|
|
|
|
लघुकथा विक्षिप्त दर्शन दिलीप आचार्य उनको भनाइअनुसार उनी कार्यगत भ्रमणको सिलसिलामा नेपाल आएकी थिइन् । विमानस्थलबाट बाहिरिएपछि तिनले एकजना कलिलो ठिटालाई आफ्नो सामान बोक्न लगाएर आफ्नो गाडीमा राख्न लगाइन् । आफू कार्यमा व्यस्त रहँदा उनले आफ्नो गृहकार्य र सरसफाइका लागि एकजना १३-१४ वर्षकी केटीलाई आफ्नो निवासमा राखिन् । करिब एक महिनाको काठमाडौँ-बसाइको क्रममा तिनले बौद्धमा गएर केटाकेटीले बुनेका गलैँचा किनिन्, न्युरोडमा बसेर स्कुल जाने उमेरको केटालाई आफ्नो जुत्ता पालिस गर्न लगाइन् । कुनै दिन केटाकेटीलाई आफ्नो भारी बोक्न लगाइन् त कुनै दिन सडकछेउमा मकै पोलेर बेच्ने बालिकासँग मकै किनेर खाइन् । काठमाडौँपछि उनी नेपालका अन्य सहरहरूमा घुम्न गइन् । पोखरामा तिनी १३-१४ बर्से केटोले चलाएको डुङ्गाबाट फेवातालमा घुमिन्, जनकपुरमा बालपन नै नगएको फुच्चेले चलाएको रिक्साबाट सफर गरिन् । कतै खातेहरूलाई पैसा बाँडेर हिँडिन्, कतै गिट्टी कुट्ने बच्चाहरूसँग फोटो खिचेर रमिन् । यसरी आफ्नो कार्यगत भ्रमण सकेर उनी स्वदेश फर्किन् । उनी स्वदेश फर्केको केही समयपछि बजारमा यौटा नयाँ किताब आयो र त्यसपछि मात्रै उनको कार्यको बारेमा सबैलाई थाहा भयो उनले सो किताब नेपालमा भएको बालश्रमको बारेमा लेखेकी थिइन र बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन नहुने बारे सो किताबमा गहकिलो तर्क दिएकी थिइन् । काठमाडौँ।
|