|
|
|
|
शिक्षा --विष्णुकुमार भट्टराई
शिक्षा जीवनज्योति शाश्वत नयाँ हृत्तन्त्रिको हो ध्वनि। पूर्वाचार्य र शास्त्र सम्मति बुझी भर्ने मिठो रागिनी ।। शिक्षा स्रोत समस्त सभ्य युगको आकार रच्ने कला। आद्योपान्त अनन्त ज्ञान गुणमा आबद्ध यो शृङ्खला।।
शिक्षामा न त वाद तन्त्र झगडा हार्ने र जित्नेबीच। क्वै आफ्नो र पराई छैन न कतै भूगोल खण्डीकृत।। शिक्षा ज्योति स्वयम् प्रकाशित छ यो गन्तव्य पैल्याउन। आफैँमा युगबोध सञ्चित गरी अध्यात्म ब्यूँझाउन।।
शिक्षामा छ सुरम्य सृष्टि रचना तत्त्वादि संयोजना। खोल्दै लान्छ रहस्य गूढ यसले शास्त्रादिका भेदमा।। शिक्षा मूल र फूलझैँ नखशिखापर्यन्त एकाम्य छ। भै बाह्याबरुमा विभक्त दुनियाँ आफैँ छ खण्डीकृत ।।
शिक्षा गौरव देशको र जनताको श्वास-प्रश्वास हो। आत्माका अनुभूयमान क्षणको आदर्श उद्गार हो।। शिक्षा वाद-विवादको किचडमा हालेर मैल्याउँदा। आफ्नै शान र मान इज्जत धराशायी हुने हुन् कि वा ?
शनिश्चरे 9 झापा।
|