Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

साहित्यिक फ्यान

--विवश पोखरेल

'नमस्कार !' एउटा साहित्यिक समारोहमा एउटी सुन्दर कन्याले अभिवादन टक्र्याएपछि कविजी अन्योलिए। एकपटक उनका आँखाले कन्याको सुन्दरतालाई नियालिरह्यो। 'यी कन्या को हुन् ?' उनलाई ठम्याउन हम्मेहम्मे पर्यो।

'अनि यहाँलाई त चिन्न सकिएन नि !' निकैबेरको सोचपछि पनि कविजीले कन्यालाई ठम्याउन नसकेपछि कौतूहलवश प्रश्न राखे।

'म उर्वशी।' कन्याले बैँसालु हाउभाउमा आफ्नो केशको केही त्यान्द्रो एउटा औँलाले बटार्दै अनुहार अगाडि ल्याइन् र मुसुक्क हाँसिन्।

'उर्वशी !' नामसँगै गम्भीर भए कवि। उनलाई लाग्यो, कतै स्वर्गकै अप्सरा त झरेकी होइनन् यस धर्तीमा। कन्याको रूप र लावण्यले सौन्दर्यप्रेमी कविजी एकोहोरिए। उनले लाटाले पापा हेरेझैँ हेरिरहे कन्यालाई। 'को उर्वशी ?' उनको तन्तुले अझै काम गरेन।

'हजुरले चिनिसिन्न, म हजुरकी फ्यान हुँ।' उनले आफूलाई अझ स्पष्ट गरिन्।

'फ्यान।' बल्ल बुझे कविजीले। एक त भावुक व्यक्ति, त्यसमा पनि एउटी सुन्दर कन्या फ्यान भएर उनको अगाडि उभिएकी छिन्। प्रसन्न मुद्रामा अधबैँसे कविजीले ब्ल्याक एन्ड ह्वाइट जुल्फी लर्काए। वास्तवमा अचेल फ्यानहरूको सङ्ख्या बढ्दो छ। नेताहरूका फ्यान, कलाकारका फ्यान, साहित्यकारका फ्यान, सुन्दरीका फ्यान .....आदि इत्यादि।

'फ्यान पनि  किसिमकिसिमका हुन्छन्, मैयाँ कुन फ्यान ? कस्तो फ्यान ?' रसिक कविजीले रसिक प्रश्न राखे।

'म हजुरको लेखनको फ्यान....सुन्दर विचार र शैलीको फ्यान। मलाई साहित्य असाध्य मन पर्छ। म साहित्यको असल पाठक यहाँका रचना भेटेसम्म पढ्छु।' कविजीको प्रशंसाको पुल बाँधेर मुसुक्क हाँसिन् सुन्दरी।

'अनि नानीले मेरो कुनकुन कृति पढ्नुभएको छ त ?' कन्याको प्रशंसाले गजक्क परे कविजी। उनले सुरु गरे साहित्यिक अन्वेषण।

'मैले हजुरको सबै कृति पढेकी छु, हालै प्रकाशित नयाँ कृतिबाहेक। पटटट.....कविजीका सबै कृतिहरूका नाम फलाकिन् मैयाँले, कविजी छक्क परे। जुन कृतिमध्ये केहीको नाम त स्वयम्ले पनि बिर्सिसकेका छन्।

'अहिलेको नयाँ कृतिचाहिँ किन नपढ्नुभएको नि !' फेरि प्रश्न तेर्स्याए कविजीले।

'उपलब्ध हुन नसकेर, धेरै ठाउँमा खोजेँ तर भेटिनँ।' सुन्दरीले दुखेसो पोखिन्।

'मलाई फोन गरेको भए भइहाल्थ्यो नि !' कविजी अझ सरल भए।

'फोन......। फ्यान कन्या डराइन्। एकदुईजना साहित्यकारले यसैगरी फोन नम्बर दिएका थिए.....फोन गर्दा कविपत्नीसँग लामो इन्टरभ्यु नै दिनुपर्ने..... भिसा नै लिन गएजस्तो। तपाईँ को, किन चाहियो कविजी, फ्यान कस्तो फ्यान, घुम्ने कि नघुम्ने, आदि इत्यादि। त्यसैले सरी ! म कसैलाई फोन गर्दिनँ।' लामो जिब्रो काढिन् मैयाँले।

'वास्तवमा यी मैयाँले घरमा त फोन गरिनन् ?' फोनप्रसङ्गले झसङ्ग भए कविजी, पत्नीव्रता कविजीले आफ्नी हात्तीछाप पत्नी सम्झिए र हत्त न पत्त भ्वाङ टाले......'होइन होइन मेरो घरमा यस्तो हुँदैन।'

'हजुरकोमा त्यस्तो हुँदैन तर अन्यत्र त्यस्तो भएको छ।' थुमथुम्याइन् कन्याले र पुनः प्रसङ्ग फेरिन्- 'अनि, हामीले हजुरको नयाँ कृति पढ्न नपाउनु ?'

'किन नपाउनु, दिइहाल्छु नि।' पुरुष फ्यानले आफ्नो कृति पढ्न नपाएको गुनासो सयपल्ट गर्दा पनि एउटा पुस्तक नछिराउने कविजीले मैयाँको पहिलो आग्रहमा नै झोला खोतले र लेखे मोतीदाना अक्षरमा 'उर्वशी मैयाँलाई सप्रेम' र अन्तमा ठोके बाहुली निसाना आफ्नो नयाँ कृतिमा।

'थ्याङ्क्यु !' प्रफुल्ल भइन् मैयाँ र सन्तुष्ट भए कवि। जे होस् साहित्यमा लागेर अरू केही नपाइए पनि कमसे कम फ्यानहरू त पाइँदा रहेछन्। यति सुन्दर र सुकोमल कन्या आफ्नो फ्यान हुनु गौरवकै कुरा हो, कविजीलाई लाग्यो। त्यसपछि निरन्तर चल्यो कविजीको फ्यानसँग सान्निध्य, कविता सुनाउने-सुन्ने। भेटघाट गर्ने। कविजीका अन्य फ्यानहरूभन्दा अग्रसूचीमा परिन् उर्वशी मैयाँ।

यसपल्ट भने निकै दिन भएको थियो, कविजीकी आफ्नी फ्यान उर्वशी मैयाँसँग भेट नभएको। कविजी पत्रिका हेर्दै बरन्डामा बसेर घाम तापिरहेका थिए। कविपत्नी नाङ्लामा दाल केलाउँदै थिइन्। कविजीको चारपाँचवर्षे नाति केटो भुइँमा बसेर हजुरआमाले बजारबाट ल्याएको पापा खाँदै थियो। एक्कासि कविपत्नी मुसुक्क हाँसिन्। नहेरौँ भन्दाभन्दै पनि कविजीको दृष्टि आफ्नी अर्धाङ्गिनीमाथि पर्यो। 'के भो, किन हाँसेकी ?' कुनै प्रसङ्गबिना नै पत्नी हाँसेकीमा कविजी छक्क परे।

'नाति केटाको हातमा हेरिस्योस् न।' कविपत्नी अझ जोडले हाँसिन्। कविजीलाई लाग्यो फुच्चेले केही रमाइलो गर्यो होला। उनले आफ्नो दृष्टि नातिनजिक फ्याँके, कविजीले अझ बुझेनन् नाति केटाले के गर्यो। 'होइन फुच्चेले के गर्यो ?' उनले फेरि सोधे।

'हेरिस्योस् साहित्यको बिजोक।' कविपत्नीले नाति केटाले खाँदै गरेको पापा राखेको कागज कविजीसमीप राखिन्। 'उर्वशी मैयाँलाई सप्रेम.......' कविजीले पढे आफ्नो मोतीदाना अक्षर.....अनि आफ्नो हस्ताक्षर। जसमाथि राखेर नाति केटो पापा खाइरहेको थियो। 'म हजुरकी फ्यान हुँ नि !' कविजीले झल्झली सम्झे रङबिरङ्गी आफ्ना फ्यानका अनुहार। उर्वशी मैयाँको अनुहार। साँच्चै नै फ्यान पनि किसिम-किसिमका हुँदा रहेछन्। सिलिङ फ्यान, टेबुल फ्यान, ह्यान्ड फ्यान, घुम्ने फ्यान, नघुम्ने फ्यान। उर्वशी मैयाँ आफ्नो कुन फ्यान हुन्, कविजीले ठम्याउन सकेनन्। उनका आँखामा आफ्नी फ्यानलाई समर्पित आफ्नै हस्ताक्षरयुक्त बेवारिस पातो नाचिरह्यो। 'के गर्छेस्, यस्तै हो, जान्नेलाई हिमालचुली, नजान्नेलाई कुखुराको सुली' स्वास्नीको व्यङ्ग्यमिश्रित हाँसोसँगै हाँसो मिलाएर हाँस्नसिवाय कविजीसँग अर्को विकल्प रहेन।