|
|
|
|
प्रोफेसर तपाईँ बूढो हुनुभयो ( Professor You Are Old ) यम थापा त्रि.वि. को पाठ्यक्रममा आधारित Norman Lewis and Wilfred Funk को "30 days to a more Powerful vocabulary " नामक पुस्तकको अन्तिम पाठमा छापिएका दुईवटा वाक्यलाई यहाँ उल्लेख गरौँ । The Irish Playwright George Bernard Shaw one time said that few people think more than tow or three times a year. He claimed that he had made an international reputation by thinking as often as once a week. के हप्तामा एकपटक सोच्दाखेरि नै उनी विश्वविख्यात भए त ? बिहान उठेदेखि राती ननिदाएसम्म हामी केही न केही अवश्य पनि सोचिरहेका हुन्नौँ र ? वास्तवमा हामी के सोच्दछौँ ? हाम्रो सोचाइले कसलाई पोषण गरिरहेको छ ? स्वयम् आफूलाई ? हाम्रा छोराछोरीहरूलाई ? हाम्रा विद्यार्थीहरूलाई ? पण्डित-पुरोहितहरूलाई ? धर्मगुरुहरूलाई ? कि राजनैतिक नेताहरूलाई ? कसलाई ? भनिन्छ मानिसको शरीरमा अदम्य ऊर्जा हुन्छ, यो ऊर्जाले कुन दिशा लिइरहेको छ ? हाम्रो समाज करिबकरिब मृत अवस्थामा गुज्रिरहेको छ । अनि हामी आफूलाई सौभाग्यशाली ठान्दछौँ । हामी निरन्तर भन्दै आएका छौँ कि हाम्रोजस्तो पुरानो सभ्यता कसैको छैन । हाम्रा ग्रन्थहरूजस्ता पुराना अरूका छैनन् । हाम्रा मन्दिरजस्ता पुराना कहीँ छैनन् । हाम्रोजस्तो पुरानो संस्कृति कसैको छैन । हाम्रोजस्तो पन्ध्र दिनसम्म मनाउन पाइने चाडपर्व त झन् सायद अरू कसैको छैन, कस्तो अनौठो पहिचान ? हाम्रो देश त झन् मन्दिरै-मन्दिरको देश, बुद्ध जन्मिएको देश, जनक राजाले राज गरेको देश, सीता, भृकुटी जन्मिएको देश, पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको देश, वीरहरूको देश, ठूलाठूला वादहरूले भरिएको देश, घरभित्र वादहरू, कार्यालयभित्र वादहरू, विद्यालयभित्र वादहरू, विश्वविद्यालयभित्र वादहरू जता हेर्यो त्यतै ठूलाठूला वादहरू, हैन र ? अझ हामी हाम्रा बाल-बालिकाहरूलाई जनकजस्तो होऊ, बुद्धजस्तो होऊ, सीताजस्ती होऊ, यो-वादी होऊ त्यो-वादी नहोऊ भनी उपदेशसमेत दिन्छौँ, हैन र ? हामीलाई कहिल्यै यो ख्याल आउँदैन कि पुरानोपनको यो चिच्याहट यस कुराको प्रमाण हो हामीले नयाँ हुन, नयाँ ढङ्गबाट सोच्न, कल्पना गर्न धेरै पहिले बन्द गरिदियौँ त्यसकारण हामी पुरानाको मात्र कुरा गर्दै छौँ । प्रसिद्ध रुसी मनोवैज्ञानिक फ्योदोर दोस्तोयेभ्स्कीको एउटा प्रख्यात पुस्तकमा एक प्रमुख पात्रको भयभीत मनमस्तिष्कमा एउटा महत्त्वपूर्ण प्रश्न उब्जन्छ, "मानिसलाई सबैभन्दा बढी के कुराको भय हुन्छ ?" उनी आफैँ उत्तर खोज्छन्- "मानिस सबैभन्दा बढी कुनै पनि नयाँ कार्य गर्नबाट, नयाँ कुरा बोल्नबाट भयभीत हुन्छ, जतिखेर पनि ऊ बकबक गरिरहन्छ त्यसकारण ऊ केही गर्न सक्दैन, ऊ केही गर्दैन त्यसकारण ऊ बकबक गरिरहन्छ, जहिले पनि पुराना कुराहरू मात्र दोहोर्याइरहन्छ ।" छोरा/छोरी ! तिमीले मलाई पाल्छौ कि पाल्दैनौ ? यो प्रश्न हरेक आमाबाबुले आफ्ना छोरा/छोरीलाई दिनहुँ पटकपटक, धेरै पटक गरिने प्रश्न हो । हजुरबा-हजुरआमाले पनि त्यस्तै, काकाकाकीले त्यस्तै । त्यस्तै अरू बकवास प्रश्नहरू । बच्चालाई प्रश्नको झर्को लागेर कुनै बेला म त पाल्दिनँ भन्ने उत्तर दिन्छ अनि बच्चालाई कसैले सिकायो यस्तो कुरा, नत्रभने बच्चाले कसरी यस्तो कुरा गर्छ, भन्ने आशङ्कामा घरझगडा सुरु हुन्छ, सासूबुहारीको झगडा सुरु हुन्छ । बच्चाले गाली खान्छ, आफूभन्दा ठूलाको अपमान गरेकामा, आस्था र विश्वास टुटाउने प्रयास गरेकामा पिटाइसमेत भेट्छ । घरमा मात्र होइन छिमेकमा पनि । कतै हाम्रो शिक्षाको आधारशिला यही त होइन ? विद्यालयमा अनुशासनमा नबसेकाले, कक्षाकार्य नगरेकाले, गृहकार्य नगरेकाले शिक्षकबाट समेत गाली र पिटाइ भेट्छ, फेरि घरमा । भनिन्छ The aim of Education is discipline गन्तव्य नै अनुशासन हो भने एउटा कलिलो मनमस्तिष्क तथा भौतिक शरीरमाथि किन यत्रो अत्याचार गर्ने । साधनमा नै विषवमन किन ? के साधन र साध्य एउटै होइन र ? के साध्य साधनकै विकसित रूप होइन र ? विषले भरिएको साधनबाट साध्य कसरी अमृत बन्छ ? मनोवैज्ञानिकहरू के भन्छन् भने यदि हिटलरका चारजना मात्र छोराछोरी हुन्थे भने हिटलर एउटा असल मानिस हुने थिए । असल मानिस यस अर्थमा हुने थिए कि जुन मजा उनलाई बच्चाहरूमाथि Dominate गर्नमा प्राप्त हुन्थ्यो, त्यो मजा खोज्न उनले त्यत्रो भयानक युद्ध गर्न आवश्यक नै हुँदैनथ्यो । भनिन्छ, संसारमा सबैभन्दा बढी अत्याचार बच्चामाथि हुन्छ । हामी आफैँलाई हेरौँ न, दिनभरिमा बच्चाले गरेका बीसवटा कार्यहरूमध्ये अठारवटा कार्य त सीधै अस्वीकार गरिदिन्छौँ । यदि हाम्रो एउटा मात्र कार्य कसैले अस्वीकार गरोस् त हाम्रो मनोदशा के हुन्छ, भने बच्चा कति सहनशील छ ? बच्चा त सबै तीता कुराहरू एकै क्षणमा बिर्सिदिन्छ र वर्तमानमा रमाउन थाल्दछ, प्रकृतिमै विलीन हुन्छ । त्यसैले त भनिन्छ बच्चा भगवान् हुन् । तर हामी बच्चालाई भगवान् रहिरहन दिँदैनौँ । बिस्तारै हामी उसलाई हाम्रो आकार दिँदै लान्छौँ । तिमीले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, यसो गर्न हुँदैन, उसो गर्नु हुँदैन । यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ । ठूलोलाई ज्यू गर्नुपर्छ, । गुरुले भनेको मान्नुपर्छ । आज्ञा-कारी हुनुपर्छ । यदि उसले अस्वीकार गरे हाम्रा मनुष्यसुधारका आधारभूत उपायहरू साम, दाम, दण्डको समेत उपयोग गरी करिब दस वर्षो उमेर नकट्दै उसलाई भगवान्बाट मनुष्यमा रूपान्तरण गरिदिन्छौँ । उसको आफ्नोपनलाई, उसको प्राकृत स्वभावलाई पूर्णरूपले नष्ट गरिदिन्छौँ किनभने प्राकृत स्वभावलाई फल्नफुल्नमा सहयोग पुर्याउनु भनेको नयाँ कार्य हो, नयाँ सोचाइ हो, नयाँ कल्पना हो, गीतामा लागेको पूर्णविराम हटाउनु हो, नयाँ शाकुन्तल महाकाव्यको रचना सुरु हुनु हो, नयाँ बुद्धको जन्म हुनु हो, नयाँ सीताको जन्म हुनु हो, नयाँ राजनेताको जन्म हुनु हो, वैज्ञानिक सोचको सुरुआत हुनु हो । तर हामीलाई भय छ नयाँ कार्य गर्नलाई, नयाँ ढङ्गबाट सोच्नलाई डरले काप्छौँ डराएका कारणले पण्डित, पुरोहित, धर्मगुरु, नेताका चरणमा पाउ पर्न पुग्छौँ प्रार्थना गर्छौँ, भेटी चढाउछौँ, ताबिज लगाउँछौँ, बिल्ला भिर्छौँ, एउटा थोत्रे टालाको छत्रछायाँमा बस्ने कसम खान्छौँ अनि क्षणभरका लागि भयबाट मुक्त भएको आभास हुन्छ तर फेरि पुरानै कुरा । जसले नयाँ हुने क्षमता राख्दछ उसले पुरानोलाई विर्सजन गरिदिन्छ र पलपलमा ऊ नयाँ हुन्छ । जसले नयाँ हुने क्षमता गुमाउँछ ऊ हरबखत पुराना गीत गाउँदछ, पुराना ग्रन्थहरू पूजा गर्दछ, घोकेर बस्दछ र नयाँ पिढीलाई पुरानै आकार दिइरहेको हुन्छ । यो सम्पूर्ण बोझ एउटा मृत बोझसरह हुन्छ । त्यसको पछाडि सिङ्गो देशको प्रतिभा अर्थात् आत्मा दबिएको हुन्छ, नष्ट भइरहेको हुन्छ । हाम्रो चित्त नै पुरानो छ । हामीले नयाँ लुगा लगाएर बाहिरी आवरण त नयाँ बनाएका छौँ तर हामीभित्रको मनुष्यचाहिँ पुरानै छ । विश्वसँग प्रतिस्पर्धा गर्ने साधन नयाँ तर मनुष्य पुरानो छ । आफ्नो एउटा सहीको मूल्य दस डलर हुने George Bernard Shaw ले लगाएको कोट, पाइन्ट, कमेज, जुत्ता जहिले प्वाल परेका हुन्थे, उनलाई पोसाकको कारणले कतिपय भोजभतेरमा आफ्ना मित्रहरूले समेत दुर्व्यवहार गर्थे तर उनको भित्री मनुष्य भने जहिले पनि नयाँ, क्षणक्षणमा नयाँ, हप्तामा एकपटक नयाँ सोचाइ, नयाँ प्रश्न, नयाँ उत्तर, एउटा नयाँ उत्तरले दसवटा नयाँ प्रश्नहरूको जन्म, प्रश्नैप्रश्नहरूको खोज, जिज्ञासा प्रज्ज्वलन हुन्थ्यो अनि किन विश्वविख्यात नहुने ! बर्ट्रान्ड रसेलले एउटा अनुभव लेखेका छन् । उनले लेखेका छन् "जब म पहिलो पटक युनिभर्सिटी गएँ त्यसबखत मैले सोचेको थिएँ कि दर्शनशास्त्र पढेँ भने मेरा सम्पूर्ण उत्तरहरू मिल्नेछन् । मेरा सबै प्रश्नहरू हल हुनेछन् । तर अब म असी वर्षे बुढेसकालमा म यो भन्न चाहन्छु कि मेरो त्यो धारणा गलत थियो । म सोच्दथेँ दर्शनशास्त्रले उत्तर दिन्छ तर हरेक उत्तरले नयाँ दस प्रश्नहरू खडा गरिदियो । तब मैले लेखेको थिएँ कि दर्शनशास्त्र मनुष्यका गहिरा उत्तरहरूको खोज हो । अब म भन्न चाहन्छु कि दर्शनशास्त्र नयाँ प्रश्नहरूको खोज हो ।" तर यो बर्ट्रान्ड रसेलसँग घट्यो । उनीसँग धेरै मित्रहरू पढ्थे, उनीहरूले उत्तर लिए, गए । मानिसको गहिरोभन्दा गहिरो आत्माको विचार तत्त्व हो, आधार हो - THINKING (सोचाइ) । मानिसको जीवनको आधार हो सोच्नु । सोच्ने क्षमतामात्रले गर्दा नै मानिस जनावरभन्दा भिन्न छ । यदि मानिसले सोच्न बन्द गरिदिने हो भने ऊ जनावर हुनजान्छ । सोच्न छोड्नुको मतलब हो मनुष्यताको, सङ्घर्षको जुन यात्रा हो त्यसलाई छोड्नु, विकासको गतिलाई घटाउनु, कोही कहीँ नजानु-चुपचाप खडा हुनु मृतसरह । हामीले यसलाई तोड्नुपर्छ । तोड्नका लागि कुनै भीडको आवश्यकता पर्दैन । एकएक मानिसले सोच्न सुरु गर्ने हो आ-आफ्नो ठाउँबाट त सयौँ हजारौँ वस्तुहरू आफैँ ढलेर चकनाचुर हुन थाल्दछन् । सोच्ने हो त प्रश्न उब्जन्छ लडाइँ केका लागि ? मन्दिर-मस्जिदको झगडा के असल मानिसहरू बीचमा हुन्छ ? पिताले के भने ? शिक्षक के भनिरहेका छन् ? के प्रोफेसरको पन्ध्र वर्षगाडिको नोट आज पनि समसामयिक छ ? के प्रोफेसरसँग पन्ध्र वर्षे अनुभव छ वा पन्ध्रपटक पुरानै कुराको ? सोच्ने हो त हजारौँ प्रश्नहरू जन्मन्छन् । जब प्रश्नहरू जन्मन्छन् त जबाफको खोजी हुन्छ । जबाफ मिलेन त गलतलाई समाउने कुरा त्याग्नुपर्दछ । जबाफ मिल्यो त थप नयाँ दसवटा प्रश्नहरू मनमस्तिष्कमा जन्मनेछन्, जिज्ञासा प्रज्वलन हुनेछ बूढाहरू पनि जवान हुनेछन्, जवान झन् जवान हुनेछन् । सोच्नु एउटा कठिन प्रक्रिया हो । नसोच्नु धेरै सुविधापूर्ण हुन्छ । कसैले हाम्रो बारेमा सोचिदिने हो भने हामी त्यसलाई स्वीकार गरिदिन्छौँ किनभने हामीलाई त्यो सुविधापूर्ण हुन्छ । हामी अर्काबाट काम लिने बानी परिसकेका छौँ । हजारौँ वर्षगाडि नै धन्न कृष्णले, सुकरातले, प्लेटोले, अरस्तुले सोचिदिए त्यसैलाई हामी काम चलाइरहेका छौँ । कार्ल मार्क्सबाट, अर्ल्बर्ट आइन्स्टाइनबाट, लक्ष्मीप्रसाद देवकोटाबाट काम चलाइरहेका छौँ । उनीहरूकै ग्रन्थहरूमा हाम्रा प्रश्नहरूको उत्तर खोजिरहेका छौँ । उनीहरूबाट नै उधारो चलाइरहेका छौँ । गीता सुन्दा, द्वन्द्वात्मक भौतिकवाद पढ्दा, Theory of Relativity घोक्दा न कृष्ण पैदा हुन्छ न कार्लमार्क्स न अर्ल्बर्ट आइन्स्टाइन नै । कृष्णको भाँती त्यति नै तीव्रताले सोच्नसक्ने मानिस नै कृष्णजस्तै चेतनाको, आत्माको उपलब्ध हुन्छ । त्यस्तै कार्लमार्क्स, त्यस्तै अर्ल्बर्ट आइन्स्टाइन आदि । बुढेसकालमा अर्ल्बर्ट आइन्स्टाइनले भनेका छन् 'संसारमा भएका बुद्धिमत्तापूर्ण कार्यहरू सिर्जनशीलता तथा कल्पनाशक्तिको विकासबाट मात्र सम्भव भएका छन् ।' वास्तवमा भन्ने हो भने हामीसँग के छ जुन अर्कालाई दिन सकौँ ? जब कि हामीले रोटी माग्न परिरहेको छ । यस प्रश्नमा थोरै सोच्ने हो, खोज्ने हो भने सायद एउटा धारा फुट्न सक्छ । घरमा, विद्यालयमा हाम्रा बच्चाहरूलाई दिने, विद्यार्थीहरूलाई दिने, युवाहरूलाई दिने धेरै कुराहरूले हाम्रा रित्ता हातहरू भरिनसक्छन् । हामीले कमसे कम नयाँ बच्चाहरू, नयाँ पिढी, नयाँ युवक/युवतीहरू, विद्यार्थीहरूलाई भन्न सक्नुपर्छ कि सोच्न सुरु गर । तिमीहरूले आफ्नो पिताको कुरा मान्नुभन्दा अगाडि सोच । गुरुको कुरा मान्नुभन्दा अगाडि सोच । ठीक लागे मान ठीक नलागे नमान । ठीक नलागे लड, तर नमान । यस अर्थमा कि उनीहरूको लुप्त प्रतिभामा धार लगाउन, निखार ल्याउन सहयोग पुगोस्, किताबबाट नभएर आफ्नो जीवनबाट मनमस्तिष्कमा प्रश्नहरू उब्जिन सहयोग पुगोस्, उत्तरहरू खोज्नमा सहयोग पुगोस्, होस प्रखर हुनमा सहयोग पुगोस् । फ्रान्सको सोरवान विश्व-विद्यालयको सबैभन्दा ठूलो भवनअगाडि एक समयमा विद्यार्थीहरूले एउटा तख्ता झुन्ड्याइदिएका थिए । तख्ता हटाउने धेरै प्रयास भयो तर विद्यार्थीहरूले हटाउन दिएनन् । तख्ता सानो थियो तर अद्भुत थियो । तख्तामा लेखिएको थियो 'Professor You Are Old !' विद्यार्थीहरूको भनाइ थियो यसलाई प्रत्येक प्रोफेसरले पढेर निस्कनुपर्नेछ, कृपया तपाईँहरूले हामीलाई बूढो बनाउने कोसिस नगर्नुहोस्, आफ्नो बुढेसकाल हामीमाथि नलाद्नुहोस्, आफ्नो मनमस्तिष्कमा युवापन ल्याउनुहोस् र हाम्रो प्राकृत स्वभावलाई, प्राकृत विकासलाई सहायता दिने प्राकृत उपायबाट किसानको जस्तो आदत लिएर फल्न र फुल्न सहयोग पुर्याउनुहोस् । त्यो देखेर नयाँ पिँढीहरूले सिक्नेछन् । तीन सय वर्षगाडि Galileo ले भनेका छन्- "YOU CANNOT TEACH A MAN ANYTHING; YOU CAN ONLY HELP HIM TO FIND IT WITHIN HIMSELF." -बेलबारी-३, मोरङ
|