Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


अधुरो सर्पयज्ञ

--ऋषिराम भुसाल

 

हातमा धनुष

र हृदयमा सङ्कल्प बालेर

जनताको सौभाग्यको पहरेदारीमा हिँड्दाहिँड्दै

मरेथे जब हाम्रा परीक्षितहरू

एउटा मात्र होइन धेरैधेरै परीक्षितहरू

विषालु सर्पले डसेर,

हामीले शोक मनायौँ

रोयौँ

अनि क्रुद्ध भयौँ

घनघोर जङ्गलको डडेलोझैँ

थामिँदै नथामिने पनि भयौँ

र तक्षक सर्पका विरूद्ध

ज्वाला बटारिएको अग्निकुण्ड बनायौँ

र सर्पयज्ञ सुरु गर्‍यौँ

 

कलिला औँला कसिएर मुठ्ठी बनेझैँ

हामी एकढिक्का थियौँ

हृदयमा सत्यको दिव्यज्योति थियो

त्यसैले शब्दशब्दमा शक्ति थियो

मुक्त भविष्यको भक्ति थियो

वेदीमाथि सुरो तेर्स्याएर

तपस्वी स्वरमा हामीले मन्त्र पढ्यौँ

      सर्पभस्म कुरूकुरू स्वाहा !

      सर्पभस्म कुरूकुरू स्वाहा !

      सर्पभस्म कुरूकुरू स्वाहा !

क्रमैसँग सर्पहरू स्वाहा हुन थाले.......

तक्षक भस्म हुने पालो आयो

छाती फारेर निस्केका अमोघ मन्त्रले

आसन थर्थरथर्थर हल्लियो

ग्रह-नक्षत्रसँगै आकाश कम्प हुन थाल्यो

तर......... अफसोस !

तक्षक भस्म भएन

मन्त्रले नै तानिएन

जोगीभेषमा आएका नागपुत्रले

यज्ञलाई निष्फल बनाइदिए

उल्टो मन्त्र उच्चारण गरे-

तिष्ठ ! तिष्ठ ! रोक् ! रोक् !

तक्षक यसरी बाँच्यो

स्वर्गबाट उँधोमुन्टो खस्दाखस्दै पृथ्वीतिर

विषालु नाग आकाशमै थामियो

तक्षक नमर्ने भयो

मन्त्रले लल्याकलुलुक परेको सर्प

सुस्तसुस्त मन्त्रफुक्का भयो

शिर ठड्याउन सक्ने भयो

फणा फुलाउन सक्ने भयो

भक्तहरूले लगाउने आशीर्वादका थुँगाभित्र

लुकेर बस्न सक्ने भयो

शिरमै डस्न सक्ने भयो

त्राहिमाम् ! त्राहिमाम् !

सर्पकै पूजा चल्न थाल्यो

त्यत्रो विशाल आयोजनापछि

उही सन्त्रास ! उही असुरक्षा !

सर्पयज्ञ अधुरो भयो।