Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


भिडन्त

      --नयनराज पाण्डे

    

      प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि केही ढुक्क भयो आश्वस्त भयो अब बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा

 

      जुम्ली जुम्ला उसको घर तर अब जुम्लामा उसको घर छैन अवशेष मात्र घरको अहँ, घरको केही पनि स्याहार्न पाएन उसले एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके त्यसपछि ज्यान जोगाएर भाग्नुपर्‍यो उसले जुम्ला छाड्नुपर्‍यो उसले फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले

**

     जहान उसकी पाँच  वर्षअघि नै  खसेकी दोस्रो बच्चा जन्माउन नसकेर त्यतिबेला जुम्लाको हेल्थपोस्टमा डाक्टर, हेल्थ असिस्टेन्ट हुन बाँकी नेपालको लागि जुम्लामा स्याउबाहेक के ? लाग्छ नेपालको मानचित्रमा भए पनि नेपालदेखि निकै टाढा जुम्ला

 

     त्यसपछि छोरालाई सुरक्षाफौजले घरबाटै बेपत्ता पार्‍यो कति खोज्दा पनि उसको छोरो फेला परेन एकमात्र सन्तान पनि खोसिएपछि दिक्दार भयो निकैपछि मात्र एउटा पत्रकारले  "तिम्रो छोरो सुरक्षाफौजसँगको भिडन्तमा मारियो" भन्ने खबर ल्यायो त्यसपछि उसले छोराको लासैबिना काजक्रिया गर्‍यो

 

    एक रात उसले छोरोलाई भैँसीले लखेटेको सपना देखेको थियो छोरालाई सपनाको बारेमा भन्दा छोराले हाँसोमा उडाएको थियो "जुम्लामा भक्त सैजुवाललाई लखेट्ने ? त्यो पनि भैँसीले ?" उसले घमण्ड आत्मविश्वाससाथ भनेको थियो   त्यतिबेला छोराबाट दिक्दार भएको थियो बेकारमा छोरालाई पढाएँछु भन्ने सोचेको थियो "आठ कक्षामा फिस तिर्न नसकेको बेलामै रोक्नुपर्ने रैछ बेकारमा एसएलसी पास गराएँ " आज पनि यसमा पछुतो मान्छ

 

    छोरोले एसएलसी पास नगरेको भए त्यति चलाख हुने थिएन जुम्ली हो, मैजस्तो हुन्थ्यो, सोझो, गोज्याङ्ग्रो आफूमाथि अन्याय भएको बुझ्ने पनि थिएन नाहकमा ज्यान गुमाउने थिएन यस्तो सोच्छ उसले, आज पनि

**

     छोरो मारिएपछिका दिन उसका लागि भयानक कष्टकर पीडादायक भए   घरमा एक्लो भयो छरछिमेकीहरू कि शहर भाग्न थाले कि धमाधम जंगल पस्न थाले भने घरमै बस्यो छोरोलाई सम्झँदै उसको आक्रोश, उसको जोश   उसको चेतनालाई सम्झँदै छोरोले राम्रो नराम्रो के गर्‍यो उसले बुझेको छैन तर जेजस्तो भए पनि छोरो नै हो माया लागिहाल्दो रै'छ आज पनि त्यो माया, त्यो मोहबाट कहाँ  उम्कन सकेको ?

 

    भक्तेको काजक्रिया सिद्धिएको केही दिनपछि एक हूल सुरक्षाफौजहरू उसको घरमा आए "भक्तेको बाउ तैँ होस् ?" सोधे उसले "हुँ" भन्यो त्यसपछि फौजले उसलाई पनि मजाले कुटपिट गरे "भक्तेको घर" भन्दै घर जलाइदिए त्यसपछि घरवारविहीन भयो जग्गाजमिन यसै पनि  छँदै थिएन ऊसित

 

    त्यसपछि जुम्लामा के गरी बस्ने - त्यसैले नेपालगन्ज आयो भएको नगद प्लेनको टिकटमै सिद्धियो जीवन गुजाराका लागि उसले आफूसित केही शिलाजित जिम्मु ल्याएको शिलाजित जिम्मु बेचियो भने आठ-दस हजार आउँछ त्यस पैसाले काठमाडौँ गएर उसले गलैँचा बेच्ने काम सुरु गर्ने विचार गरेको उसका केही साथीहरूले पनि काठमाडौँमा त्यही गर्छन् साथीहरूको भनाइअनुसार त्यसको लागि साहुकहाँ केही पैसा जमानी राख्‍नुपर्छ शिलाजित जिम्मु बेचेको पैसाले त्यही गर्नेछ जमानी राख्नेछ

**

    नेपालगन्जको बजारमा आइपुग्यो सबैभन्दा पहिला बागेश्वरी मन्दिरको दर्शन गर्‍यो आशीर्वाद माग्यो मन्दिरकै बाहिर सडकमा शिलाजित जिम्मुको पोको खोलेर बस्यो पसल थाप्यो एकदुईजना ग्राहक आए किने केही पैसा भयो ऊसित जीवनप्रति उत्साह पलायो ऊभित्र आँट पलायो आत्मविश्वास जाग्यो

 

    "साँझसम्म आज यसैगरी बस्छु" उसले निश्चय गर्‍यो उसलाई लाग्यो शिलाजित जिम्मु यसै गरी बिक्री भएमा दुईचार दिनमै काठमाडौँ जान सक्छ बाँकी जिम्मु शिलाजित काठमाडौँतिरै पनि बेच्न सकिन्छ यो उसको अनुमान थियो सुखद अनुमान यो दिन उसको सुखद बित्यो राति बागेश्वरी मन्दिरभित्रको सत्तलमा सुत्यो पुजारीसित अनुनयविनय गरेपछि पुजारीलाई अलिकति शिलाजित दिएपछि उसले त्यहाँ सुत्‍ने अनुमति पायो

 

    राति उसलाई लामखुट्टेले खुबै टोके उसले आपत्ति जनाएन "टोक्, जति टोक्न मन लाग्छ टोक् जति सक्छस् चुस् रगत हामी मुला रगत चुसाउनकै लागि जन्मेका " उसले लामखुट्टेका अगाडि आत्मसमर्पण गर्‍यो निदायो

**

    राति उसले अनौठो सपना देख्यो नराम्रो सपना बागेश्वरी मन्दिरको हातामै एकजना सिपाहीलाई मारेको सपना सपनापछि झल्याँस्स ब्यूँझियो पसिनाले निथ्रुक्क भयो टोपीले जति पसिना पुछ्दा पनि पसिना रोकिएन उसलाई लाग्यो, उसको जीवनमा ठूलै अपसगुन हुनेवाला उसलाई सपनामाथि विश्वास छोरो बेपत्ता हुँदा पनि उसले यसरी नै नराम्रो सपना देखेको थियो दिक्दार भयो सिपाही नै भए पनि आखिर उसले मान्छे पो मार्‍यो ऊजस्तै मान्छे साँच्चिकै मान्छे मारेको जस्तो अपराधबोधले ग्रस्त भयो

**

    बिहानै बागेश्वरीको दर्शन गर्‍यो सपनामा गरेको हत्याको लागि क्षमा माग्यो मनभित्र ग्लानि कम भएको थिएन। तर पनि जीवन चलाउनु नै थियो त्यसैले ग्लानिबाट मुक्त हुने निकै प्रयास गर्‍यो सकेन

 

    अनि झल्याँस्स उसले जुम्लामा वर्षौँअघि आएका एकजना बाबाजीले भनेको सम्झियो खराब सपना ग्रहदशा खराब भएपछि नै देखिन्छ त्यसैले त्यस्तो ग्रहदशा कटाउनुपर्छ

   "कसरी कटाउने बाबाजी ?" उसले हिम्मत गरेर सोधेको थियो

   "यदि तिमीले सपनामा कुनै वस्तु चोरी गरेको देख्यौ भने त्यस्तै वस्तु दान गर्नुपर्छ " बाबाजीले भनेका थिए

 

    तर उसले हत्या गरेको सपना पो देखेको यसमा के दान दिने ? आत्महत्या गर्ने, अहँ, कुरा मिलेन आत्महत्या झन् महापाप हो

**

    अचानक उसको मथिङ्गलमा एउटा उपाय आयो बिजुली चम्केजस्तै अनि आइपुग्यो, वडा प्रहरी कार्यालय त्यतिबेला त्यहाँ एकजना इन्सपेक्टरमात्र थियो त्यो पनि उँघिरहेको अरू पुलिसहरू कता गएका थिए, त्यो उसले बुझ्ने कुरा भएन

    उसले सरासर गएर इन्स्पेक्टरको पाउ समात्यो भन्यो -" हजुर ग्रह कटाइपाम् "

 

     इन्स्पेक्टर झस्कियो जिल्ल पनि पर्‍यो हकार्‍यो जुम्लीलाई तर जुम्लीले आफ्नो हठ त्यागेन भनिरह्यो   ग्रह कटाइपाउने याचना गरिरह्यो

 

    "कसरी कटाउने तेरो ग्रह ?" अन्ततः आजित भएर इन्स्पेक्टरले सोध्यो अनि उसले आफूले सपना देखेको कुरा सविस्तार वर्णन गर्‍यो भन्यो- "हजुर, मलाई एक घण्टालाई भए पनि थुनिदिनुपर्‍यो प्रायश्चित हुन्छ पाप कट्छ।"

 

    इन्स्पेक्टरलाई सुरुमा हाँसो उठेको थियो जीवनमा पहिलोपल्ट उसले यस्तो कुरा सुन्दै छ, कसैले आफैँ आएर आफूलाई थुन्नुपर्‍यो भन्दै छ सुरुमा इन्स्पेक्टरले जुम्लीलाई हकारेर पठाउन खोज्यो तर जुम्लीले ज्यान गए पनि मानेन उसको खुट्टा ढोग्याढोग्यै गर्न थाल्यो

 

    अन्ततः इन्स्पेक्टर राजी भयो उसले आफ्नै प्रहरी कार्यालयको एउटा सानो खोरमा लगेर उसलाई थुनिदियो जुम्ली ढुक्क भयो यसवापत इन्स्पेक्टरले ऊबाट निकै धेरै मात्रामा शिलाजित जिम्मु लियो तैपनि यसमा जुम्लीलाई कुनै चित्तदुखाइ थिएन

 

    इन्स्पेक्टर बाहिर आयो नजिकैको पसलबाट फ्रीमा ताजा दूध मगायो एक मात्रा शिलाजित खायो एकैछिनमा आफूभित्र पुनः जवानी फर्केको अनुभव भयो उसलाई दुईचारजनालाई ढाल्न सक्छु भन्ने आत्मविश्वास जाग्यो उसभित्र

 

    ठीक त्यतिबेलै चौकिल्लानेर बम पड्‌किएको सूचना आएपछि अत्ताल्लियो हतारहतार  आफूपछि पालो पर्ने इन्स्पेक्टरलाई फोन गरेर ड्युटीमा बोलायो आफू फटाफट हिँडिहाल्यो, घटनास्थलतिर यस क्रममा उसले आफूले जुम्लीलाई थुनेको कुरा भन्न भुसुक्क बिर्सियो वा बिर्सेको जेस्तो गर्‍यो

**

    एक घण्टा बित्यो खोरको ढोका खुलेन अनि जुम्ली चिच्यायो- "हजुर, अब ढोका खोलिबक्स्योस् "

 

    उसको चिच्याइ सुनेर अर्को इन्स्पेक्टर आयो खोरमा जुम्लीलाई देखेर जिल्ल पर्‍यो उसलाई खोरमा मान्छे रै'छ भन्ने बल्ल थाहा भयो

   " जुम्ली, तँ किन यहाँ ?"

    अनि जुम्लीले सबै कुरा बेलिबिस्तार लगाउँदै आफू ग्रह कटाउन एक घण्टाको लागि थुनामा बसेको भन्यो

 

    जुम्लीको कुरा सुनेर इन्स्पेक्टर हाँस्यो भन्यो - "साले, मूर्ख हुँ ? तेरो कुरा पत्याउँछु ? पक्कै कुनै गोलमाल गरेको छस् नत्र तँलाई कसैले त्यसै खोरमा राख्छ ?"

 

    जुम्ली छाँगाबाट खसेजस्तो भयो तैपनि हिम्मत हारेन "मैले झूठो बोलेको हैन हजुर नपत्याए अर्को सा'बलाई सोधिबक्स्योस् "

 

    "ठीक आएपछि सोधौँला " इन्स्पेक्टरले जबाफ दियो

 

    जुम्ली खोरभित्रै रह्यो आफूलाई खोरभित्र राखिदिने इन्स्पेक्टरको प्रतीक्षा गर्न थाल्यो

 

    प्रतीक्षाको घडी बढ्दै गयो एक, दुई, तीन, चार, पाँच घण्टा

 

    त्यो इन्स्पेक्टर फर्किएन पछि उसले सुन्यो, त्यो इन्स्पेक्टर मारियो हिँड्दाहिँड्दै मोटरसाइकलमा आएका दुई युवकले उसलाई गोली हानेछन्  बेपत्ता भएछन्

 

    उसको मथिँगलमा भुइँचालो गयो खोरमा बसेर रुन कराउन थाल्यो   मलाई खोरबाट मुक्ति दिनुपर्‍यो भन्न थाल्यो

 

    तर उसको कुरो कसैले सुनेन सबैले शङ्का गरे, यो कुनै ठूलै केसमा समातिएको हुनुपर्छ के थाहा, इन्स्पेक्टरको हत्या यसैका साथीहरूले गरेका पो हुन् कि ! अनि त्यसपछि उसको केरकार सुरु भयो

 

    केरकारपछि पुलिसहरूले थाहा पाए कि यो जुम्लीको छोरो सुरक्षाफौजको कार्बाहीमा मारिएको थियो त्यसपछि शङ्का झन्‌झन् बढ्यो उनीहरूले ठाने, छोराको मृत्युको बदला लिन कुनै ठूलै योजनाको कार्यान्वयनको सिलसिलामा यो नेपालगन्ज आइपुगेको हो।

 

    त्यसपछि जुम्लीसित कडा केरकार सुरु भयो

    - भन्, कस कसलाई मारिस् ?

    - भन्, तेरो कमान्डर को हो ?

    - भन्, कहाँ आक्रमणको तयारी हुँदै छ ?

    - तँसितको हतियार कता ? केके हतियार चलाउन जानेको छस् ?

    - तँ कुन तहको कार्यकर्ता होस् ? आदि-इत्यादि

 

    उसले सबैकुरा इमान्दारीसाथ भन्यो आफ्ना सारा दुखेसो भन्यो तर अहँ, उसको कुरा पत्याइएन अन्ततः उनीहरूले निष्कर्ष निकाले, यो मान्छे  आतङ्कवादी हो, त्यस सङ्गठनको सक्रिय कार्यकर्ता हो प्लाटुन कमान्डर पनि हुनसक्छ सेक्सन कमान्डर पनि हुनसक्छ जे होस्, मिलिसिया अवश्य हो

**

    रुन थाल्यो तर उसको आर्तनाद सुनिएन जुम्लामा जस्तै यहाँ पनि उसको याचना सुनिएन त्यहाँ पनि यसै गरी रोएको थियो यहाँ पनि त्यसैगरी रुँदै छ

**

    रोइरह्यो जुम्ली रोइरह्यो  

    रुँदारुँदै गोली चल्यो ड्याम्म

    जुम्ली एकछिन छट्पटायो अनि मर्‍यो

**

    शिलाजित मृत जुम्लीसितै थियो सबैले बाँडेर लिए

    अनि हतारहतार जुम्लीको मृत्युको खबर पनि बाँडियो

   त्यही बाँडिएकै समाचार छापियो जस्ताको तस्तै हुबहु   भोलिपल्ट सबै दैनिकहरूमा आतङ्ककारीको मृत्यु- भिडन्तमा मृतकको नाम जगतबहादुर सैजुवाल अर्थात् सङ्ग्राम

 

      २०६१ । १० । २० नेपालगन्ज