Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


ठाडो उभेको आकाश

- सुमन पोखरेल

 

धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ,

आँधीमा टेकी हिँड्नु परेको बेला छ,

आगो बर्सिएर अनवरत,

पानी ओढ्नु परेको बेला छ ।

 

अन्धवेगले वहेको वतासमा झुन्डिएर

ज्यान जोगाउनु परेको बेला छ

पलपल मृत्युमा चढेर जीवन खोज्नु परेको बेला छ ।

 

मनहरूबाट कतै उडिभागे कलमहरू,

सङ्गिनहरूको पोखरीमा

औँलो चोपेर लेख्‍नु परेको बेला छ ।

 

ठाडो उभिएको आकाशमा ठोक्किनु छ,

सद्दे आफूलाई

भ्रममा छु कि भनेर

भत्किएर बाटा छेउ उँघिरहेका खण्डहरसँग जँचाईमाग्नुपरेको बेला छ ।

 

आकाश अब त्यो आकाश रहेन,

जुनबेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू,

एकअर्कालाई देखेर रमाउँथे ताराहरू ।

भररात उज्यालो बोकेर

विहानीलाई सुम्पी जान्थ्यो जून

र जीवन जस्तै मिठा रहर लिएर

ओर्लन्थे धर्तीमा किरणहरू ।

 

अहिले त,

ठाडो उभिएको आकाशमा ठोक्किएर

क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भई झरिरहेको बेला छ,

हाँस्दै दौडिएका रहरहरू टुक्री छरिइरहेको बेला छ,

खेल्दै उफि्रएका स-साना नानीहरूका विश्वास च्यातिइरहेको बेला छ,

माथि हिमालदेखि बग्दै आएका नदीहरू टक्क रोकिएको बेला छ ।

घामजूनले कोल्टो परेर हिँड्नु परेको बेला छ ।

 

वास्तवमा,

मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्,

रहरहरू कतै नठोक्किई दौडिउन्जेल नै रहर रहँदा रहेछन्,

धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदो रहेछ,

हावाले हावाझैँ बहे मात्र जीवन जोगाउने रहेछ,

पानी ओढिइएर हैन, पिईएर मात्र जीवनदायी बन्न सक्दो रहेछ ।

 

वास्तवमा,

सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्,

आकाश ठाडो उभिँदा

सम्मानजनक बाँच्न चाहनेहरूलाई साह्रै गाह्रो हुने रहेछ ।