|
"पुराना
वाम नेताको एक दिन"
(मेरो
विश्वविद्यालयजीवनको एउटा मिल्ने साथीले आफ्ना पितालाई "पुराना वाम
नेता" भन्थ्यो र हाम्रा
अगाडि उनको राजनीतिक जीवनको बारेमा जोक गर्थ्यो । एकपटक त्यो साथीको
घरमा
वास
बसेको थिएँ,
कुनै नेपाली नयाँ वर्षको दिन । उसको
पितासँग
त भेट र कुराकानी भइ
नै हाल्यो,
भोलिपल्ट बिहान
वर्मा
थर गरेका अर्का "पुराना वाम नेता" पनि आए त्यहाँ । त्यसपछि,
पाँच-सातजनाको
दल चलाएर अथवा निस्कृय
बसेका यस्ता वाम नेताहरूको
बारेमा एउटा यो छोटो (ब्यङ्ग?)
निबन्ध बन्यो,
अलिअलि यथार्थ र अलिअलि कल्पना मिसिएर। केही
वर्षपहिले लेखेकाले कुनैकुनै प्रसङ्गहरू
पुराना पनि हुन सक्छन्। )
'पुराना
वाम नेता'
बिहान साढे आठ बजे उठ्छन् र चुरोट
च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिक्रियावादीहरूलाई
बगाएर (फ्लस
गरेर) आउँछन्,
दाँत मल्छन्,
मुख धुन्छन् र अचानक चाल पाउँछन्
धङ्धङी
छ र टाउको दुखिरहेछ ।
बगैँचाको
कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखबारहरू
पढ्छन्।
सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्,
केही
नपाएर रिसाएजस्ता
देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरू
हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना
वाम नेता'
श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको
छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो,
बल्ल पत्रिकाले लेख्यो,
फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालोनीलो
हुन्छन्
'पुराना
वाम नेता',
आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने
जस्ता" (उहाँले नै आविष्कार गर्नुभएको विशेषण) पत्रकारले भुत्लासमान
पनि नगनेको देखेर ।
पुराना
वाम नेता पत्रिकाहरू
एकातिर हुर्र्याउँछन्
र एकछिन त्यत्तिकै टोलाउँछन्।
'श्रीमती
पुराना वाम नेता'
मन्दिरबाट आइपुग्छिन्,
श्रीमानलाई टीका
लगाइदिन्छिन्,
टाउकोमा फूल राखिदिन्छिन्।
एघारबजे
'पुराना
वाम नेता'
"भुजा"
ज्यूनार गर्छन्;
कान्छाले किनेर ल्याएको,
बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भुजा।
उनी अघाउँछन्,
डकार्छन्,
चुठ्छन्
र सुत्न जान्छन्।
'श्रीमती
पुराना वाम नेता'
उनको पुरासँग
खान थाल्छिन्।
सुत्नै
आँटेका थिए
'पुराना
वाम नेता',
फोन आउँछ
एकजना साथीको। उनकी कान्छी छोरी माग्दै छ साथीले आफ्नो भान्जाका
लागि। "छोरी नआई
के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरू-----।"
आदि अन्टसन्ट
बोलेर अल्मल्याउँछन्
साथीलाई र फोन राखिदिन्छन्।
जब
कि केही
दिनअघि मात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै सँगै
पढ्ने एउटा नेपाली केटासँग
बिहे गरेँ
र दुवै
जागिर खाँदै छौँ कुनै
विदेशी
कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसँग
बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसँगै
गरिछे,
ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने
उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीका
अगाडि टन्न दाइजो दिएर छोरीहरूको
बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।
कल्चर
सिटमा
पढाए उनले छोरीहरूलाई,
र कान्छो छोरालाई
भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन्
तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ
चलाउँछ
र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्न सक्यो,
दङ्ग
छन् उनी।
नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा
झुन्ड्याएको
सपना देखेपछि आत्तिएर ब्यूँझन्छन्
"पुराना वाम नेता" । जीउ
पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाउँछन्
गीतबिनाको
धून सुसेल्दै र सपना बिर्सन्छन्।
साढे
तीन बज्छ। पेन्ट,
सर्ट,
स्पोर्टस् जुत्ता र कालो चस्माले
सजिएर उनी निस्कन्छन्। घुम्दैघुम्दै नयाँसडक
पुग्छन्,
एक ठाउँमा
पान खान्छन् र
बिस्तारै
रत्नपार्कतिर लाग्छन्
'पुराना
वाम नेता'।
सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता
भेट हुन्छ,
पहिले उनको विरोधी खेमाको,
अहिले उनकै खेमाको (याने
'पुराना'
खेमाको!)
दुईजनाको
गफ
सुरु
हुन्छ,
दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ
इलसम्मको। कहिले चस्मा
मिलाउँदै
र कहिले एक हात पेन्टको
खल्तीमा राखेर,
दाहिने हातको चोर औँलो ठड्याई,
उभिईउभिई
पालैपालो ठूलोठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो
हो,
घोर घमासान वाक्युद्ध
भइरहेछ।
एकछिनपछि
दुवै
थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेस्टुराँ
पुग्छन्।
'पुराना
वाम नेता'
र
'साथी
पुराना वाम नेता'
आजभोलि बियर मात्र पिउँछन्।
बियर र छोइला-सेकुवा आदिका साथ गालीरामायण
सुरु
हुन्छ।
"फलाना,
फलाना,
फलाना
जाँठाहरू
सब दरबारका हुन्!" जब कि दुवैलाई
भित्री मनमा विश्वास
छ,
आउँदो
राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने।
"फलानाले
फलानो किताब चोरेर लेखेको हो,
त्यो
लेख्नै जान्दैन।" जब कि किताब प्रकाशन गर्न त उनीहरूलाई
पनि मन छ
(लेख्न
सकेको भए
पो!)
यसै
गरी रातको एघार बज्छ,
'पुराना
वाम नेता'को
छोरो आइपुग्छ गाडी लिएर।
'साथी
पुराना वाम नेता'लाई
डिल्लीबजार छोडेर गाडी टङ्गालतिर
लाग्छ।
घर
पुगेर सुत्दा
'पुराना
वाम नेता'को
मन खुसीले
फुलिरहेको
हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र
छोराछोरीलाई मान्छे बनाइएछ;
जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण,
विद्यार्थी जीवनको जोस
र आकाङ्क्षा
आदि पनि उनको दिमागमा अस्पष्ट
रूपले
आउन थाल्छन्। तर त्यतिखेरसम्म
'पुराना
वाम नेता'
निदाइसक्छन्।
**********************************************************************
वसन्तकुमार गौतम
चुबु विश्वविद्यालय, खासुगाई, जापान
e-mail: basantakg@ieee.org
|