|
|
|
|
मित्रता -- नरहरि शर्मा
कुरा 2016 सालको अन्त्यतिरको हो। म बनारसमा आइ.ए. पढ्थेँ। चारजनाको समूह थियो हाम्रो, भान्से राखेर हामीले मेस चलाएका थियौँ। सबै कुरा तुलनात्मक सस्तो भएकाले हामी सस्तैमा खाना खान्थ्यौँ। तर मेसका सहभोजीहरूले आफूलाई मर्का परेकाले मेस छोड्ने निर्णय गरेकाले हामी होटलमा खाना थाल्यौँ। उनीहरूलाई मर्का परेको कारण करिब एक पन्युँ भात मैले बढी खान्छु भन्ने थियो। होटलमा खाँदा पनि उनीहरू 25 पैसा प्लेटको एक प्लेट भात र 12 पैसा प्लेटको एक प्लेट सब्जी मिलाएर 37 पैसा तत्कालीन भारू 6 आना तिर्दथे। म छाकको पचास पैसा तिर्दथेँ। खाना खाँदा दाल र चटनी सित्तैँमा दिइन्थ्यो। यो खास घटीबढीको कुरा भन्दा पनि ठूलो मनोभावनाको कुरा थियो, व्यक्तिगत सोचाइ र त्यो सोचाइ निर्माण गर्ने पारिवारिक पृष्ठभूमिको कुरा थियो। अरू कुनै चीज खान बस्दा आफ्नो आहारा कम भएको नबताउने ती सोचाइका गरिबहरूलाई बिहानबाट बेलुका पार्न सजिलो अवश्यै हुँदैनथ्यो। मैदागिनका ती सस्ता होटलहरूले नेपालीहरूलाई निकै गुन लगाएका छन्। बनारसमा बस्ने 80 प्रतिशत भन्दा धेरै विद्यार्थी ती होटलहरूमा खाना खाएका छन् र 2017 सालको राजनीतिक परिवर्तनपछि धेरै नेपाली नेताहरूले यिनै होटलको जाउलो खाएर दिन बिताएका छन्। होटल, दालभातको मूल्य होटलमा खाने विद्यार्थी र राजनेताहरूसित यो लेखको कुनै सम्बन्ध नभए पनि इतिहास भैसकेका यी कुराहरूले कसैलाई केही सहायता गर्ला कि भन्ने आशयले यी प्रसङ्ग जोडिए। वास्तवमा त्यही होटलमा एक दिन देखिएको एउटा साधारण घटनाको चर्चा गर्न यो कलम समातिएको हो। बनारसको मैदागिनमा भएका यी सस्ता होटलहरूको सामुन्नेको भाग सधैँ खुला रहन्थ्यो। परपरसम्म मानिसहरूको आवतजावत, रिक्सा, ठेलागाडा, मोटर र बसहरूको रमिता हेर्दै खाना खाइन्थ्यो। कहिलेकाहीँ गर्मीमा त प्रायशः आइरहने बतासले ल्याएको धूलो होटल भित्रैसम्म आउँथ्यो। चैतको एक साँझ म खाना खाएकै टेबलबाट चुठ्ने ठाउँमा भातका सिता बटुल्दै गरेको एउटा मान्छे देख्तै थिएँ। त्यो मान्छे नै थियो। फाटेको झुत्तामत्ता लुगाले उसको लाज पनि ढाकेको थियो। खाना खाएर अरू ग्राहकहरूले चुठ्दा खसेका सिता टिपेर धारामा धोइ ऊ एउटा प्यात्रे थालमा जम्मा पारिरहेको थियो। काग वा कुकुरलाई गाँस दिएझैँ म भातको डल्लो लिएर चुठ्न पुगेँ। सोझै उसको हातैमा दिएँ। सहर्ष ग्रहण गर्यो। तर त्यसै बेला होटलमा खाना खाएर 2/3 जना मानिस चुठ्न लागेकाले ऊ भातको थाल सडक किनारमा छोडेर सिता टिप्न दौड्यो। एक गाँस भातका सिता टिपेर उसले थालतिर हेर्यो, त्यहाँचाहिँ पर्लय भइसकेको थियो। कुरा के भने बनारसमा साधुहरूकै हाराहारी सङ्ख्यामा पाइने छाडा गाईमध्ये एउटाले उसको थालमा आक्रमण गरिसकेको थियो। त्यो मान्छे पुग न पुग एक गाँस भात लिएर धपाउन दौड्यो। मान्छे कुदेको दच्काले त्यो गाईले सिमेन्टमाथि थाल थुतुनाले दलेर घिसार्यो। एक हातमा भातका सिता भएकाले त्यो मान्छे एक हातले गाई पिट्दै पछिपछि गइरह्यो। थालमा भातका सिता रहुन्जेल गाईले थाल छाडेन र मान्छेले पनि गाई पिट्न छाडेन। आखिर त्यो रित्तो थाल छाडेर गाई अन्यत्र लाग्यो। त्यो मान्छे थाल टिपेर फर्क्यो र त्यही होटलअगाडि सडकमा बस्यो। अब उसमा सिता टिप्ने जाँगर मरेझैँ लाग्दथ्यो। होटलमा धारामा चुठ्ने मानिसहरूसित ऊ उदासिन देखिन्थ्यो। एकछिनपछि त्यही गाई त्यहीँ आएर त्यो मान्छेका छेउछाउ सडकमा आफ्नो खानेकुरा खोज्न थाल्यो। ज्यादै निस्पृह भावले त्यो मान्छेले गाईलाई हेर्यो, गाई उसको झन् नजीक पुग्यो। त्यो मान्छेले हात लम्क्याएर त्यो गाईलाई कन्याइदिन थाल्यो। सञ्च मानेर एकछिनपछि त्यो गाई त्यहीँ बस्यो। दुवै मिलेर बसे। लाखौँ मान्छेको भीड र देवीदेउताको प्रशस्तता भएको त्यो महानगरीमा एक्लिएको त्यो मान्छेले सायद खानपिन र व्यवहार मिल्ने त्यही साथी पाएको थियो। ऊसित त्यसरी टाँसिएर बस्ने प्राणी त्यहाँ अर्को को थियो र ? तर गाई र मान्छे बीचको मनोविज्ञानको विश्लेषण गर्ने क्षमता नभएकाले मलाई अझसम्म पनि त्यो घटनाले झक्झक्याउन छाडेको छैन। |