु। कुनै अर्को क्षणमा जेल जाने भयले छट्पटाइरहेछु। जसलाई जीवनभरि गरेका राम्राकामहरू सबै मेटिन्छन् भन्ने भय छ। जसलाई आफ्नो पूरै भविष्य सशङ्कित लागेको छ। यदि मलाई जेल-सजाय भयो भने त त्यो कुरा हिन्दुस्तान पुग्न केहीबेर पनि लाग्दैन। सबैसँग फोन छ र शुभचिन्तकहरूले त्यस खबरलाई त्यसरी त पुर्याउँदैनन्, जस्तो त्यो छ। मान्छेले भन्लान् "पर्स चोर्दै थिए ...... पक्राउ परे ..... र जेल सजाय भयो। मैले कुनै देशको नागरिकले आफ्नो देशको निन्दा गरेको र आफ्नो देशका नागरिकलाई हेपेको यहाँ देखेको छैन। त्यस्तो काम गर्दा भारतीय मात्रै रमाइरहेको हुन्छ। म निश्चित रूपले दिन र दुनियाँबाटै उठिरहेको थिएँ। लन्ड्रीमा फोन गर्दागर्दै औँलाहरू थाके। प्रत्येकपल्ट आशा जाग्थ्यो- अब त शमशादसँग कुरा हुन्छ, तर उही निराशा हात लाग्थ्यो। लगभग चार घण्टाहरू छट्पटाउँदै व्यतीत भैसकेका थिए। ००० साढे चार बजे घरमा फोन गरेँ- "कुनै फोन ......" "शमशादको फोन आएको थियो ...... कुरा निकै बिग्रिसकेछ ..... तपाईँ लन्ड्रीमा फोन गर्नुहोस्।" लन्ड्रीमा फोन गरेँ, मानौँ शमशाद मेरै फोनको प्रतीक्षामा थियो- "पण्डीजी, कुरो त निकै अल्झिएजस्तो छ ...." शमशादले धेरै आत्मीयता प्रदर्शन गर्दा मलाई पण्डीजी भन्ने गरेका छन्। "के भयो ? तिमी कहाँ गएका थियौ ?" "कहीँ गएको थिइनँ ..... तपाईँसित गफ गर्दागर्दै मैले पुलिस देखिरथेँ, त्यसै बेला फोन पनि काटिएको थियो र पुलिस लन्ड्रीमा पसेको थियो ..... मैले हामी निर्दोष भएको कुरा पुलिससँग दोहोर्याएर भनेँ। ड्राइभर भन्छ बिहान उसले त्यस महिलालाई राखेको थियो त्यसपछाडिका यात्री हामी नै हौँ। ऊ त के पनि भन्छ भने अगाडि बसेको यात्रीले पर्स समातेर मलाई दिँदा उसले पैसा निकाल्ने समय नै पाएन। ...... पैसा र अन्य सामान निकाल्ने काम पछाडिकै यात्रीको हो, त्यसैले उसैलाई पक्रिइयोस् ..... म उनीहरूलाई तपाईँको ठेगाना कसरी दिऊँ........ भोलि तपाईँलाई इन्डिया जानु छ ...... त्यो पनि छोराछोरीसमेत ..... मैले पुलिसलाई भनेको छु म त्यस मान्छेलाई चिन्दिनँ ऊ त मेरो कस्टमर मात्रै थियो। पुलिसले मेरो वर्क परमिट खोसिसकेको छ। बेलुका पाँच बजे फेरि बोलाएको छ। ...... अब तपाईँ नै भन्नुहोस् म के गरूँ ?" "म भन्छु ल सुन, तिमी सुर्ता नगर ..... बेलुका साढे छ बजे म पुग्छु .... ठेगाना भन......।" "साबिया पुलिस स्टेसन" शमशादले उताबाट भने। "तर तिमीलाई ती महिला र ड्राइभर मिलेर ठग्दै छन् जस्तो लाग्दैन ?" "होइन पण्डीजी यस्तो होइन .... पहिले त मैले पनि त्यस्तै सोचेको थिएँ तर ड्राइभरसँग कुरा गरेपछि पत्तो लाग्यो ...... " "कसरी भन्न सक्छौ यस्तो होइन भनेर ...." "खासमा ती महिलाको पेजर पनि ब्यागमा रहेछ। उनले आफ्नो पेजर नम्बर आफैँ डायल गर्दा ब्यागमा भएको पेजर बज्न थालेछ। ड्राइभरले पेजरमा देखिएको नम्बर डायल गरेर ब्याग भेटिएको कुरो गरेछ। त्यसपछि ती महिलाले ब्याग चेक गरेपछि मात्र ड्राइभरलाई आरोप लगाइछन् त्यसमा पैसा अरूथोक पनि थियो भनेर। .... ड्राइभरको भनाइमा ती महिलापछि बस्ने यात्रीहरू हामी नै थियौँ र पक्कै पछाडि जो बसेको थियो उसैले पैसा निकाल्यो होला...।" मैले फोन काटिदिएँ। मेरो लागि एउटा कुरा के स्पष्ट भयो भने पर्स लिएर दिने कुरामा हरेक कुरो मेरो विरुद्ध छ र मैले आउने कष्टदायक समयका लागि मानसिक रूपले तयार भएर बस्नु छ। बेलुका पाँच बजे पत्नीलाई फोन गरेर कुरो बिग्रिसकेको तथ्य बताएँ। घेरामा मै पर्छु.. तर पनि डराउने वा अत्तालिने काम नगर्नू, बेलुका स्कुलपछि सिधै साबिया थाना जान्छु र त्यहीँबाट फेरि के गर्ने भनेर फोन गरौँला। पत्नीको हालत खराब थियो। आउने परिस्थितिको अनुमान गर्दै उनी रुन थालिसकेकी थिइन्। पत्नीसँग कुरा गरेपछि त मेरो पनि मन मर्यो। उनी साह्रै अत्तालिएकी थिइन्। अरबका देशमा केही भइहाल्यो भने बचाउने कोही हुँदैनन्। मैले लाख सान्त्वना दिँदा पनि उनी संयत हुन सकिरहेकी थिइनन्। म नै पो कहाँ आफैँलाई सम्हालिरहेको थिएँ र ? अँध्याराले केही समयका लागि राहु र केतुको रूप लिएको कुराचाहिँ पक्कै थियो। आठ वर्ष त पत्तै नपाईकन बिते। तर यी छ-सात घन्टा जसरी बितिरहेका थिए तिनले गजबको उल्झन पैदा गरेका थिए। बारम्बार नचाहिँदो कल्पना आउँथ्यो कि हिन्दुस्तानमा यदि कसैले ज्यानै लिएको भए पनि यस्तो मानसिक यातनाबाट त गुज्रिनुपर्दैनथ्यो। झुटो आरोपमा विचलित हुने त प्रश्नै थिएन। पहिलो पल्ट अनुभव भयो आफ्नो देशभित्र मान्छेको आफ्नो र जराको तागत हुन्छ जसले अर्को देशमा कुनै मूल्य राख्दैन। भारतेन्दु हरिश्चन्द्रको सवैयाको यो पङ्क्ति मलाई अर्थहीन हुन थालेको छ "समुझें जग की सब नीतिन्ह को उन्हे दुर्ग विदेश मनो घर है।" जगत्को नीति, के अर्काको सामान हडप्नु मात्र हुन्छ ? साबिया पुलिस-स्टेसन जानुअघि जासुसी विभागमा काम गर्ने महिलालाई फोन गरेँ। सबै घटना बताएँ र थानामा आइदिन अनुरोध गरेँ। उहाँले मलाई धेरै नडराउनू, म पुलिसलाई कुरो बुझाउँछु भनेर मलाई आश्वस्त पार्नुभयो। मलाई अलिकति साहस आयो। जुन बेला म स्कुलबाट साबिया पुलिस स्टेसन जान निस्केँ त्यसबेला घाम डुब्न लागिसकेको थियो। आउने रात र त्यसपछिका त्यस्तै रातहरूको कल्पनाले जीउ नै सिरिङ्ग बनायो। थानामा शमशाद एकापट्टि बसेका देखिए। म उनैतिर लम्किएँ। उनको अनुहारको चिन्ता र ब्याकुलता यो घटनाभन्दा पनि मेरो यात्रा अमिलिएकामा बढी देखियो। उनले मलाई एउटा पुलिसकर्मीतिर देखाउँदै पहिले उसैसित कुरा गर्ने हो, भनेर बताए। मलाई अलिअलि अरबी आउँछ, यति कि परिचयसम्म दिन सक्छु। पुलिसकर्मी अर्थात् यहाँको भाषामा सुरता। सुताका छेउमा पुगेर मैले भनेँ- 'सलाम वालेकुम।' "वालेकुम सलाम बर हमतउल्लाह ओबरा खातु।" ..... भन्दै उसले ममाथि तिखो दृष्टि फ्याँक्यो, शमशादतिर हेर्यो र फेरि मलाई नै भन्यो "अइना तमिल्" जसको अर्थ हुन्छ के गर्दछौ ? "अना मुअल्लिम फी मदरसा अलहिन्दिया ...." मैले एउटा हिन्दुस्तानी स्कुलको अध्यापक हुँ भनेर बताएँ। यसभन्दा पर्तिर अरबीमा मेरो हात साँघुरो थियो। "मुअल्लिम...... अरबी मालूम ......" उसले अध्यापक हो भन्ने जानेर केही नरम भावना देखायो। "अरबी माफी ....... इङ्लिस ...... उर्दू ...... मालुम ... " "दिस इज नट इङ्ल्यान्ड ...... मालुम .... " "मालुम ..... " "आइना बिताकत अल अमल ..... " म असहाय भएर शमशादतिर हेर्न लागेँ। उसले भन्यो - "वर्क परमिट माग्दै छ।" वर्क परमिट चेक गर्दै उसले भन्यो "अल .... हकिबा .... मनी .... मनी.... देरहम .... देरहम ..... १२०० देरहम .." "आइ डिडन्ट ओपन द पर्स" "ला तकदिभ.... दोन्त तेल लाई" "आइ डोन्ट टेल लाइज.... " "इजलिस उनके .... नहनु अरफना अलऐन .... " भन्दै उसले एकातिर इसारा गर्यो। शमशादले भनेअनुसार उसले त्यता बस्न भनिरहेको थियो। मैले मनमनै सोचेँ सत्य र असत्यको फैसला ईश्वरले नै गर्नेछन्। जासुसी विभागमा काम गर्ने महिला अझै आइपुगेकी थिइनन्। उनको प्रतीक्षा पनि अब त कष्टदायक हुन थाल्यो। म र शमशाद एकापट्टि कुनामा बस्यौँ। फेरि थाहा पाइयो ड्राइभर र ट्याक्सीका कागजपत्र पनि थानामा राखिइसकेका छन्। मेरो वर्क-परमिट पनि उसले लिइसकेको थियो। वर्क परमिट जिम्मा नलाई स्पोन्सरले पासपोर्ट दिँदैनथ्यो र वर्क-परमिट त यो झमेला सकिएपछि मात्रै पाइने निश्चित थियो। कहिले सकिने हो यो झमेला - लगभग आधा घन्टाको दिक्क लाग्दो प्रतीक्षापछि पुलिसकर्मीले बोलाउन थाल्यो "शमशाद ..... अ ... शमशाद अहमद !" "जनाब ....." भन्दै शमशाद ऊतिर लम्के। "अलहने मामिला सुलह .... इन्ते रोह ....." "सुगुले इन्ते ..... केफ हादा सकल..... " म शमशादलाई हेरिरहेको थिएँ। ऊ छक्क परिरहेको थियो। करिब पाँच-सात मिनट कुरा गरेपछि शमशादले मलाई भने "पण्डीजी, त्यो आइमाई त हरामी रहिछे साली .... घरबाट यहाँ फोन गरेर बताइछे उसको पर्स भेटियो अरे .... साली त्यसको त्यो पर्स हिजो राती कार्निस रोडमा छुटेको रहेछ जुन अर्कै यात्रीले भेटेर आस्मा थानामा जिम्मा लगाएछ। जुन पर्स हामीले भेट्यौँ त्यो आज बिहानको ट्याक्सीमा छोडेकी रहिछे। दिनभरि पुलिसले पर्समा नम्बर भेटेर यसलाई फोन गरिरहेछ तर यो घरमा रहिनछे ..... एक छिनअगाडि घर पुगिछ र आस्मा थानाबाट फोन पाइछ, हिजो बेलुका कसैले पर्स जम्मा गरेको छ आएर लिएर जानू ..... पर्स फिर्ता पाएपछि उसले यहाँ फोन गरिछ शमशाद अहमदलाई छाडिदिनू भनेर .... तर मैले सुरतासँग भनेँ दिनभरिको हाम्रो दुःखचाहिँ कहाँ गयो ? तपाईँले मलाई त्यो जालीवाला गाडीमा ल्याउनुभयो ..... छेउछाउका मान्छेले देखे.... तिनीहरूले त मलाई अपराधी सम्झनेछन् ..... मैले शुरतालाई भनेको छु त्यो आइमाईलाई नभेटी म जाँदैजान्नँ, त्यस आइमाईलाई यहाँ बोलाऊ" शमशादको पीडा म बुझ्न सक्थेँ। मलाई बचाउनलाई उसले पुलिसलाई मेरो नाम र ठेगाना दिएको थिएन। मैले जे कुरो टाढाबाट भोगेको थिएँ शमशादले त्यो नजिकबाट भोगेको थियो। "एउटा फोन गरौँ है घरमा ......" मैले शमशादलाई भनेँ।
*** हिन्दीबाट अनुवादः कुमुद अधिकारी
|