|
|
|
|
लघुकथा
कर्फ्यु लागेको रात -सकु थापा
दिन सुनसान छ, अनि रात पनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरो कराF मात्र सुनिन्छ । मानिसहरूको हर्कत कहीँकतै भेटिँदैन केवल सुरक्षाकर्मीहरूको गाडीको हुइँक्याइको आवाजबाहेक । शून्य-शून्य लाग्छन् सबै कुराहरू । बाहिर जति सुनसान भए पनि त्यसको ठीक विपरीत मेरो कोठा उनको असह्य वेदनापूर्ण चिच्याहटले अशान्त बन्न पुगेको छ । उनको डेलिभरीको समय नजिकिँदै आएको छ । स्वास्थ्यमा आएको गडबढीले उब्जेको पीडा हुनसक्छ यो । एकातर्फ उनी पीडाले छट्पटाइरहेकी छिन् भने म उनको पीडामा आत्तिएको छु । रातको दस बजिसकेको हुन्छ । नजिक फोन सुविधा नहुनु तथा फोन सेवा उपलव्ध गराउने पसलहरू पनि कर्फ्युले गर्दा बन्दै रहनु त्यसमा पनि आधा रात भइसकेको । उनको पीडादायी अवस्थाले आत्तिएको मन केही सोच्नै सकेको हुँदैन । कुनै पनि हालतमा मैले उनलाई अस्पताल पुर्याउनैपर्छ, नत्र भने जे पनि हुनसक्छ । कर्फ्युको अवस्थामा अत्यावश्यक कामले बाहिर निस्कनैपर्ने भएमा नजिकको सुरक्षाकर्मी वा शिविरमा समन्वय गरेर मात्र निस्कनु भन्ने सूचनाले मेरो मानसपटलाई घचघच्यायो । अन्तिम उपाय पनि त्यही थियो मेरो लागि त्यस बेला । उनीलाई पीडामुक्त गर्न जतिसक्दो छिटो अस्पताल पुर्याउनु थियो । एम्बुलेन्स बोलाउन सुरक्षाकर्मीको सहयोगमा मात्र सम्भव हुने देखेर म सुरक्षाशिविरतर्फ पाइला बढाउँछु । रात पूर्णिमाकै थियो, केही परसम्म मानव-आकृतिहरू प्रस्ट देख्न सकिन्थ्यो । मेरो हर्कतलाई सुरक्षाशिविरमा कार्यरत सुरक्षाकर्मीले देखेर होला मलाई "अट् .....! " भन्ने शब्द पुकारेको सुन्छु । एकछिन उभिन्छु, तर पत्नीको पीडादायी छट्पटाहटको अवस्था देखेका नजर र वेदनापूर्ण चिच्याहट सुनेका कान उभिरहनै दिँदैन त्यहाँ, जसरी भए पनि आफ्नो बाधा फुकाउन सुरक्षाशिविरभित्र प्रतिवेदन गर्न पुग्नु नै छ । त्यसैले म नरोकिई अगाडि बढ्छु । ढ्याङको आवाजसँगै म भुइँमा लड्न पुगेर छट्पटाउन थालिसकेँछु । उता मेरी पत्नी पनि छट्पटाइरहेकी थिई होली। -चरखण्डी, भक्तपुर
|