|
|
|
|
भन्सार -लालगोपाल सुवेदी
भन्सारको त्यो खरदार कस्तो छ शक्तिशाली तरबारजस्तो कोही कसैको हतियारजस्तो धर्ती भुलेको मतियारजस्तो । (१) हरेक मैना बढिया कमाइ मानौँ छ चारैतिर हाई-हाई पाई बडाहाकिमबाट दृष्टि गर्दै छ नौलो घरबार सृष्टि । (२) छ सान नौलो परिधान नौलो ठाँटै छ नौलो अभिमान नौलो भन्दै छ- पारूँ अब यो भविष्य भावी पिँढीको पनि झन् सुनौलो । (३) आफ्नै छ प्राडो महँगो पजेरो ऊ भन्छ व्यापार अपार मेरो छ थप्नु मैले सुनको धुरी नै यहीँ म सिर्जूँ अलकापुरी नै । (४) लरक्ककी होटलकी परीको छ म्वाइँ मीठो नवसुन्दरीको पैसा भए जे पनि गर्न सक्छु सम्पूर्ण न्यायालय किन्न सक्छु । (५) झुल्दा उता होटलभित्र राती मन्त्री स्वयम् नै पनि बन्छ साथी छ है अनौठो अनमोल झोल गर्ने त्यही टेन्डरको कबोल । (६) - स्याङ्जा
|