Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


नयाँ सडकको खोजी

--श्रीधर शर्मा

अनगिन्ती बोझहरूले

किचिँदा-किचिँदा

म सडक

अब थाकिसकेको छु।

 

छाम्छु जताततै दुखेको छ

ओठमा हाँसो त छ, मन रोएको छ

स्वागतको गहिरो मुस्कान छरेर

अब कति लमतन्न सुतिरहूँ

सजिएर रातबिरात !

 

छातीमाथि निरन्तर

घन ठोकिएझैँ

कठोर बुटहरू

कति खेपिरहूँ !

मलाई छोएपछि दिग्भ्रान्त बटुवाहरूले

आफ्‍नो बाटो नियालेका छन्।

 

असङ्ख्य मनहरूले खुसीको तलाउमा

फूलहरू सजाएका छन्।

नशा पिएर उन्मत्त भई मदिरा

ममाथि नै लगातार उफ्रिरहन्छ,

अब म कति सहूँ ?

 

आफू सजिन प्रकृतिसँग सौन्दर्य मागेको थिएँ

रङ्गीचङ्गी फूलहरूसँग सुवास मागेको थिएँ

भत्किएका प्वालहरू कैयौँपटक टाल्न खोजेको थिएँ।

तर,

अनगिन्ती आशाहरू मभित्रै बिलाए,

असीमित सपनाहरू मभित्रै हराए

र कतिका भविष्यलाई स्वयम्

खोसेको छु मैले।

 

वर्षौँदेखि निरन्तर यस्तै भइरहेछ

र म अब थाकिसकेको छु।

मलाई नयाँ परिवेश चाहिएको छ,

नयाँ जिउने ढङ्ग चाहिएको छ,

एउटा बेग्‍लै आकार चाहिएको छ,

म सडक अब थाकिसकेको छु,

मलाई नयाँ सडक चाहिएको छ।

 

--इटहरी।