Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

उसको शान्तियात्रा

--नरहरि शर्मा

2059 साल माग फागुन महिनाको पहिलो हप्ता, मोरङ जिल्लाको एउटा गाउँ रमाइलोमा नातेदारकहाँ विवाह र व्रतबन्धको संयुक्त कार्यक्रमको निम्ता भएकाले श्रीमतीसहित त्यहाँ सम्मिलित हुन प्रस्थान गरेका हामी साढे नौ बजे नै बिर्तामोड पुगेका थियौँ। त्यहाँबाट अर्को बस चढेर कानेपोखरीमा उत्रेर राजमार्ग छोडी दक्षिणतर्फ लाग्‍नु थियो। क्यामेरामा रिल थिएन, त्यसैले राजमार्गको दक्षिणपट्टिको पेट्रोल पम्पमा श्रीमतीलाई छोडेर उत्तरपट्टि हिकोला स्टुडियोमा रिल किन्न गएँ। सडकमा चहलपहल कमै थियो। तुरुन्तै रिल ब्याट्री किनेर म फर्किएँ। हिकोलाको त्यो पसलबाट पेट्रोल पम्पबाहिर बेन्चमा बसेकी मेरी श्रीमतीलाई म प्रस्टै देख्तथेँ। सडक पार गर्न लाग्दा मैले पूर्व-पश्चिम परपरसम्म आँखा लगाएँ। पश्चिमपट्टि भद्रपुर शनिश्चरे जाने बाटो चौबाटो भन्दा पर मैले एउटी निर्वाङ्ग नाङ्गी महिलालाई पूर्वतर्फ आउँदै गरेको देखेँ। धर्मशास्त्रका वचन  त उसलाई देख्ने बित्तिकै बिर्सिएँ र मेरो कुतूहल बढ्यो। पर बसेर मेरो बाटो हेरिरहेकी आफ्नी धर्मपत्नीसित मनमनै लजाउँदै, डराउँदै त्यस नाङ्गी युवतीलाई मैले हेरेँ।

हो, त्यो युवती थिई, मांसल देह तर मोटी होइन। कुमकुमसम्म पुग्ने कालो घुँगुरिएको बाक्लो केशराशि, पुष्ट नितम्ब र जङ्घाहरू, उच्च स्तनहरू, कम्मर केही सानो, सुडौल पाखुराहरू, भुमरी परेझैँ नाभि, बाक्ला काला रौँहरूले ढाकिएको गुप्ताङ्ग। उसमा स्त्रीहरूमा हुने सुलभ लज्जाको कुनै अंश थिएन। हात हल्लाएर, उच्च छाती अझ उच्च पारेर ऊ सैनिकको चालमा हिँडिरहेकी थिई। पछाडि हेर्ने त के कुरा, आफ्नो दायाँबायाँको पनि केही वास्ता नराखी अगाडि बढिरहेकी थिई ऊ। उसका नजिकै अगाडिपट्टिबाट बाटो काटेर म राजमार्गदक्षिणतिर गएँ।

कुरा यति नै हो। त्यो दिन त्यो दृश्य अरूले पनि निश्चित नै देखे तर कत्तिले सम्झेका होलान् कत्तिले बिर्से। त्यो गतिछाडा केटीलाई सम्झिराख्न पनि भएन नि ! तर मैले त्यतिमात्र भनेर पचाउन सकिनँ। बिर्तामोडको व्यस्त बजारको बीचबाट, दिनको झलमल्ल उज्यालोमा उसलाई नाङ्गै हिँडाउने रहस्य के होला ? यी कुराहरू मैले धेरै पटक सोचेँ र सम्भावित कारणहरू कहिले एक्लै खोजेँ र कहिले आफ्नै श्रीमतीसित लागेर खोजेँ, उनले पनि त्यस महिलालाई देखेकी हुनाले।

प्राकृतिक रूपले यौनाङ्गहरूमा स्पष्टता नहुनेहरूलाई भारतका ठूला शहरहरूमा अर्धनग्न हिँडेको देख्न सकिन्छ। उनीहरूले त यिनै विकृत अङ्गका कारण माग्ने पेसा लिएका हुन्छन् तर नेपालमा यस्तो देखिएको छैन र त्यो युवतीमा मगन्तेको कुनै लक्षण देखिएको थिएन। उसका अङ्गहरूमा अस्पष्टता केही थिएन, ऊ पूर्णरूपले युवती थिई, एउटी पूर्ण आइमाई।

के त आफ्नो मण्डलीमा भएको कुनै सर्त पूरा गरेर बाजी जित्न ऊ सडकमा नाङ्गै निस्किएकी थिई त ? तर तुलनात्मक रूपमा केही बढी ढिठ्याइँ गर्ने भनिएका युवकहरूमा पनि यस्तो सर्त वा बाजी भएको सुनिएको थिएन। स्वभावैले लजालु भनिएका युवतीहरूमा यो सम्भावना मेरा सूचीमा पर्न सकेन। घरझगडा वा श्रीमान्को अत्याचारका कारणले ऊ सडकमा निस्किएकी पनि अवश्य होइन। किनभने लोग्नेका रिसले महिला न त यसरी नाङ्गै हिँड्छे न त लोग्नेले नै यस्तो हुन दिन्छ। ऊ त समस्त शारीरिक, मानसिक र आर्थिक शक्ति खर्च गरेर श्रीमतीको लाजको रक्षा गर्न कटिबद्ध रहन्छ।

कसैबाट हातपात भएको, सामूहिक वा एक्लै बलात्कार वा त्यसको प्रयास भएको वा कुनै दुशासनबाट उसको वस्त्रहरण भएको भए ऊ लुब्ध हुने थिई, लज्जित हुने थिई वा गुहारका निम्ति कराउने थिई तर त्यसरी साहसी भएर सडकमा हिँड्न सक्ने थिइन।

मगज बिग्रेकी युवती त्यो पक्कै थिइन। किनभने मगज बिग्रेकाहरू त्यसरी सैनिक चालमा हिँड्न सक्तैनन्। उसको निश्चित गति थियो, उसका पाइलासराइमा कुनै धरमर थिएन र उसको मुखाकृतिमा एउटा ठोस निर्णय झल्किन्थ्यो र लाग्दथ्यो उसको निश्चित लक्ष्य पनि थियो।

के त बस वा मेलाको भीडभाडमा युवती शरीरको निकटता पाउन हत्ते गर्ने, लुकीलुकी नग्न नारीदेहको बनावट चियाउने रसिकवर्गलाई खुला चुनौती थियो त ? सिनेमाको पर्दामा युवतीको नग्नता हेरेर नअघाउने, सुटिङ-स्थलहरूमा कथाको माग भन्दै युवती शरीरलाई बढी उदाङ्गो पार्ने हाँक थियो त त्यो ?

यो मैले संयोग वा कुसंयोगले देखेको दृश्य मेरा निम्ति मर्मलाई छुने बन्यो। कारण खोज्दै जाँदा बहुतै सम्भावित कारण हुनसक्छन् तर उसलाई सडकमा हिँडाउन एकै कारण पर्याप्त हुन्छ र म अलमलिन्छु र बिट मारीदिन्छु- 'यो उसको शान्तियात्रा होला।'