Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल 1

विपुल लुइँटेल

ब्यूँझिएर आधा रातमा करायौ कि कसो ?

एक्लो रातको शून्यतामा डरायौ कि कसो ?

 

अल्मलिँदा चारैतिर बाटो नपाएर

मानिसको भीडभित्रै हरायौ कि कसो ?

 

हात समाई सँगै हिँड्ने साथी नरोजेर

एक्लै हिँड्दा बाटो कतै बिरायौ कि कसो ?

 

घोडा चढाई बादलपारि जून छुन लाने

सपनाको राजकुमार ठहर्‍यायौ कि कसो ?

 

सयजोडी तिमीलाई हेर्ने नयनहरूबाट

एक जोडी मेरै पो मनपरायौ कि कसो ?

 

 

गजल 2

 

भित्री मन यो वैलेको छ गुलाफ यहाँ फुलेर के ?

मनको बाग छ उजाड-उजाड कोइली यहाँ डुलेर के ?

 

कुहिरो छ मडारिँदो छातीभित्र तुफानमा

झरीपछि बादल फाटी आकाश यहाँ खुलेर के ?

 

रित्याएर नयन सधैँ आगो मनको निभाउँछु

झुटो मुस्कान सधैँभरि ओठमा यहाँ खोलेर के ?

 

बाँधिएन शरीरभित्र टाढा भयो हृदय नै

घाम र पानी इन्द्रेणीको रङमा यहाँ घुलेर के

 

दर्द बोकी यादहरू झुल्किरहन्छन् स्मृतिमा

मदिराको प्यालाभरि एकपल यहाँ भुलेर के ?